जुम्लाको चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा रंगशालाको छेउमै फोहोर जलाउने क्रम बढेको छ।
दैनिक रूपमा अभ्यासका लागि प्रयोग हुने रंगशालाको क्षेत्रमै धुवाँ फैलिँदा खेलाडीहरू र वातावरणमा समेत असर परेको छ।
जुम्लामा वैशाख २६ गते आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी भइरहेका बेला यस्तो अवस्था देखिनु थप चिन्ताको विषय बनेको खेलाडीहरुको गुनासो छ।

अन्तर्राष्ट्रियस्तरसम्मका खेलाडीहरू सहभागी हुने प्रतियोगितामा दूषित वातावरणले स्वागत गर्नु जिल्लाको छविमा नकारात्मक प्रभाव पार्ने स्थानीय चन्द महताराले बताए।
उनका अनुसार फोहोर जलाउँदा निस्कने धुवाँले आँखा पोल्ने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या बढेको छ। बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा यसको प्रभाव अझ गम्भीर देखिएको उनले बताए।

‘हामी दिनहुँ धुवाँ सहन बाध्य छौं, यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ,’ उनले गुनासो गरे।
कर्णाली स्पोर्ट्स क्लबमा आबद्ध खेलाडी सुदिप बुढ्थापाले नगरपालिकाको कार्यप्रति आक्रोश व्यक्त गरे। ‘हामी स्वास्थ्यका लागि दौडिरहेका छौं, तर नगरपालिकाले हाम्रो स्वास्थ्य नै जोखिममा पारिरहेको छ,’ उनले भने।
चन्दननाथ नगरपालिकाकि उपमेयर रामदेवी खड्काले आफूलाई फोन आउनेबित्तिकै हिजै डोजर प्रयोग गरेर सबै फोहोर ढाकछोप गरिएको बताइन।
उनले भनिन्, ‘धेरै जनाबाट गुनासो आएकोले अब उप्रान्त त्यहाँ हामी फोहोर फाल्ने पनि छैनौं जलाउने पनि छैनौं।’
















