शुक्रबार, २१ कार्तिक, २०८२

चुनाव नजिकिएसँगै प्रचण्डको पुरानै दाउ, पटकपटक देश लुट्नेलाई जनताले चिनिराखौं!

माओवादी जसको सरकार बन्छ, त्यसमा सहभागी भएको छ। प्रश्न उठ्छ–पटकपटक काम गर्ने ठाउँमा पुगेर माओवादीले गर्‍योचाँही के? माओवादीका अध्यक्ष प्रचण्डदेखि जम्मै नेता विलासी बने

२०७४ सालमा माओवादी र एमालेबीच पार्टी एकीकरणको सम्झौता भयो। २०७४ मंसिर १० र २१ गते भएको संसदीय निर्वाचनमा दुई पार्टीले गठबन्धन गर्यो। ३३ सीट प्रत्यक्षसहित २० सीट समानुपातिकको गरेर माओवादीले कुल ५३ सीट जित्यो। २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो।

दुवै निर्वाचनमा पाँच दल मिलेर सहभागी भए। जसमा माओवादी पनि थियो। माओवादीले जम्मा ३२ सीट पाए। रोचक प्रसंग के भने, सबैभन्दा बढी मत ल्याएको कांग्रेसलाई सरकार बनाउन नदिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०७९ पुस ११ गते प्रधानमन्त्री बने। आगामी फागुन २१ गते निर्वाचन हुँदैछ। निर्वाचन नजिकिएसँगै प्रचण्डले पुरानै दाउ खोजेका छन्।

विभिन्न नौ दलसँग मिलेर उनी चुनावमा सहभागी हुन खोजिरहेका छन्। बजारमा एउटा चर्चा छ, मजदुर किसान पार्टीको जस्तै हालत एकजुट भएका नौ दलको हुनेछ। २०४८ सालदेखि २०७९ सालसम्म निरन्तर चुनावमा भाग लिएको मजदुर किसान पार्टीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा मात्र विजयी हासिल गर्छ।

यसपटक त मजदुर किसान पार्टीलाई त्यहाँ पनि चुनाव जित्न सकस छ। प्रचण्डको सँधै एउटै खेल हुन्छ–जनतालाई ढाँट्ने, साना दललाई भर्याङ्ग बनाउने र ठूला दललाई धोका दिने। उनी पदका लागि जे पनि गर्ने नेतामा पर्छन्। जनयुद्धको कमाण्डर प्रचण्ड तीनपटक प्रधानमन्त्री भए। उनको पार्टीबाट चारपटक प्रधानमन्त्री भएका छन्।

माओवादी जसको सरकार बन्छ, त्यसमा सहभागी भएको छ। प्रश्न उठ्छ–पटकपटक काम गर्ने ठाउँमा पुगेर माओवादीले गर्‍योचाँही के? माओवादीका अध्यक्ष प्रचण्डदेखि जम्मै नेता विलासी बने। देश र जनताका लागि भन्दै हिजो हतियार उठाएको नेतालाई ट्वाइलेटबाट उठाउनुपरेको खबरहरु बाहिरियो।

रक्सी खाएर शौचालयमै लडेपछि उनलाई अरुले उठाएर अस्पताल पुर्याउनुपरेको विषय व्यापक चर्चामा आएको थियो। त्यति मात्र होइन, उनी आफ्नो नाडीमा ७८ लाखको घडी बाँध्छन्। आफ्नी बुहारीलाई मन्त्री बनाएका उनले भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएका छन्।

छोरी भरतपुरमा मेयर छिन्। अनि यस्तो व्यक्तिलाई जनताले फेरिपनि भोट देलान्? के उनले अझैपनि जनता लाटो छन् भनेर सोचेका छन्? जनताले अघिल्लो पटकको चुनावमा कांग्रेसलाई ८९ सीट दिए। तर, उनले कांग्रेसलाई सरकार बनाउन दिएनन्। कांग्रेस र एमालेलाई धोका दिने काम गरिरहे।

जसले उनको नियत घामजस्तै छर्लङ्ग पारिदियो। पहिलोपटक संविधान सभाको निर्वाचन र देशमा राजतन्त्रको अन्त्य हुनुभन्दा अघि उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग राष्ट्रपति दिन्छौं भनेर मौखिक सम्झौता गरे। गिरिजाकै बलमा २०६४ चैत २८ गते चुनाव भयो, २०६५ जेठ १५ गते देशबाट राजतन्त्र हट्यो।

तर, उनले गिरिजालाई राष्ट्रपतिमा समर्थन गरेनन्। जसका कारण पहिलो संविधानसभाको निर्वाचनबाट संविधान बन्न सकेन। गिरिजालाई राष्ट्रपति दिएको भए, पहिलो संविधानसभाबाटै संविधान बन्ने थियो। उनी कस्तो व्यक्ति हुन्? यसबाट पनि पुष्टि भयो। उनकै कमाण्डमा देशमा १० वर्ष जनयुद्ध भयो।

जसमा १७ हजारको ज्यान गएको छ भने हजारौं घाइते र बेपत्ता भएका छन्। जनताले आफ्नो छोराछोरी गुमाए, प्रचण्डले त्यो पीडा भोग्नुपर्यो? उनले जनताको छोराछोरीलाई युद्धमा धकेलेर आफ्ना छोराछोरी जोगाए। त्यो त भयो नै, तर मन्त्री, मेयर बन्ने बेलामा पनि आफूलाई नै छाने।

