जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक सुधार तथा बजेट कार्यान्वयनको समग्र अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै सुझाव, गुनासा र प्रतिक्रियालाई प्रत्यक्ष रूपमा सुन्न वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले परिकल्पना गरेको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, बुद्धिजीवी, शिक्षक, नागरिक समाज र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ विश्वासिलो बनाउने प्रयास गरेको सहभागीहरूको धारणा थियो। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले गरेका थिए भने उपाध्यक्ष रेवती रावल, प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्णप्रसाद चौलागाईँ लगायत पत्रकारहरूको समेत सहभागिताले कार्यक्रमलाई थप सार्वजनिक र उत्तरदायी बनाएको देखिन्थ्यो।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै गाउँपालिका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष अमरबहादुर रोकायाले सार्वजनिक सुनुवाइ केवल औपचारिक कार्यक्रम नभई स्थानीय सरकारको कामकारबाहीलाई नागरिकसमक्ष पारदर्शी रूपमा प्रस्तुत गर्ने माध्यम भएको बताए।
उनले विकास निर्माण, बजेट कार्यान्वयन, प्रशासनिक सेवा तथा जनसरोकारका विषयमा नागरिकले निसंकोच रूपमा आफ्ना सुझाव, टिप्पणी र आलोचना राख्न आग्रह गर्दै भने, ‘हामीले गरेका कामको समीक्षा नागरिकले गर्नुपर्छ। राम्रो कामको प्रशंसा र कमजोरीको सुधारका लागि आएका सुझावलाई गाउँपालिकाले सकारात्मक रूपमा ग्रहण गर्नेछ।’
कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियोे। योजना तथा प्रशासन शाखा प्रमुख ओमबहादुर चन्दले गाउँपालिकाको भौतिक तथा वित्तीय प्रगतिको विस्तृत विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्षमा सम्पन्न भएका योजना, प्रशासनिक गतिविधि, मानव संसाधन व्यवस्थापन, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको अवस्थाबारे जानकारी दिए।
उनले प्रस्तुत गरेको प्रतिवेदनले गाउँपालिकाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरेको देखाएको थियो। साथै आगामी दिनमा देखिएका चुनौतीलाई समाधान गर्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि प्रतिवेदनमार्फत व्यक्त गरिएको थियो।
सार्वजनिक सुनुवाइको विशेषता भनेकै जनप्रतिनिधि र कर्मचारीले नागरिकका प्रश्नको प्रत्यक्ष जवाफ दिनु हो। कार्यक्रममा सहभागी नागरिकहरूले विकास निर्माणका कामको गुणस्तर, बजेट खर्चको प्रभावकारिता, सेवा प्रवाहको सहजता, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी तथा सुशासनसँग सम्बन्धित विविध प्रश्न उठाएका थिए।
सहभागीहरूले सकारात्मक उपलब्धिको प्रशंसा गर्दै केही क्षेत्रमा अझ प्रभावकारी काम गर्नुपर्ने सुझावसमेत दिएका थिए।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी रहेको स्पष्ट पार्दै सार्वजनिक सुनुवाइले विकासको सही दिशा तय गर्न सहयोग गर्ने बताए। उनले भने, ‘जनताको सुझाव र आलोचना नै हाम्रो सुधारको आधार हो। हामीले गरेका कामको मूल्याङ्कन गर्ने अधिकार नागरिकसँग छ, त्यसैले पारदर्शिता र जवाफदेहिताबाट गाउँपालिका कहिल्यै पछि हट्दैन।’
उनले विकास निर्माणमा गुणस्तर, सुशासन र जनसहभागितालाई प्राथमिकता दिँदै आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
तातोपानी गाउँपमलिकाकी उपाध्यक्ष रेवती रावलले स्थानीय सरकारको सफलता नागरिकको विश्वास र सहभागितामा निर्भर रहने बताउँदै सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरिन्।
उनका अनुसार विकास भनेको केवल संरचना निर्माण मात्र होइन, नागरिकले अनुभूति गर्ने सेवा र सुशासन पनि हो। त्यसैले नागरिकबाट प्राप्त सुझावलाई आगामी योजना निर्माण र कार्यान्वयनमा समेटिने उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले कर्मचारीतन्त्रलाई थप जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउन गाउँपालिका निरन्तर प्रयासरत रहेको बताए। उनले सार्वजनिक सुनुवाइले प्रशासनिक सुधारका लागि महत्त्वपूर्ण सुझाव प्राप्त हुने उल्लेख गर्दै नागरिकले उठाएका गुनासा र सुझावलाई सम्बन्धित शाखामार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
‘सार्वजनिक सुनुवाइ आलोचना सुन्ने मात्र कार्यक्रम होइन, सुधारको अवसर पनि हो,’ उनले भन्नुभयो।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष गोकर्ण रावल, वडा नं. ६ का अध्यक्ष विशाल खड्का, वडा नं. ७ का अध्यक्ष तिलकबहादुर रावत तथा कार्यक्रममा पछि सहभागी हुनुभएका वडा नं. ८ का अध्यक्ष नरबहादुर रावत लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
जनप्रतिनिधिहरूले आफ्नो-आफ्नो वडामा भएका विकास गतिविधि, चुनौती र नागरिकका अपेक्षाबारे पनि अनौपचारिक रूपमा धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्णप्रसाद चौलागाईँले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने धारणा व्यक्त गर्दै सूचना प्रवाहमा पारदर्शिता कायम राख्न स्थानीय सरकार र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए।
समग्रमा तातोपानी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइले स्थानीय सरकारका उपलब्धि सार्वजनिक गर्नुका साथै नागरिकका प्रश्न सुन्ने, सुझाव ग्रहण गर्ने र आगामी कार्यदिशा तय गर्ने साझा मञ्चका रूपमा आफ्नो उद्देश्य पूरा गरेको अध्यक्ष चौलागाईंको दाबी छ।













