जुम्लाको पर्यटकीय गन्तव्य गिडिदहतर्फ जाने बाटोमा पर्ने फुलचौल्या पाटन क्षेत्रका धुपीका रुखहरू व्यापक रूपमा नष्ट भएको पाइएको छ। तातोपानी गाउँपालिका–४ अन्तर्गत पर्ने उक्त क्षेत्रमा अवैध रूपमा रुख कटानी तथा प्राकृतिक रूपमा सुक्ने क्रम बढेपछि वन क्षेत्र संकटमा परेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
वडा नं. ४ का अध्यक्ष अम्बर बहादुर रोकायका अनुसार फुलचौल्या पाटनमा रहेका अधिकांश धुपीका रुखहरू जथाभावी काटिएका छन्। वन विनाश रोक्नका लागि उनले पटक–पटक जिल्ला डिभिजन वन कार्यालयलाई जानकारी गराउँदै आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

अध्यक्ष रोकायले वडाको टोली र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा रुख काट्ने कार्यमा संलग्न व्यक्तिहरू भागेको बताए। चेतावनी दिँदा पनि अटेर गरेपछि केही व्यक्तिलाई रसिद काटेर कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
वन संरक्षणका लागि जिल्ला डिभिजन वन कार्यालयमा लिखित तथा मौखिक रूपमा निरन्तर पहल गरिएको उल्लेख गर्दै अध्यक्ष रोकायले अघिल्लो वर्षको तुलनामा यस वर्ष धुपी विनाश केही घटेको भए पनि समस्या पूर्ण रूपमा समाधान नभएको बताए।

यता जिल्ला डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढथापाले प्रारम्भिक चरणमा घटना सम्बन्धी जानकारी कार्यालयमा नआएको बताए। उनले जानकारी प्राप्त भएपछि स्वयं फुलचौल्या पाटन पुगेर स्थलगत अनुगमन गरेको र त्यसपछि आवश्यक नियन्त्रण तथा संरक्षणका उपायहरू लागू गरिएको बताए।
प्रमुख बुढथापाका अनुसार फुलचौल्या पाटनसँगै आसपासका अन्य पाटन क्षेत्रमा हुने अवैध कटानीसमेत रोक्न वन कार्यालय, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबीच समन्वय बढाइएको छ। वन क्षेत्रको नियमित निगरानी र संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाइएको छ।

स्थानीय भरत नेपालीले पर्यटकीय तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण फुलचौल्या पाटनका धुपी वन संरक्षणका लागि सरोकारवाला निकायहरूले अझ प्रभावकारी पहल गर्नुपर्ने बताए।
वन विनाश रोक्न कडा निगरानी, दोषीमाथि कानुनी कारबाही र दीर्घकालीन संरक्षण योजना आवश्यक रहेको स्थानीय कौरव पाण्डेको भनाई छ।

गिडिदह क्षेत्रको प्राकृतिक सौन्दर्य र जैविक विविधताको महत्वपूर्ण आधार मानिने धुपी वनको संरक्षणमा समयमै प्रभावकारी कदम नचालिए पर्यावरणीय तथा पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने स्थानीय दर्शन रोकायाले।चिन्ता व्यक्त गरे।
















