शुक्रबार, २९ फाल्गुन, २०८२

इन्जिनियर र ऋणीको चाल नबुझ्दा फस्यो बैंक, बचतकर्ता बेलैमा होसियार हौं !

इन्जिनियरले धितोको मूल्यांकन गरेपछि त्यसको ६० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न बैंक, वित्तीय संस्थालाई सिफारिस गर्दछ । कतिपय इन्जिनियरले घुस खान्छन् । अनि कम मूल्यको धितोलाई बढी मूल्यांकन गरिदिन्छन् । घुस नपाए चाहिँ बढी मूल्यको धितोलाई कम मूल्यांकन गरिदिन्छन् । मूल्यांकन गर्ने इन्जिनियरले विगत गर्छ न भविष्य ।

जन्मिएको मितिले १६ वर्ष पुगेपछि सरकारले नागरिकता दिन्छ । त्यस्तै, १८ वर्ष पुगेपछि बैंक खाता खोल्न पाइन्छ । १९ वर्ष पुगेपछि आफ्नो नाममा भएका जायजेथा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्छ । त्यसरी ६० वर्षसम्म ऋण लिन पाउने व्यवस्था छ । यसकारण यसबीचमा उसले ऋण लिनुपर्छ ।

अहिले यो उमेर समूहमा ऋण लिनेहरूको संख्या बढ्दो छ । उनीहरू करोडौँको हाराहारीमा छन् । सहकारीबाट ६३ लाख सर्वसाधारणले ऋण लिएको बुझिन्छ । लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाख र व्यक्तिहरूबाट मीटरब्याजमा लाखौँले ऋण लिएका छन् । यी ऋणीहरूले विशेषतः चार वटा धितो राखेका छन्—घरजग्गा, गाडी, सेयर र सुन ।

व्यक्तिहरूले कर्जा प्रवाह गर्दा पहिल्यै आफ्नो नाममा धितो पास गर्छन् । एक लाख ऋण दिएमा महिनाकै पाँच हजारदेखि ३० हजारसम्म ब्याज असुल्छन् । किनकि तीन महिनाभित्र ऋण चुक्ता नगरे एक लाखमा पचासौँ लाखको धितो पचाइदिन्छन् । बैंक तथा वित्तीय संस्थाहरूमा चाहिँ योभन्दा फरक छ । यिनीहरूले धितोको मूल्यांकन गर्न इन्जिनियर राखेका हुन्छन् ।

उनीहरूले आफू त्यहाँ पुगेको दिन घरजग्गा कसरी किनबेच भइरहेको छ, त्यसैको आधारमा मूल्यांकन गर्छन् । त्यस्तै, सवारीसाधन मोडेल र सिसीको आधारमा मूल्यांकन गर्छन् । सेयर र सुनको हकमा पनि बजारमा किनबेच भइरहेको मूल्यका आधारमा गरिन्छ ।

यसरी इन्जिनियरले धितोको मूल्यांकन गरेपछि त्यसको ६० देखि ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न बैंक, वित्तीय संस्थालाई सिफारिस गर्दछ । कतिपय इन्जिनियरले घुस खान्छन् । अनि कम मूल्यको धितोलाई बढी मूल्यांकन गरिदिन्छन् । घुस नपाए चाहिँ बढी मूल्यको धितोलाई कम मूल्यांकन गरिदिन्छन् । मूल्यांकन गर्ने इन्जिनियरले विगत गर्छ न भविष्य ।

उसले केवल वर्तमान अर्थात् आफू गएको दिन त्यहाँ कतिमा घरजग्गा किनबेच भइरहेको छ, गाडी, सेयर र सुनको मूल्य कति छ, त्यसैको आधारमा धितोको मूल्यांकन गर्छ । अर्को कुरा, ऋणीले इन्जिनियरलाई पंगु बनाउँछन् । बैंकले इन्जिनियरलाई धितोको मूल्यांकन गर्न पठाउँदा ऋणी पनि सँगै जानुपर्छ । किनकि कुन धितो हो, ऋणीलाई मात्र थाहा हुन्छ ।

ऋणीलाई धेरै कर्जा चाहिएको हुन्छ । तर, आफ्नो धितो भने कम मूल्यको भएपछि उसले छरछिमेक वा मान्छे लगाएर इन्जिनियरलाई बढी मूल्य भन्न लगाउँछ । अर्थात् २५ लाख आनामा नबिक्ने जग्गालाई ५० देखि ७० लाख भन्न लगाइन्छ । पाँच–छ जनासँग त्यो ठाउँमा घरजग्गाको मूल्य सोधेपछि इन्जिनियरले विश्वास गर्छ ।

उसलाई थाहा हुँदैन कि उनीहरूलाई ऋणीले परिचालन गरेको हो । अनि त्यो ठाउँमा घरजग्गाको मूल्यका आधारमा इन्जिनियरले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न बैंकलाई सिफारिस गर्छ । बैंकले इन्जिनियरको भरमा ऋण दिन्छ । उसलाई पनि थाहा हुँदैन कि हामी पंगु बनिरहेका छौँ । उता, ऋणीसँग बैंकका सञ्चालक, अध्यक्षहरूले ऋणको दश प्रतिशत कमिशन खान्छन् । एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत, १६ देखि १८ प्रतिशत ब्याज भनेर ४८ देखि ८० प्रतिशतसम्म र तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गर्छन् ।

यसमा रोचक कुरा के छ भने बैंकले ऋणीलाई ठगेर कमाएको सोच्छ । तर, ठगिएको चाहिँ बैंक हुन्छ । किनकि धितो लिलाम गरेपछि बल्ल उसलाई थाहा हुन्छ कि आफूहरू ठगिएका रहेछन् । धितो कमसल र दिएको ऋणसमेत नउठेपछि बैंक पछुताउँछ । जुन पछिल्लो समय बढ्दो छ । एकातिर घुस खाएर इन्जिनियरले धितोको मूल्यांकन गर्ने, अर्कोतिर ऋणीले इन्जिनियरलाई पंगु बनाउने ।

अनि फस्ने चाहिँ बैंक । त्यसमा पनि घरजग्गा, गाडी, सेयर र सुनको मूल्य दलालीहरूले कृत्रिम रूपमा बढाएका हुन् । पाँच दशकअघि रोपनीको दश हजारमा नबिक्ने जमिन दलालहरूले टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि करोडौँ पुर्याए । गाडी छिमेक भारत र चीनबाट ल्याइन्छ । अटो शोरुमहरूले एकदेखि बढीमा दश लाखमा सवारी साधन किनेर ल्याउँछन् ।

तर, यहाँ चाहिँ एक लाखको गाडी दश लाखमा बेच्छन् त दश लाखको गाडी करोडौँमा । सेयरको मूल्य बढाउनमा सीमित दलालहरू छन् । उनीहरूले आफूले सेयर बेच्ने बेला मूल्य बढाउँछन् त किन्ने बेला स्वाट्टै घटाइदिन्छन् । जुन कुरा सर्वसाधारणदेखि बैंक, वित्तीय संस्थासम्मले बुझेनन् । किनकि सेयर बैंक आफैंले एक सय रुपैयाँ प्रतिकित्ता निष्कासन गरेको हो ।

मूल्य बढेर ३२ सय पुगेको देखेपछि बैंकले प्रतिकित्ता सेयरलाई २८ सयसम्म कर्जा प्रवाह गरेको पाइन्छ । उता, सुन वि.सं. २०२२ सालमा प्रतितोला ८० रुपैयाँ थियो । दलालीहरूले एकाएक मूल्य बढाएर केही महिनाअघि एक तोला सुनकै मूल्य दुई लाख ५८ हजार पाँच सय पुर्याए । मूल्य बढेपछि बैंकदेखि सर्वसाधारणसम्मले सुनमा लगानी गरे ।

