यतिबेला समग्र जुम्ला फुटबलमय बनेको छ। ४४ क्लबका करिब ६६० खेलाडीले मैदानमा आफ्नो सिप र कला देखाएका छन्। यो प्रतियोगितामा थुप्रै नयाँ खेलाडी देखिए, सदरमुकाममा सीमित फुटबलले समग्र जुम्लाका खेलाडीको प्रतिभा देखाउन सफल भएको छ।
जुम्लामा फुटबल केवल खेल मात्र होइन, भावना, उत्साह र गाउँ समुदायको पहिचानको प्रतीक हो। विगतका दिनहरू सम्झिँदा, फुटबलको नाम सुनिँदा नै ‘झगडा, विवाद र स्थगन’ जस्ता शब्दहरू पनि सँगै आउँथे।
कहिले खेलाडीबीच तर्कवितर्क हुन्थ्यो, कहिले दर्शकबीच विवाद, अनि अन्ततः खेल अधुरो रहन्थ्यो। त्यतिबेला खेलभन्दा बढी विवादको चर्चा चल्थ्यो। तर, अब समय बदलिएको छ, जुम्लाको फुटबल मैदानमा नयाँ सोच, नयाँ अनुशासन र नयाँ उत्साहले ठाउँ पाएको छ।
धेरै वर्षपछि जुम्ला टुडिखेलमा जारी वडा नं. ३ द्वारा आयोजित फुटबल प्रतियोगितामा हालसम्मकै धेरै टिम दर्ता भएका छन्। ४४ वटा क्लबले भाग लिएका खेलमा सानो तिनो विवाद बाहेक हालसम्मका खेलहरू बिना विवाद सम्पन्न भएका छन्।

सम्पन्न हुँदै गरेको फुटबल प्रतियोगिता त्यस परिवर्तनको साक्षी बनेको छ। खेलका क्रममा न त लामो विवाद देखियो, न त अनावश्यक तनाव। बरु खेलमैत्री वातावरणमा सबैले खेलको आनन्द लिएका छन्। खेलाडीहरू मैदानमा आफ्नो सिप, गति र संयम देखाउँदै छन्।

उनीहरूमा जित्ने जोश मात्र होइन, खेल भावना पनि देखिन्छ, जुन खेलको वास्तविक सौन्दर्य हो। हरेक टिमले जितसँगै अनुशासित ढङ्गले आफ्नो टिमलाई बिना विवाद खेल सक्ने तर्फ ध्यान दिइरहेका छन्।
आफ्नो टिमसँगै व्यक्तिगत इज्जतका लागि होस् या गाउँको इज्जतका लागि होस्, आफ्ना खेलकौशल तर्फ मात्र ध्यान दिइरहेका छन्।

दर्शकहरूमा पनि सोच बदलिएको छ। पहिले जस्तो पक्षपातपूर्ण हल्ला, चर्का नाराहरू वा झगडाको माहोल होइन, अहिले दर्शकहरू खेलको आनन्द लिन आएका दर्शकझैँ व्यवहार गर्छन्। उनीहरू आफ्ना मनपर्ने टिमलाई उत्साहपूर्वक हौस्याउँछन्, तर प्रतिस्पर्धीको राम्रो खेल पनि ताली बजाएर स्वागत गर्छन्।
सबै दर्शकको एउटै आवाज छ, ‘खेल खेल, विवाद नगर।’ यस्तो परिपक्व र सकारात्मक दृष्टिकोणले खेलमा रमाइलोपन थपिएको छ।
घण्टौँसम्म बाटोको जालिबाट होस्, घरको छतबाट होस्, गाडीको हुडबाट होस्, घरको कौसीसँगै सानो भेण्टीबाट होस्, पानी परोस् या चर्को घाम लागोस्, हरेक अवस्थामा पनि दर्शकले फुटबल हेरेर मजा लिँदै साथ दिइरहेका छन्।

यतिबेला समग्र जुम्ला फुटबलमय बनेको छ। ४४ क्लबका करिब ६६० खेलाडीले मैदानमा आफ्नो सिप र कला देखाएका छन्। यो प्रतियोगितामा थुप्रै नयाँ खेलाडी देखिए, सदरमुकाममा सीमित फुटबलले समग्र जुम्लाका खेलाडीको प्रतिभा देखाउन सफल भएको छ।
अधिकांश क्लबले सिन्जा क्षेत्रका खेलाडी राखेर खेल खेलेका छन्, जसले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्। आम दर्शकले खेल मन पराइरहेका छन्। यसपाली यो प्रतियोगिताले सिन्जा क्षेत्र, पातारासी, गोठिचौर सहित अन्य ठाउँका खेलाडीको पहिचान दियो, जुन एक महत्वपूर्ण उपलब्धि हो।

फुटबलको यो रूपान्तरणमा आयोजकहरूको भूमिका पनि महत्वपूर्ण छ। खेल व्यवस्थापनदेखि रेफ्रीको छनोट र सुरक्षा व्यवस्था सम्म सबै पक्षमा सुधार भएको छ।
नियमको कडाइका साथ खेल निष्पक्ष रूपमा सञ्चालन गरिँदा, खेलाडी र दर्शक दुवै सन्तुष्ट छन्। आज जुम्लाको फुटबल मैदानमा खेलाडीहरूको छमछमी दौडिरहेका खुट्टाहरू र दर्शकहरूको उत्साहपूर्ण तालीबीच एउटा नयाँ अध्याय लेखिँदैछ, अनुशासन, सम्मान र खेलभावनाको अध्याय।

यो परिवर्तन केवल फुटबलमा होइन, जुम्लाको सामाजिक सोचमा आएको परिपक्वताको प्रतिबिम्ब हो। अब फुटबल यहाँ केवल प्रतिस्पर्धा होइन, एकता र उत्सवको प्रतीक बनेको छ।
साथै यो प्रतियोगिताले बजार क्षेत्रमा रहेका होटल व्यवसायी र यातायात व्यवसायीको आर्थिक चहलपहल पनि वृद्धि गरेको छ। अहिले बजारमा ठूला देखि साना व्यवसायीले फुटबलको प्रत्यक्ष फाइदा लिइरहेका पनि छन्।

यो प्रतियोगितामा अब सेमिफाइनल र फाइनल खेल मात्र बाँकी रहँदा यसलाई विवादरहित सम्पन्न गराउन आम जुम्लाबासी, उद्योग वाणिज्य संघ जुम्ला, सम्पूर्ण खेलाडी, यातायात व्यवसायीसँगै अन्य सबैको जिम्मेवारी तथा सहयोग आवश्यक छ।

जुम्लामा हुने फुटबल प्रतियोगितामा ‘विवाद मात्र हुन्छ, झगडा मात्र हुन्छ’ भन्ने सोचलाई परिवर्तन गर्न अब सबै लागि पर्नुपर्ने देखिएको छ।
आगामी दिनमा हुने प्रतियोगिता सजिलै सम्पन्न हुने वातावरण हामी सबैले मिलाउनु पर्ने हुन्छ। केही बनिसकेको छ, केही बनाउन हामी सबैले सहयोगसँगै सोच परिवर्तन गर्न जरुरी छ।
















