आयुर्वेद स्वास्थ्य सेवा केन्द्र, जुम्लाको आयोजनामा स्वर्णप्राशन (स्वर्ण बिन्दु प्राशन) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। चन्दननाथ नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा होटल मानव सरोवरमा बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण कुमार शर्माले जुम्लामा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै यसको महत्त्वबारे प्रकाश पारे। उनले आगामी वैशाख ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम सफल बनाउन स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहने बताए।
कार्यक्रमका सभाअध्यक्ष तथा आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. सन्तोष पौडेलले स्वर्णप्राशनको औषधीय तथा पोषणीय महत्त्वबारे जानकारी दिँदै यो आयुर्वेदमा वर्णित प्राचीन विधि भएको बताए। उनका अनुसार एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई दिइने यस विधिले शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
कार्यक्रममा डा. मुन्ना केशरीले बाल विकासक्रम, किरण शर्माले कुपोषण र डा. रमेश आचार्यले बालबालिकामा देखिने विभिन्न रोगबारे प्रशिक्षण दिएका थिए। स्वागत मन्तव्य राख्दै सुमित्रा आचार्यले कार्यक्रम प्रभावकारी बनाउन स्वयंसेविकाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्।
आयुर्वेद अनुसार स्वर्णप्राशनले बुद्धि, पाचन शक्ति र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विश्वास गरिन्छ। हाल नेपालमा सञ्चालनमा रहेको यो कार्यक्रम कर्णाली प्रदेशका सुर्खेत, कालिकोट र जुम्लामा विस्तार गरिएको छ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको समग्र स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण तथा आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन रहेको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले जनाएको छ।
















