राकमस्थित आधारभुत अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ। अस्पतालका प्रमुख किरण सावद माझीका अनुसार पछिल्ला पाँच–सात दिनयता दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये करिब ६०–७० प्रतिशत बिरामीलाई भाइरल ज्वरो भएको छ।
मौसम परिवर्तनसँगै अत्यधिक गर्मी र वर्षा सुरु भएपछि मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन्। विशाल क्लिनिक खिड्किज्युलाका अहेब पौजबहादुर शाहीले शरीर तातो रहेको बेला पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो फैलिएको बताए।
सार्वजनिक सरसफाइमा देखिएको लापरबाहीले रोग अझै फैलिन सक्ने चिन्ता बढेको छ। खिड्किज्युला बजारमा फोहोर व्यवस्थापन अभाव, मापदण्ड विपरीत खोर सञ्चालन, बालबालिका खोलामा नुहाउने प्रचलन र खच्चड बजारै राख्ने जस्ता कारणले रोगको जोखिम उच्च रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
‘आठबीस नगरपालिकाले प्रत्येक वर्ष सूचना जारी गरे पनि खोर व्यवस्थापन नहुँदा समस्या झन् बढिरहेको छ,’ प्रमुख माझीले भने। उद्योग वाणिज्य संघले केही दिनअघि घरदैलो अभियानमार्फत अवैध व्यवसाय हटाउन आग्रह गरे पनि व्यवसायीहरुले बेवास्ता गरेको स्थानीय सामाजिक अभियन्ता भरत साउदले बताएका छन्।
स्वास्थ्यकर्मीहरुले भाइरल ज्वरो प्रायः ५–७ दिनमै निको हुने भएकाले आत्तिनु नपर्ने बताएका छन्। तर, बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी पिउन, खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।















