काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेरामा शनिबार बिहान एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको खुलेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।
प्रहरीका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएको थियो। सोही विवादपछि उनी भान्सामा गई आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
वीर अस्पतालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।















