नेपाल डेन्टल एसोसिएसनले सोमबार जेनजी युवाद्वारा आयोजित विरोध प्रदर्शनमा राज्यले गरेको निर्मम दमन र हिंसाको घोर भर्त्सना गरेको छ।
एसोसिएसनले शान्तिपूर्ण आन्दोलन नागरिकको आधारभूत अधिकार भए पनि अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दै सडकमा उत्रिएका युवामाथि अन्धाधुन्ध प्रहार गर्नु विधिको शासनको उपहास भएको जनाएको छ।
एसोसिएसनका महासचिव डा. प्रदिप भन्डारीद्वारा जारी विज्ञप्तिमा हिजोको घटना पूर्ण रूपमा राज्य संरक्षित गैर न्यायिक हत्या भएको उल्लेख गर्दै, “संरक्षक नै भक्षक बनेको यो परिवेशमा वर्तमान सरकारको औचित्य समाप्त भइसकेको छ” भनिएको छ।
साथै गठबन्धन सरकारमा रहेका सम्पूर्ण राजनीतिक दलले यसको जिम्मेवारी लिनुपर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ।
युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका मागलाई सम्पूर्ण नेपाली जनताको साझा माग बताउँदै एसोसिएसनले यसलाई उचित संयन्त्रमार्फत सम्बोधन गर्न राजनीतिक दल, नागरिक समाज तथा सुरक्षा निकायलाई आग्रह गरेको छ।
विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको जीवन रक्षा तथा गुणस्तरीय स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी तत्काल सरकारले लिनुपर्ने स्पष्ट माग गरिएको छ।
















