बिहीबार, २१ श्रावण, २०८३

डिजिटल स्वास्थ्य सेवामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) प्रणालीको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्य बीमा दाबी अस्वीकृति दर घटाउने उद्देश्यले चिकित्सक, नर्सिङ कर्मचारी र अन्य सम्बन्धित कर्मचारीका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

प्रतिष्ठानका अनुसार स्वास्थ्य सेवालाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने लक्ष्यसहित आयोजित प्रशिक्षणमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीको सही प्रयोग, बिरामीको स्वास्थ्य विवरणको पूर्ण अभिलेखीकरण तथा स्वास्थ्य बीमा दाबी प्रक्रियालाई त्रुटिरहित बनाउने विषयमा विशेष जोड दिइएको थियो।

सूचना प्रविधि विभागका प्रमुख उमेश रोकायाले प्रशिक्षणका क्रममा विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीको प्रभावकारी प्रयोगले बिरामीको उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण सुरक्षित र व्यवस्थित रूपमा अभिलेख हुने बताए।

उनले भने, ‘सही र पूर्ण रूपमा स्वास्थ्य अभिलेख तयार गर्न सके बिरामीको उपचार प्रक्रिया थप प्रभावकारी हुन्छ। डिजिटल प्रणालीले सेवा प्रवाहलाई छरितो, व्यवस्थित र पारदर्शी बनाउनुका साथै संस्थाको समग्र स्वास्थ्य सूचना व्यवस्थापनलाई समेत सुदृढ बनाउँछ।’

त्यसैगरी स्वास्थ्य बीमा शाखाका प्रमुख दीपेन्द्र मगरले स्वास्थ्य बीमा दाबी अस्वीकृति हुने प्रमुख कारण पहिचान गरी त्यसलाई न्यूनीकरण गर्ने उपायबारे सहभागीलाई जानकारी गराएका थिए।

उनले भने, ‘स्वास्थ्य बीमा दाबी प्रक्रियामा आवश्यक विवरण पूर्ण र त्रुटिरहित रूपमा अभिलेखीकरण गर्न सके दाबी अस्वीकृति दर उल्लेखनीय रूपमा घटाउन सकिन्छ। यसका लागि चिकित्सक, नर्सिङ कर्मचारी र सम्बन्धित सबै पक्षको समान जिम्मेवारी र समन्वय आवश्यक हुन्छ।’

प्रतिष्ठानका अनुसार विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीको प्रभावकारी कार्यान्वयनबाट बिरामीको स्वास्थ्य विवरण सुरक्षित रूपमा व्यवस्थापन हुने, उपचार प्रक्रियामा निरन्तरता कायम हुने, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुने तथा सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ। यसले स्वास्थ्य बीमा दाबी प्रक्रियालाई समेत थप प्रभावकारी बनाउँदै अनावश्यक त्रुटि र दाबी अस्वीकृति दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिष्ठानले डिजिटल प्रविधिमा आधारित स्वास्थ्य सेवा व्यवस्थापनलाई संस्थागत गर्दै गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार