बिहीबार, ३२ असार, २०८३

स्वावलम्बन लघुवित्तद्वारा नेत्रज्योति मावि हाँकुका ७५ विपन्न विद्यार्थीलाई शैक्षिक झोला सहयोग

बुधबार जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थि नेत्रज्योति माध्यमिक विद्यालय हाँकुमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि एउटा विशेष दिन बनेर आयो।

ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई पठनपाठनमा टेवा पुऱ्याउने र उनीहरूको शैक्षिक यात्रालाई थप सहज र उत्साहप्रद बनाउने पवित्र उद्देश्यका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुम्लाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक महत्त्वपूर्ण सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका ७५ जना विपन्न तथा जेहेन्दार छात्र-छात्राहरूलाई नयाँ स्कुल झोला वितरण गरिएपछि अहिले विद्यालयमा खुसीको वहार छाएको छ। नयाँ झोला पिठ्युँमा भिर्न पाउँदा ती अबोध बालबालिकाहरूको अनुहारमा छाएको उज्यालो मुस्कानले कार्यक्रममा उपस्थित सबैलाई भावुक र हर्षित तुल्याएको थियो।



नेपालको राष्ट्रिय स्तरको “घ” वर्गको इजाजतपत्र प्राप्त अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विगत लामो समयदेखि देशका विभिन्न दुर्गम तथा सुगम स्थानहरूमा आफ्ना शाखाहरू विस्तार गरी वित्तीय पहुँचभन्दा बाहिर रहेका समुदायलाई आत्मनिर्भर बनाउन अहम् भूमिकाे खेल्दै आएको छ।

“स्वच्छ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नारालाई शिरोधार्य गर्दै यस संस्थाले केवल वित्तीय कारोबारमा मात्र आफूलाई सीमित नराखी समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई पनि उत्तिकै गम्भीरताका साथ बहन गर्दै आएको छ। संस्थाले खडा गरेको सामाजिक उत्तरदायित्व कोषमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा दैवी प्रकोप जस्ता क्षेत्रहरूमा निरन्तर सहयोग गर्दै आएको इतिहास छ।

यसै सन्दर्भमा, जुम्लाको विकट भेगका विपन्न विद्यार्थीहरूलाई झोला वितरण गरेर संस्थाले परोपकारी कदम चालेको हो। कुल ६५ हजार ७५० रुपैयाँको लागतमा व्यवस्थापन गरिएको ७५ थान उच्च गुणस्तरका शैक्षिक झोलाहरू ती बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सानो तर निकै दरिलो टेवा साबित भएका छन्।

उक्त झोला वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तातोपानी गाउँपालिकाका -४ का वडा अध्यक्ष अमर बहादुर रोकायाले संस्थाको यस मानवीय कार्यको खुलेर प्रशंसा गरे। उनले विकट क्षेत्रका बालबालिकाहरूका लागि दैनिक पठनपाठनमा सहयोग पुग्ने गरी गरिएको यो कार्य सराहनीय भएको उल्लेख गर्नुभयो।

रोकायाले भने, ‘सामाजिक उत्तरदायित्व कोषको लगानीमा विपन्न छात्र तथा छात्राहरूलाई झोला सहयोग गर्ने स्वावलम्बन लघुवित्त जुम्ला परिवारलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद ज्ञापन गर्दछु। बैंक तथा वित्तीय संस्थाहरूले नाफा मात्र कमाउने नभई समाजका असाहाय, गरिब र विपन्न वर्गको सुख-दुःखमा पनि मलम लगाउनुपर्छ भन्ने उदाहरण स्वावलम्बनले आज प्रस्तुत गरेको छ। दुर्गमका यी बालबालिकाहरूलाई प्रदान गरिएको यो सहयोगले उनीहरूको अध्ययनप्रतिको रुचिलाई झनै बढाउनेछ भन्ने विश्वास मैले लिएको छु।’

​विद्यालयका प्रधानाध्यापक जाज्ल्यवाराज न्यौपानेले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको उदाहरणीय कार्यले विद्यालय र सम्पूर्ण विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपेको बताए।

विपन्न परिवारका बालबालिकाहरूका लागि एउटा नयाँ र बलियो स्कुल झोला पाउनु ठूलो सपना जस्तै हुने गरेको यथार्थ चित्रण गर्दै उनले भने, ‘आधारभूत तहका विद्यार्थीहरूलाई नयाँ र आकर्षक झोला दिएर संस्थाले उनीहरूलाई विद्यालय आउन र नियमित रूपमा अध्ययन गर्न ठूलो उत्प्रेरणा जगाइदिएको छ।’

उनले आगामी दिनमा पनि विद्यालयले संस्थाबाट यस्तै रचनात्मक सहयोगको ठूलो अपेक्षा गरेको उनको भनाई छ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनप्रसाद खत्रीले संस्थाको पहलले स्थानीय स्तरमा निकै सकारात्मक सन्देश प्रवाह गरेको धारणा व्यक्त गरे। उनले विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकासमा राज्यको मात्र मुख नताकी यस्ता मनकारी वित्तीय संस्थाहरूको सहयोग अपरिहार्य रहने बताए।

खत्रीले भने, ‘हाम्रो विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकाहरू आर्थिक रूपमा विपन्न र सीमान्तकृत समुदायका छन्। लघुवित्तले गरेको यो सहयोगले बालबालिकाहरूको भविष्य निर्माणमा लगानी गरेको छ। यसका लागि म विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट संस्थाप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।’

स्थानीय समाजसेवी धनकृष्ण पाण्डेले जुम्लाको यस पिछडिएको क्षेत्र र विद्यालयलाई छनौट गरेकोमा संस्थाको दूरदर्शी सोचको उच्च प्रशंसा गरे। समाजसेवामा लामो समयदेखि क्रियाशील पाण्डेले ग्रामीण क्षेत्रका वास्तविक समस्या र आवश्यकता पहिचान गरेर मात्रै सहयोग वितरण गरिनुपर्ने कुरामा जोड दिए।

उनले भने, ‘विकटमा रहेका विपन्न बालबालिकाहरूका लागि यो सहयोग अत्यन्तै समयसान्दर्भिक र अर्थपूर्ण छ। नेत्रज्योति माध्यमिक विद्यालय हाँकुलाई नै विशेष प्राथमिकताका साथ छनौट गरेर यस वित्तीय संस्थाले यहाँका जनता र बालबालिकाहरूमाथि ठूलो गुन लगाएको छ।’



कार्यक्रमको आयोजक तथा व्यवस्थापन पक्षको नेतृत्व गरेका स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुम्लाका शाखा प्रबन्धक तोरण बहादुर बस्नेतले संस्थाको तर्फबाट प्रतिबद्धता र स्पष्टीकरण प्रस्तुत गरे।

उनले संस्थाको उद्देश्य केवल व्यवसाय गर्नु मात्र नभई ग्रामीण क्षेत्रका विपन्न नागरिकहरूको जीवनस्तर उकास्नु र उनीहरूलाई हरेक परिस्थितिमा साथ दिनु रहेको प्रष्ट पारे। उनले भने, ‘हामीले हाम्रो व्यवसायिक नाफाको केही अंश सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने गरेका छौँ र सोही कोषमार्फत समाजका वास्तविक आवश्यकता भएका क्षेत्रहरूमा प्रत्यक्ष लगानी गर्दै आइरहेका छौँ।’

उनका अनुसार लघुवित्त बैंकले नेत्रज्योति माविका ७५ जना अति विपन्न विद्यार्थीहरूलाई छनौट गरी कुल ६५ हजार ७२० रुपैयाँको लागतमा स्कुल झोला वितरण गरिएको हो। उनले आगामी दिनमा पनि जुम्ला जिल्लाका अन्य विकट क्षेत्रहरूमा शैक्षिक तथा सामाजिक सहयोगका कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

वित्तीय पहुँचका साथसाथै सामाजिक भावना र उत्तरदायित्वलाई सँगै अगाडि बढाउँदा समाजमा कस्तो सकारात्मक रूपान्तरण ल्याउन सकिन्छ भन्ने कुराको ज्वलन्त नमुना यस कार्यक्रमले पुष्टि गरेको वडा अध्यक्ष रोकायाले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार