जुम्लाको चन्दननाथ गुरुकुल पाठशालामा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ। अभिभावक भेलामार्फत सर्वसम्मत रूपमा बीबीसी संवाददाता कृष्णमाया उपाध्यायको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति चयन गरिएको हो।
चन्दननाथ भैरवनाथ गुठी अन्तर्गत सञ्चालन हुँदै आएको पाठशालाको व्यवस्थापन तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन नयाँ समिति गठन गरिएको पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले जानकारी दिए।
नवनिर्वाचित समितिमा रत्नप्रसाद रोकाया, रामसिंह रावल र संगीता न्यौपाने सदस्य रहेका छन्। यस्तै, चन्दननाथ नगरपालिका–५ का वडा अध्यक्ष विर्खबहादुर कार्की वडा प्रतिनिधिका रूपमा समितिमा समावेश भएका छन्। प्रधानाध्यापक विश्वराज उपाध्याय सदस्य सचिव तथा तिलकप्रसाद उपाध्याय शिक्षक प्रतिनिधिका रूपमा रहेका छन्।
पाठशालामा हाल ब्राह्मण समुदायका विद्यार्थी मात्र नभई संस्कृत शिक्षा अध्ययन गर्न इच्छुक विभिन्न समुदायका बालबालिकाले अध्ययन गरिरहेको जनाइएको छ। गुरुकुल शिक्षाप्रति बढ्दो आकर्षणसँगै सबै समुदायका विद्यार्थीको सहभागिता बढ्दै गएको विद्यालयले जनाएको छ।
यसैबीच, पाठशालाको समग्र विकास तथा मार्गदर्शनका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ। समितिमा दयादत्त हमाल, पूर्णशेखर देवकोटा, पूर्णसिंह कठायत तथा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अम्मर थापा सदस्य रहेका छन्।
नवनिर्वाचित व्यवस्थापन समितिले गुरुकुल शिक्षाको संरक्षण, संस्कृत अध्ययनको प्रवर्द्धन तथा पाठशालाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने आश्वस्त पारेको छ।















