मंगलवार, १५ बैशाख, २०८३

मन्त्री सीता वादीद्वारा नगर्ने कामहरूको सार्वजनिक प्रतिवद्धता

सार्वजनिक जिम्मेवारी सम्हालेको करिब पाँच हप्ता पूरा भएको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफूले पदमा रहँदा नगर्ने कामहरूको स्पष्ट प्रतिवद्धता सार्वजनिक गरेकी छन्। नागरिकको आशा र विश्वासलाई केन्द्रमा राख्दै उनले सुशासन, पारदर्शिता र न्यायप्रति अडिग रहने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

मन्त्री वादीले नातागोता, चिनजान वा दबाबका आधारमा कुनै पनि नियुक्ति, सरुवा वा बढुवा नगर्ने स्पष्ट पारेकी छन्। साथै, कानुनविपरीत भनसुन नगर्ने, शक्तिको दुरुपयोग नगर्ने र अपराधमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने अठोट दोहोर्‍याएकी छन्।

उनले लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता आपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीबाट बचाउने काम नगर्ने बताएकी छन्।

भ्रष्टाचारविरुद्ध कडा रुख लिँदै उनले कुनै पनि प्रकारको घुस, कमिसन वा अनियमिततामा संलग्न नहुने र त्यस्तो कार्य भएको पाइएमा त्यसविरुद्ध सशक्त रूपमा उभिने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी, महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसा र अन्यायविरुद्ध निरन्तर लड्ने उनले बताएकी छन्। यस्ता मुद्दामा कुनै पनि प्रकारको सम्झौता नगर्ने उनको भनाइ छ।

मन्त्री वादीले राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवामा ‘सटकट’ वा सिफारिसको संस्कृति स्वीकार नगर्ने र निजी प्रयोजनका लागि सार्वजनिक स्रोत प्रयोग नगर्ने स्पष्ट पारेकी छन्। साथै, मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा नलिने पनि उनले घोषणा गरेकी छन्।

‘भोट दिएको हुँ’ भन्ने आधारमा कुनै दबाब स्वीकार नगर्ने र सबै नागरिकलाई समान रूपमा सेवा गर्ने उल्लेख गर्दै उनले विशेष गरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिने बताइन्।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा भने आफू सम्भव भएसम्म प्रत्यक्ष रूपमा साथ दिने उनको प्रतिबद्धता छ।

उनले सुशासन केवल सरकारको नीतिबाट मात्र नभई नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुने उल्लेख गर्दै सबैलाई नियम, न्याय र सामाजिक हितलाई प्राथमिकता दिन आह्वान गरेकी छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार