भौगोलिक रूपमा विकट र चिसो मौसमको सामना गरिरहेका जुम्लाको बोहरागाउँस्थित रत्नचुण्डेश्वर माध्यमिक विद्यालयका १५० भन्दा बढी बालबालिकाले न्यानो कपडा तथा शैक्षिक सामग्री पाएका छन्।
काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टबाट इन्टर्नसिपका लागि जुम्ला पुगेका दुई विद्यार्थी संजिता भुषाल र श्रीजा पराजुलीको विशेष पहलमा स्थानीय स्तरको ‘काष्ठा’ संस्थासँग समन्वय गरी विभिन्न दाताको सहयोग जुटाएर सामग्री वितरण गरिएको हो।
सहयोगअन्तर्गत मुमा छोरी इण्डस्ट्रीले प्रारम्भिक बाल विकास (ईसीडी)देखि कक्षा ८ सम्म अध्ययनरत बालबालिकाका लागि न्यानो ज्याकेट उपलब्ध गराएको छ। त्यस्तै, आमाको अचारले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ।
निमा पुस्तक पसलले विद्यालयको ई–लाइब्रेरीका लागि पुस्तक, अतिरिक्त शैक्षिक सामग्री तथा खेलकुदका सामान उपलब्ध गराएको छ। साथै, विपन्न परिवारका ३० जना विद्यार्थीलाई नयाँ विद्यालय झोला तथा विद्यालयका लागि सरसफाइ सामग्रीसमेत वितरण गरिएको छ।
चिसो बढ्दै गएको अवस्थामा आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि न्यानो ज्याकेट र पढाइका सामग्रीले ठूलो राहत पुगेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर रोकायाले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन न्यौपाने र काष्ठा संस्थाका अध्यक्ष डा. कलबहादुर रोकायाले दुर्गम क्षेत्रका बालबालिकाको आवश्यकता पहिचान गरी सहयोग जुटाउने पहल गरेकोमा इन्टर्न विद्यार्थी तथा सहयोगी दाताप्रति आभार व्यक्त गरेका छन्।
इन्टर्नसिपका क्रममा स्थानीय समुदायसँग प्रत्यक्ष जोडिएका भुषाल र पराजुलीले दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरेको बताएका छन्। उनीहरूको पहलले जुम्लाको दुर्गम बस्तीका बालबालिकाको अनुहारमा खुसी थपिएको छ।
















