सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गाडी गुर्भाकोट नगरपालिका–१३ का करिब ४२/४३ वर्षीय गगन थापाले चलाइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गुमीबाट प्रहरी सहायक निरीक्षक श्याम थापाको नेतृत्वमा ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा सात जना र प्रहरी चौकी मेहेलकुनाबाट प्रहरी नायब निरीक्षक मनिष गुरुङको नेतृत्वमा पाँच जनाको टोली उद्धार तथा व्यवस्थापनका लागि घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका यात्रुलाई उद्धार गरी मेहेलकुना अस्पताल, माया अस्पताल, कर्णाली केयर अस्पताल र कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका लागि पठाइएको थियो।

गम्भीर घाइतेमध्ये सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वलीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, गुर्भाकोट नगरपालिका–१३ की २३ वर्षीया ममता पुन र उनका पाँच वर्षीय छोरा रियाज शाहीलाई पनि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ।
गुर्भाकोट नगरपालिका–१४ का १२ वर्षीय सक्षम बुढालाई भने थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक गगन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको फोर्स गाडी घटनास्थलमै रहेको छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

















