बुधबार, २८ आश्विन, २०८३

सर्वाेदय नेपाल, जुम्ला : समाज परिवर्तनका २० वर्ष

संस्थाका कार्यकारी निर्देशक कमलराज खत्रीका अनुसार सुरुआती चरणमा सन् २००६ देखि २०११ सम्म शान्ति, मानवअधिकार, लोकतन्त्र, दण्डहीनताको अन्त्य तथा द्वन्द्व प्रभावित समुदायको सामाजिक–आर्थिक सशक्तीकरणमा काम गरिएको थियो।

केही वर्षअघिसम्म महिनावारी सुरु हुनु जुम्लाका धेरै किशोरीका लागि डर र असुरक्षाको समय थियो। महिनावारी हुँदा घरभन्दा बाहिर बनाइएको छुईगोठमा बस्नुपर्ने, दूध–दहीजस्ता पोषिला खानेकुरा खान नहुने र घरभित्र बसे देवता रिसाउनेजस्ता मान्यता समाजमा गहिरो रूपमा जरा गाडेका थिए। अहिले तीमध्ये धेरै अभ्यास क्रमशः घट्दै छन्। किशोरीहरू महिनावारीलाई प्राकृतिक प्रक्रिया भनेर बुझ्न थालेका छन् र विभेदविरुद्ध आफैं आवाज उठाउन थालेका छन्।

यस परिवर्तनको यात्रामा सामाजिक संस्थाहरूको भूमिका पनि जोडिएको छ। जुम्लामा दुई दशकदेखि सामाजिक अभियान सञ्चालन गर्दै आएको सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल) ले महिला, किशोरी, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गुठीचौरकी विद्यालक्ष्मी बुढाको अनुभव पनि यही परिवर्तनको एउटा उदाहरण हो। पहिले महिनावारी हुँदा घरबाहिर बस्नुपर्ने भएकाले उनलाई डर लाग्थ्यो। महिनावारीका बेला दूध, दहीलगायत पोषिला खानेकुरा खान नहुने मान्यता पनि उनले भोगिन्। पछि सर्वोदय नेपाल र इटालियन फाउन्डेसनको सहयोगमा गठन भएको किशोरी क्लबमा जोडिएपछि उनको बुझाइ बदलियो।

किशोरी क्लबमा उनले प्रजनन स्वास्थ्य, पोषण, बालविवाह र किशोरी अधिकारका विषयमा जानकारी पाइन्। महिनावारी कुनै दोष वा रोग नभई प्राकृतिक प्रक्रिया भएको बुझेपछि उनी आफै विभेदविरुद्ध बोल्न थालिन्। अहिले गाउँमा किशोरीहरूलाई महिनावारीका विषयमा जानकारी दिने र गलत सामाजिक मान्यता हटाउन प्रेरित गर्ने काममा उनी सक्रिय छिन्।

महिनावारीसँगै बालविवाहविरुद्धको सोचमा पनि परिवर्तन देखिन थालेको छ। गुठीचौरकी १६ वर्षीया रीमा कुमारी बस्नेतलाई केही समयअघिसम्म बालविवाह सामान्य सामाजिक चलनजस्तो लाग्थ्यो। गाउँघरमा सानै उमेरमा विवाह गरेका साथीभाइ र छरछिमेक देख्दा विवाह जीवनको अनिवार्य चरण हो भन्ने उनको बुझाइ थियो।

तर बालविवाहले किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने असरबारे जानकारी पाएपछि उनको धारणा बदलियो। अहिले उनी विवाहभन्दा पहिले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउँछिन्। गाउँघरमा बालविवाह रोक्न किशोरीहरूबीच सचेतना फैलाउने अभियानमा पनि उनी जोडिएकी छन्।

विद्यालक्ष्मी र रीमाजस्ता सयौं किशोरीलाई सामाजिक अभियानमा जोड्दै सर्वोदय नेपालले जुम्लामा सामाजिक परिवर्तनको आधार तयार पार्ने प्रयास गरिरहेको छ। संस्थाको काम केवल चेतना फैलाउनेमा सीमित छैन। जीविकोपार्जन, महिला सशक्तीकरण, लैंगिक समानता, खाद्य सुरक्षा, स्वास्थ्य, सरसफाइ, शिक्षा तथा विपद् जोखिम न्यूनीकरणसम्मका क्षेत्रमा कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

सर्वोदय नेपाल सन् २००६ मा जिल्ला प्रशासन कार्यालय, जुम्लामा दर्ता भएको हो। संस्थाले स्थापनाको २० वर्ष पूरा गरेको अवसरमा हालै २०औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम गरेको छ।

संस्थाका कार्यकारी निर्देशक कमलराज खत्रीका अनुसार सुरुआती चरणमा सन् २००६ देखि २०११ सम्म शान्ति, मानवअधिकार, लोकतन्त्र, दण्डहीनताको अन्त्य तथा द्वन्द्व प्रभावित समुदायको सामाजिक–आर्थिक सशक्तीकरणमा काम गरिएको थियो। त्यसपछि २०१२ देखि २०१७ सम्म जीविकोपार्जन, खानेपानी, सरसफाइ, लैंगिक समानता र सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिइयो।

सन् २०१८ देखि २०२१ सम्म संस्थागत क्षमता विकाससँगै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र जैविक विविधता संरक्षणका कार्यक्रम सञ्चालन भए। यही क्रममा जुम्लाबाट अछाम, कालिकोट र दैलेखसम्म कार्यक्षेत्र विस्तार गरिएको खत्रीले बताए।

सन् २०२२ देखि बहुवर्षीय परियोजनामार्फत आयआर्जन, महिला सशक्तीकरण, लैंगिक समानता, खाद्य सुरक्षा र प्रजनन स्वास्थ्यमा कार्यक्रम सञ्चालन भइरहेका छन्। सन् २०२५ देखि २०३० सम्मको रणनीतिक योजनामा लैंगिक हिंसा न्यूनीकरण, खाद्य सुरक्षा तथा जीविकोपार्जन, वातावरण र जैविक विविधता, खानेपानी तथा सरसफाइ, पोषण र जलवायु उत्थानशीलतालाई प्राथमिकतामा राखिएको छ।

संस्थाका अनुसार हालसम्म विभिन्न कार्यक्रमबाट ४४ हजार ७६ जना लाभग्राहीसम्म पुगिएको छ। लैंगिक समानता, सामाजिक समावेशीकरण तथा महिला सशक्तीकरणका कार्यक्रमबाट मात्रै १६ हजार ४१८ जना लाभान्वित भएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमबाट ९ हजार ९८७, स्वास्थ्य तथा सरसफाइबाट ८ हजार ३२, खाद्य सुरक्षा तथा कृषि प्रवर्द्धनबाट ५ हजार ४१७ र बालिका शिक्षा तथा क्षमता विकासबाट २ हजार ३०० जना लाभान्वित भएको संस्थाको तथ्यांक छ।

सर्वोदय नेपालकी अध्यक्ष नारायणी चौलागाईंका अनुसार लाभग्राही र सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा आगामी कार्यक्रमको दिशा तय गर्ने गरिएको छ। महिला, बालिका, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर परियोजना निर्माण गर्ने गरिएको उनले बताइन्।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले महिला तथा किशोरीसँगै पछाडि पारिएका समुदायको जीविकोपार्जन र सशक्तीकरणमा सर्वोदय नेपालको योगदान महत्वपूर्ण रहेको बताए। स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर काम गरेको भन्दै उनले संस्थालाई महिला तथा किशोरीमैत्री संस्थाका रूपमा उल्लेख गरे।

कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपानेले पनि महिला, बालबालिका र सीमान्तकृत समुदायका सवाललाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने बताइन्। सर्वोदय नेपालको २०औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा सहभागी उनले दुई दशकदेखि महिला तथा किशोरी सशक्तीकरणमा संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

जुम्लामा सामाजिक कुरीति एकैपटक अन्त्य भएका छैनन्। महिनावारीका बेला भान्सा र पूजाकोठामा प्रवेशमा अझै कतिपय परिवारमा रोक कायम छ। बालविवाहको जोखिम पनि पूर्ण रूपमा हटेको छैन। तर विद्यालक्ष्मी र रीमाजस्ता किशोरीले आफ्नो अनुभवसँगै समुदायको सोच बदल्ने प्रयास गरिरहेका छन्। यही पुस्ताको बदलिँदो चेतना जुम्लाको सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार बन्दै गएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार