मंगलवार, २३ असार, २०८३

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई ग्यास चुलो र हातघडी वितरण

समुदायमा स्वास्थ्य सेवा प्रवाहमा अग्रपङ्क्तिमा रहेर निस्वार्थ रूपमा सेवा गर्दै आएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आठबीस नगरपालिका–४ राकम कर्णाली वडा कार्यालयले प्रोत्साहन सामग्री वितरण गरेको छ।

वडा कार्यालयले करिब १ लाख रुपैयाँ बराबरको प्रोत्साहन सामग्रीस्वरूप राकम कर्णाली आधारभूत अस्पताल मातहत कार्यरत १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रतिव्यक्ति भ्याटसहित ७ हजार रुपैयाँ बराबरको ग्यास चुलो सेट तथा भ्याटसहित १ हजार ३२० रुपैयाँ बराबरको हातघडी वितरण गरेको हो।

कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर माझीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायको स्वास्थ्य प्रवर्द्धन, सुरक्षित मातृत्व, खोप, पोषण तथा जनस्वास्थ्यका विभिन्न अभियानमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। उनले आगामी दिनमा पनि यही समर्पण, निष्ठा र सेवाभावका साथ समुदायको हितमा निरन्तर लागिरहन शुभकामना व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा आठबीस नगरपालिकाका प्रशासकीय प्रमुख विनोदकुमार माझीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवाले स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। यस्ता प्रोत्साहन कार्यक्रमले उहाँहरूको मनोबल अझ उच्च बनाउने विश्वास पनि उनले व्यक्त गरे।

वडा कार्यालयका सचिव बखत विश्वकर्माले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निस्वार्थ सेवा, अथक मेहनत र जिम्मेवारीबोध समाजका लागि अनुकरणीय रहेको बताए।
राकम कर्णाली आधारभूत अस्पतालका इन्चार्ज किरण माझीले कार्यक्रम सञ्चालन गर्न पाउँदा आफू र सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरू हर्षित भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा उहाँहरूले पुर्‍याइरहेको योगदान अत्यन्तै प्रशंसनीय रहेको बताए।

कार्यक्रममा उपस्थित सबै वक्ताहरूले समुदायको स्वास्थ्य सेवाको पहिलो भरोसाका रूपमा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि उहाँहरूलाई आवश्यक सहयोग, सम्मान र प्रोत्साहनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको समाजसेवी युवा निरजकुमार माझीले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार