जुम्लाको गुठीचौर गाउँपालिका–५ धितामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा धिता निवासी ५५ वर्षीय झापु धिताललाई घाँस काट्ने क्रममा नजिकैको धिता जंगलमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणबाट धितालको टाउको र ढाडमा चोट लागेको र उनलाई तत्काल उनका छोरा महेश धितालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याएर उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीले जानकारी दिएका छन्।
डिएसपी रेग्मीका अनुसार घाइते धितालको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।
त्यस्तै सोमबार बिहान मात्रै तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीरिखोलामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन्।
सोमबार बिहान १८ वर्षीय दिपेन्द्र न्यौपाने आफ्नो स्याउ फार्ममा भएको बेला भालुको आक्रमणमा परेको वडाअध्यक्ष अमर बहादुर रोकायाले बताए।