अहिले सुनको मूल्य निरन्तर घटिरहेको छ । सुन मात्र होइन, घरजग्गा, गाडी र सेयरको मूल्यमा पनि पहिरो आएको अवस्था छ । पाँच–छ वर्षअघि आनाकै करोडौँ भनिने जग्गा अहिले लाखौँमा किनबेच नभएको अवस्था छ । घर पनि बिक्दैन । गाडी र सेयर किन्ने पनि कोही छैन । करोडौँको गाडी लाखौँमा दिन्छु भन्दा समेत किन्ने भेटिँदैन ।

सेयरमा पनि यस्तै छ । ३२ सयको सेयर मूल्य घट्दै २६ सयमा झरिसकेको छ । केही समयपछि एक हजारमा आउने बजारमा व्यापक चर्चा छ । बैंक, वित्तीय संस्था वा व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि अहिले आत्महत्या गर्ने, जेल पुग्ने, देश छोड्ने वा लुकेर हिँड्ने बढ्दो छन् । बैंकको ऋण तिर्न नसकेकै कारण कालोसूचीमा पर्ने लाखौँ छन् ।

दैनिक पत्रपत्रिकामा दिनहुँ बैंक, वित्तीय संस्थाले धितो लिलामको सूचना निकालेका हुन्छन् । एउटै पत्रिकामा दर्जनौँ बैंक, वित्तीय संस्थाले त्यस्ता सूचना निकाल्छन् । सहकारी करोडौँ बचतकर्ताको खर्बौँ रकम खाएर भागेका छन् । पीडित बचतकर्ताहरू कहिले माइतीघरमा आन्दोलन गर्छन् त कहिले समस्याग्रस्त सहकारी समितिको कार्यालयमा ।

सरकार भन्छ—सहकारी सञ्चालक, अध्यक्षहरूको धितो बेचबिखन गरेर बचतकर्ताको रकम फिर्ता गर्छौँ । तर, किन्ने कसले ? अर्कोतर्फ, घरजग्गा, गाडी, सेयर, सुनको मूल्य दलालीहरूले कृत्रिम रूपमा बढाएका हुन् । जुन मूल्यमा अहिले भारी गिरावट आइरहेको छ । अब घरजग्गा, गाडी, सेयर र सुन कारोबार झनै घट्ने छ ।

किनकि एकातिर मानिससँग पैसा छैन, अर्कोतिर यसको कृत्रिम मूल्य बढाएको जनताले थाहा पाइसकेका छन् । घरजग्गा, गाडी, सेयर र सुनमा लगानी गर्दा सर्वसाधारणसँगै बैंक पनि डुबेका छन् । आँखा चिम्लेर यी क्षेत्रमा लगानी गर्दा आज बैंकलाई निल्नु न ओकाल्नु भएको छ । ऋणी त कर्जा नतिरी भागिहाले । तर, धितो लिलाम गर्दा आधासमेत नउठ्ने भएपछि बैंक नराम्ररी फसेको छ । बैंक संकटमा परिसक्यो । तैपनि लुकाउने प्रयास जारी छ ।

अर्को मुख्य प्रश्न चाहिँ बैंकले अब कर्मचारीलाई तलब कसरी दिन्छ ? बचतकर्तालाई ब्याज कसरी दिन्छ ? राज्यलाई कर कसरी तिर्छ ? घरधनीलाई भाडा कसरी तिर्छ ? र, सेयर होल्डरलाई लाभांश कहाँबाट ल्याएर दिन्छ ? बचतकर्ता सचेत हौँ । सहकारीजस्तै बैंकबाट नफसौँ । समयमै सोचविचार गरेर आफ्नो रकमको आफैं सुरक्षा गरौँ ।

रुषा थापा
भक्तपुर

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार