सुर्खेतको भेरीगंगा नगरपालिका–१२ पाडुलेस्थित सुर्खेत–छिन्चु सडकखण्डमा शुक्रबार साँझ ईभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ जेठ २४ गते साँझ करिब ६ बजे सुर्खेतबाट छिन्चुतर्फ जाँदै गरेको भे.१ ज. १७८६ नम्बरको ईभी गाडी अचानक अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खस्न लागेको अवस्थामा दुर्घटनामा परेको हो।
दुर्घटनामा गाडीमा सवार पाँचै जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ।
घाइते हुनेहरूमा चालक बाँकेको कोहलपुर नगरपालिका–१३ निवासी २३ वर्षीय विवेक वली रहेका छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। त्यस्तै, सोही स्थानका २० वर्षीय खगेन्द्र खत्रीको छातीमा चोट लागेको छ।
यसैगरी, कोहलपुर नगरपालिका–१० निवासी ५४ वर्षीय ज्ञानबहादुर शाहीको टाउको, ढाड र हातमा चोट लागेको छ भने बैजनाथ गाउँपालिका–२ निवासी ५८ वर्षीय प्रेमबहादुर चन्दको हात र टाउकोमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको जनाइएको छ।
दुर्घटनामा दैलेखको महाबु गाउँपालिका–३ निवासी ४४ वर्षीय विष्णु बुढा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा ट्राफिकसहित सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
















