जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीरिखोलामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन्। सोमबार बिहान १८ वर्षीय दिपेन्द्र न्यौपाने आफ्नो स्याउ फार्ममा भएको बेला भालुको आक्रमणमा परेको वडाअध्यक्ष अमर बहादुर रोकायाले बताए।
आक्रमणबाट उनको टाउको, बाँया खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते न्यौपानेलाई तत्कालै उनका दाइ दिनेश न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्याएका थिए। प्रतिष्ठानमा बिहान ११:४५ बजे भर्ना गरिएका न्यौपाने बोल्न सक्ने अवस्थामा रहेका छन्।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविनबाबु रेग्मीले स्थानीयलाई जंगली जनावरबाट सतर्क रहन आग्रह गरेका छन्। जुम्ला क्षेत्रमा पछिल्लो समय जंगली जनावरको सक्रियता बढ्दै गएको स्थानीयको भनाइ छ।















