कर्णालीको तेस्रो ठूलो ताल गिडिदहलाई दिगो पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना हुने भएको छ। तातोपानी गाउँपालिका–४ को आयोजनामा यही जेठ ३० र ३१ गते ‘गिडिदह पर्यटन प्रवर्द्धन तथा जलवायु सम्मेलन’ सञ्चालन हुने भएको हो।
गिडीदह पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको क्षेत्रका रूपमा चिनिन थालेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए। उनका अनुसार प्राकृतिक दृश्य, जैविक विविधता तथा धार्मिक–सांस्कृतिक महत्वले भरिएको यस ठाउँलाई दीर्घकालीन पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित स्थानीय तहले सम्मेलनलाई रणनीतिक महत्व दिएको जनाएको छ।
तातोपानी -४ का वडा अध्यक्ष अमर बहादुर रोकायाका अनुसार सम्मेलनले गिडीदहको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने मात्र नभई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका प्राकृतिक स्रोतमा परेको असरबारे साझा बुझाइ निर्माण गर्ने अपेक्षा गरिएको छ।
उनका अनुसार पर्यटन विस्तारसँगै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र आर्थिक गतिविधि वृद्धि गर्ने अवसर पनि यसले प्रदान गर्नेछ।
सम्मेलन अवधिभर देउडा लगायतका सांस्कृतिक प्रस्तुति, स्थानीय कला–संस्कृतिको प्रदर्शनी तथा गिडिदह क्षेत्रको अवलोकन भ्रमण समेत गरिने तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले बताइन्।
उनका अनुसार यसले स्थानीय पहिचानलाई प्रवर्द्धन गर्दै पर्यटनलाई थप व्यवस्थित र आकर्षक बनाउने विश्वास लिइएको छ।
कार्यक्रममा पर्यटन, वातावरण तथा जलवायु क्षेत्रका विज्ञ, जनप्रतिनिधि, नागरिक समाज र स्थानीय समुदायको सक्रिय सहभागिता रहनेछ। जलवायु संकट, दिगो विकास, प्राकृतिक स्रोत संरक्षण तथा स्थानीय सरकारको भूमिकाबारे विस्तृत छलफल हुने तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले बताए।