प्रचण्ड देश निर्माण गर्न होइन, देश सिद्ध्याउन आएका व्यक्ति हुन्। १० वर्ष जनयुद्धको समयमा उनले खर्बौंको सरकारी सम्पत्ति ध्वस्त बनाइदिए। माओवादी शान्ति सम्झौतामा आएको १९ वर्ष लाग्यो। तर, यो अवधिमा माओवादीले के गर्यो? काम गर्नको लागि त भिजन पनि हुनुपर्यो, जुन माओवादीसँग छैन।

कसरी पदमा जाने र विलासी जीवन जिउने भन्नेमै ध्याउन्न हुनुको नतिजा अहिले माओवादीले भोगिरहेको छ। कुनै बेला पहिलो पार्टी भएको माओवादी अहिले सानाठूला पार्टीसँग गठबन्धन गर्दै हिँड्नुपरेको छ। अन्य पार्टीले के बुझ्नुपर्छ भने माओवादीसँग गठबन्धन गर्नु भनेको आफ्नो पार्टी पनि सकाउनु हो।

माओवादीले २०५२ फागुन १ गते जनयुद्ध सुरु गर्दा जनसंख्या दुई करोडको हाराहारीमा थियो। त्यतिबेला एक नेपालीको टाउकोमा विदेशी ऋण तीन हजार थियो। पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जनसंख्या बढ्यो, ऋण पनि बढ्यो।

अहिले एक नेपालीको टाउकोमा ९३ हजार रुपैयाँ वैदेशिक ऋण पुगेको छ। अनि यिनले देश बनाउँछन्? देश डुबाउनेहरुलाई अझैपनि जनताले भोट दिन्छन् भने जनताको आँखा कहिल्यै खुल्दैन, देश कहिल्यै विकास हुँदैन। प्रचण्ड मात्र होइन, माओवादीमा भएका अन्य नेता पनि त्यस्तै छन्।

जनार्दन शर्मा पटकपटक मन्त्री भए। शान्तिमन्त्री, जलस्रोतमन्त्री, गृहमन्त्री र अर्थमन्त्री भए। चारपटक मन्त्री हुँदा उनले सिन्को भाँचेका छैनन्। माओवादी नेताहरुले जानेको सुन तस्करी गर्न, सरकारी सम्पत्ति दोहन गर्न, भ्रष्टाचार गर्न, थर्काउन र लुट्न हो। झुट बोल्नलाई माओवादीलाई कसैले भ्याउँदैन।

माओवादीबाट टुक्रिएर गएको र माओवादीमा भएकाहरु सबै उस्तै छन्। माओवादीले जनताको मतको कदर गरेको भए, भदौ २३ र २४ गतेको घटना हुँदैनथ्यो। जनताले कांग्रेसलाई पहिलो पार्टी बनाएर पठाएको थियो। तर, प्रचण्डले जालझेल गरेर कांग्रेसलाई सरकार नै बनाउन दिएन।

एउटा कुरा के स्पष्ट छ भने–माओवादीले कहिल्यै जनतालाई सुःखसँग बाँच्न दिँदैन। हिजो १० वर्ष जनयुद्धमा पनि जनतालाई शान्तिसँग बाँच्न दिएन, अहिले पनि त्यहीँ गरिरहेको छ। कांग्रेसलाई सरकार चलाउन दिएको भए, अहिलेको अवस्था नै सिर्जना हुँदैनथ्यो। ७६ जनाको ज्यान जाँदैन्थ्यो, खर्बौंको सम्पत्तिमा क्षति हुँदैनथ्यो।

२०८४ मा निर्वाचन हुन्थ्यो। २०७९ मा भएको निर्वाचनमा राज्यको खर्बौं खर्च भएको छ। फागुन २१ गते चुनाव गराउँदा फेरि अर्बौं लाग्ने भएको छ। माओवादीले ‘गाउँगाउँमा सिंहदरबार’ को नारा लगायो। गाउँगाउँको सिंहदरबार अहिले जनतालाई नै टोक्नु न बोक्नु भएको छ।

देशमा सात प्रदेश र ७५३ स्थानीय पालिका छन्। प्रदेश र स्थानीय पालिका आफ्ना कार्यकर्ता भर्ती गर्ने थलो मात्र बन्यो। जनताको सेवा गर्न आएका भनिएका जनप्रतिनिधिहरु जनताले तिरेको करमा दर मार्नैमा व्यस्त छन्। देश संघीयतामा गयो तर जनता र राज्यलाई के फाइदा भयो?

प्रशासनिक भवन भनेका छन्, घुस खाएका छन्। वडाध्यक्षदेखि मेयर र सांसदसम्मले सरकारी गाडी चढेका छन्। मासिक लाखौं रुपैयाँ तलबभत्ता बुझेका छन्। करारमा आफ्ना कार्यकर्ता भर्ती गरेका छन्। अब भनौं–माओवादी देश बनाउन आएको रहेछ कि देश लुट्न?

जनयुद्ध सुरु गर्दा माओवादीका नेताहरुले आफ्नो पुर्ख्यौली सम्पत्तिसमेत राष्ट्रलाई दिने घोषणा गरे। तर, यिनीहरुले त राष्ट्रलाई दिने होइन, राज्यकोष लुटे। चप्पल लगाउन सक्ने हैसियत नभएका नेताहरु अहिले महलजस्तो घरमा बस्छन्। करोडौं पर्ने गाडी चढ्छन्। छोराछोरी विदेश पुर्याएका छन्। पदमा पुगेर भ्रष्टाचार गरेर अकूत सम्पत्ति जोडेका छन्। यस्ता अनुहार जनताले राम्ररी चुनिराखौं। देश लुट्ने जोसुकै होस्, तिनलाई ठीक पार्न आवश्यक भइसकेको छ। यो गर्न सक्ने जनता नै हुन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार