कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि, वनजंगलमा फैलिएको आगो निभाउने उपाय, खाना पकाउने ग्याँस लिक हुँदा सम्भावित दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने ज्ञान प्रदान गरिएको थियोे।
जुम्लामा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ। सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठूलो जनधनको क्षति हुने जोखिमलाई ध्यानमा राखी यस्तो अभ्यास गरिएको हो।
कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि, वनजंगलमा फैलिएको आगो निभाउने उपाय, खाना पकाउने ग्याँस लिक हुँदा सम्भावित दुर्घटनाबाट कसरी बच्न सकिन्छ भन्ने ज्ञान प्रदान गरिएको थियोे। त्यस्तै कुनै व्यक्तिको शरीरमा आगो सल्किएमा तत्काल अपनाउनुपर्ने उपायका साथै अग्नि नियन्त्रण उपकरणहरूको सही प्रयोगसम्बन्धी जानकारीसमेत दिइएको डिएसपी छेदीलाल कामतीले बताए।
कार्यक्रम चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न भएको थियो। जसमा नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, र विपद् व्यवस्थापन गुल्मका टोलीले सहभागिता जनाए। यो अभ्यासमार्फत विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा आवश्यक चेतना फैलाउने प्रयास गरिएको हो।
समिक्षा कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सीडीओ राम बहादुर शाहीले यस्ता अभ्यासले स्थानीय जनतामा विपद्बारे सचेतना र तयारीको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने बताए। उनका अनुसार, आगलागीका घटनाहरूको उच्च जोखिम रहेको जुम्लामा यस्ता अभ्यासले दीर्घकालीन प्रभाव पार्नेछ।
गत आर्थिक वर्षमा जुम्लामा १६ वटा र चालू आर्थिक वर्षमा हालसम्म १२ वटा आगलागीका घटना दर्ता भएका छन्। यस्तो अवस्थामा कृतिम अभ्यासले विपद् व्यवस्थापनका लागि स्थानीय तह र समुदायलाई सक्रिय बनाउने विश्वास गरिएको छ।
चन्दननाथ नगरपालिकाका कार्यबाहक मेयर नवराज देवकोटाले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त स्रोत र बजेट छुट्याएको जानकारी दिए। विपद् जोखिम न्यूनीकरणका लागि सामुदायिक तहबाटै प्रयास गर्नुको महत्त्व र यसको दीर्घकालीन प्रभावलाई यो अभ्यासले थप स्पष्ट बनाएको छ।
















