जुम्लाको सिंजा गाउँपालिकाबाट हराएका तीन जना बालकलाई प्रहरीले सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी चिरञ्जीवी दाहालका अनुसार सिंजा गाउँपालिका–३ अगस्तिबाडा निवासी ८ वर्षीय प्रशान्त खत्री, ७ वर्षीय परिवर्तन बिष्ट र १२ वर्षीय बिनोद रोकाया असार २ गते बिहान घरबाट विद्यालय जाने भन्दै निस्किएका थिए।
उनीहरू नराकोटस्थित नोबेल एकेडेमी बोर्डिङ स्कुलमा अध्ययनरत भए पनि उक्त दिन विद्यालय नगई सम्पर्कविहीन भएका थिए।
बालकहरू लामो समयसम्म घर नफर्किएपछि परिवारजनले गाउँघर तथा सम्भावित स्थानहरूमा खोजतलास गरेका थिए। तर कतै फेला नपरेपछि अभिभावकले प्रहरी चौकी नराकोटमा उनीहरूको हुलिया र तस्बिरसहित लिखित निवेदन दिएका थिए।
निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला तथा मातहतका प्रहरी इकाइहरूले खोजी अभियान तीव्र बनाएका थिए। खोजतलासका क्रममा तीनै जना बालकहरू सिंजा गाउँपालिका–२ अन्तर्गतको हले खर्क पाटन क्षेत्रमा बसिरहेको अवस्थामा सकुशल फेला परेका हुन्।
प्रहरीले बालकहरूको अवस्था सामान्य रहेको जनाएको छ। आवश्यक सोधपुछ तथा प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
डीएसपी दाहालले बालबालिकाको सुरक्षा र निगरानीमा अभिभावकले विशेष ध्यान दिनुपर्ने बताउँदै कुनै व्यक्ति हराएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभएको छ।
















