सोमबार, २५ जेष्ठ, २०८३

कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित

कर्णाली प्रदेशका १० जिल्लाका छोरीहरूको प्रतिनिधित्व रहने गरी गठन गरिएको कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित भएकी छन्।

कर्णाली छोरी सम्मेलन–२०८३ अन्तर्गत आयोजित प्रदेशस्तरीय भेलाले दमाईको नेतृत्वमा ११ सदस्यीय नयाँ प्रदेश समिति चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा जुम्लाकी सुष्मा हमाल, सचिवमा दैलेखकी मुना शर्मा, सहसचिवमा रुकुम पश्चिमकी विजया पुन मगर तथा कोषाध्यक्षमा सुर्खेतकी गौमाया अधिकारी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुर्खेतकी पद्मा राजी, हुम्लाकी ल्हामु तामाङ, जाजरकोटकी समीरा गौतम, डोल्पाकी कल्पना सार्की, मुगुकी सरस्वती बुढा र सल्यानकी डुनिका बस्नेत रहेका छन्।

कर्णाली प्रदेशका छोरीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजित कर्णाली छोरी सम्मेलन–२०८३ सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट सहभागी भएका छोरीहरूले आफ्ना भोगाइ, चुनौती, अवसर तथा सफलताका अनुभवहरू साझा गरेका थिए।

नवनिर्वाचित प्रदेश अध्यक्ष संगिता दमाईले कर्णालीका छोरीहरूको हक, अधिकार, शिक्षा, स्वास्थ्य र नेतृत्व विकासका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

उनले प्रदेशभरका छोरीहरूलाई सञ्जालमा आबद्ध गर्दै उनीहरूको आवाज स्थानीयदेखि नीतिगत तहसम्म पुर्‍याउन सक्रिय पहल गर्ने बताइन्।

दमाईका अनुसार सञ्जालको अघिल्लो कार्यकालमा कर्णालीभरबाट ६ सय ६९ जना छोरीहरू सञ्जालमा आबद्ध भइसकेका छन्।

आगामी कार्यकालमा अझ व्यापक रूपमा छोरीहरूलाई संगठित गर्दै उनीहरूको क्षमता विकास, अधिकार सुनिश्चितता र नेतृत्व प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गरिने उनले बताइन्।

कर्णाली छोरी सञ्जालले प्रदेशभरका किशोरी तथा युवतीहरूको सहभागिता, नेतृत्व विकास र सशक्तीकरणका लागि साझा मञ्चको रूपमा काम गर्दै आएको छ।

नवगठित समितिले आगामी दिनमा जिल्लास्तरदेखि प्रदेशस्तरसम्म छोरीहरूको आवाज सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार