भक्तपुर उपत्यकाभित्र छ। नेपालका ७७ जिल्लामध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर नै हो। जिल्ला सानो भएपनि यहाँ सरकारी, सार्वजनिक, गुठी, ऐलानी, राजपरिवार, हदबन्दी बढी, वनजंगललगायतका जग्गा थुप्रै थियो।
वि.सं. २०४३ असार २ गते मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा मन्त्रिपरिषद् गठन भयो। उनी नेतृत्वको सरकारमा स्व. शैलेन्द्रकुमार श्रेष्ठ परराष्ट्र र भूमि सुधारमन्त्री थिए। परराष्ट्रमन्त्री भएपछि उनले काभ्रेपलाञ्चोक र भक्तपुरको सीमाना पर्ने नगरकोटलाई क्याबिनेटमार्फत पर्यटकीय क्षेत्र घोषणा गराए। नगरकोट भक्तपुर क्षेत्र नम्बर १ अर्थात् चाँगुनारायण नगरपालिकाअन्तर्गत पर्दछ।
पर्यटकीय क्षेत्र घोषणा हुनुअघि यो क्षेत्रमा एक सय आनामा समेत जग्गा बिक्दैनथ्यो भन्नेहरू अझै भेटिन्छन्। तर अहिले यही ठाउँमा जग्गा आनाकै करोडौँ छ। नगरकोटमा स्वदेशीदेखि विदेशी पर्यटकसम्म आउने गरेका छन्। राजनीतिक दल, सरकारी निकायहरूले यहाँ कार्यक्रमसमेत गर्ने गरेका छन्। यदि स्व. शैलेन्द्रकुमार श्रेष्ठले नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा नगरिदिएको भए आज न यहाँ जग्गाको मूल्य बढ्थ्यो, न स्वदेशी–विदेशी पर्यटकहरू त्यहाँ जान्थे।
नगरकोटमा दैनिक हजारौँ पर्यटक पुग्छन्। विभिन्न स्थल घुमफिर गर्छन्। त्यसबापत उनीहरूले चाँगुनारायण नगरपालिकालाई शुल्क तिर्ने गरेका छन्। नगरपालिकाले वार्षिक करोडौँ रकम पर्यटकबाट मात्रै उठाउने गरेको छ।
भक्तपुरमा थुप्रै ऐतिहासिक, सांस्कृतिक मठ–मन्दिर छन्। पाँचतलेदेखि विश्व सूचीमा सूचीकृत धेरै मठ–मन्दिर यहाँ छन्। तर ती मठ–मन्दिर भक्तपुर नगरपालिकाले बनाएको होइन। ०४६ सालअघिको सरकार वा राजाको पालामा बनेको हो। भूमि ऐन २०२१ सालमा राजा महेन्द्रले ल्याएका थिए।
०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो। त्यसको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भए। उनले ०४८ सालमा पहिलो पटक चुनाव गराए। भक्तपुर क्षेत्र नम्बर १ बाट मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनाव जिते। ०५१, ०५६, ०६४, ०७० मा पनि उनैले जिते भने ०७४ र ०७९ मा उनैले उठाएका प्रेम सुवालले चुनाव जिते।
०४६ सालको परिवर्तनपछि विशेषतः भक्तपुर क्षेत्र नम्बर १ मा मजदुर किसान पार्टीको कब्जा छ। सो पार्टीका अध्यक्ष बिजुक्छेँ र सुवालले लगातार चुनाव जितिरहेका छन्। यसरी पटक–पटक चुनाव जितेपनि उनीहरूले भक्तपुरमा सिन्कोसमेत भाँचेका छैनन्। उल्टै भएका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठ–मन्दिर, राजपरिवारको जग्गा आफ्ना कार्यकर्तालाई कब्जा गर्न लगाइरहेका छन्।
भक्तपुरको माटो नेपालकै खेतीयोग्यमध्ये पर्दछ। तर बिजुक्छेँ र सुवालले आफ्नो फाइदा वा भोटका निम्ति प्लटिङ गर्न लगाए भने बाँकी भएको जमिन पनि इट्टा भट्टा सञ्चालन गर्न दिएर उब्जनी नै नहुने खालको बनाइदिएका छन्।
भक्तपुर उपत्यकाभित्र छ। नेपालका ७७ जिल्लामध्ये सबैभन्दा सानो जिल्ला भक्तपुर नै हो। जिल्ला सानो भएपनि यहाँ सरकारी, सार्वजनिक, गुठी, ऐलानी, राजपरिवार, हदबन्दी बढी, वनजंगललगायतका जग्गा थुप्रै थियो। दुर्भाग्य, बिजुक्छेँ र सुवालको मिलिभगतमा ती सबै जग्गा व्यक्तिका नाममा लगिएको छ। भोटका निम्ति यिनीहरूले सरकारी सम्पत्ति आफ्ना कार्यकर्तालाई बाँडे।
०६४ मा भक्तपुर क्षेत्र नम्बर २ मा पनि मजदुर किसान पार्टीले चुनाव जितेको थियो। त्यसअघि वा पछि यहाँ काँग्रेस र एमालेले चुनाव जित्दै आएको छ। क्षेत्र नम्बर २ अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित लिखानारायण मन्दिरको जग्गा एमाले नेता महेश बस्नेतले कब्जा गरेका छन्। सो मन्दिरको हजारौँ रोपनी जग्गामा बस्नेतको रजगज चलिआएको छ। मन्दिर छेउमा बस्नेतले पिकनिक स्पट सञ्चालन गरेका छन्। त्यहाँ पुग्ने एक जनासँग उनका कार्यकर्ताले एक हजार रुपैयाँ असूल्छन्।
गुण्डुमा महेश बस्नेतको गुण्डागर्दी चलिआएको छ। विकासको नाममा वनजंगल जडानी गरिएको छ, जसले जोखिम बढाएको छ। अध्ययन नै नगरी भिरपाखा काटेर बाटो बनाउँदा बस्ती नै जोखिममा परेको छ। यो वडाका अध्यक्ष रविन्द्र सापकोटा र सूर्यविनायक नगरपालिका मेयर वासुदेव थापा पनि एमाले नै हुन्। त्यसकारण यहाँ महेश बस्नेतलाई जेसुकै गर्न पनि छुट भएको छ। गुण्डुको हजारौँ रोपनी सरकारी जग्गामा बस्नेतको रजाइँ चलेको छ। आफूविरुद्ध बोल्नेबित्तिकै उनी गुण्डा लगाएर कुटपिट गर्छन्। त्यसकारण गुण्डुका स्थानीयले बस्नेतको विरोधमा चुइक्कसमेत आवाज निकाल्दैनन्।
भक्तपुर क्षेत्र नम्बर २ मा जतिभन्दा पनि बढी जग्गा प्लटिङ भएको छ, त्यसमा महेश बस्नेतकै लगानी पाइन्छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्र बनेका उनको पृष्ठभूमि केलाउने हो भने खतरनाक गुण्डा हुन्—हप्ता उठाउने।
०७१ सालअघिको सरकारले उपत्यकाबाट इट्टाभट्टा हटाउने, क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो। ०७१ सालमा महेश बस्नेत उद्योगमन्त्री बने। उनले व्यवसायीसँग अर्बौँ घुस बुझेर उपत्यकाबाट इट्टाभट्टा हटाउने र क्रसर उद्योग बन्द गर्ने निर्णय उल्टाएनन् मात्रै, मदिराको लाइसेन्ससमेत खोलिदिए।
भक्तपुरमा सरकारी सम्पत्ति दोहनमा एमाले र मजदुर किसान पार्टी नै प्रमुख भूमिकामा देखिन्छन्। यहाँ जतिपनि सार्वजनिक सम्पत्ति कब्जा भएको छ, त्यो सबै एमाले र मजदुरका कार्यकर्ताले गरेका छन्।
हुन त स्थानीय जनप्रतिनिधि पनि त्यस्तै भए। सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा काभ्रेको साँगास्थित पतञ्जली जग्गा प्रकरणमा मुछिएका छन्। एमालेमा आबद्ध भएकै कारण यस प्रकरणमा उनीमाथि मुद्दा चलेन। उनले भक्तपुरका थुप्रै सरकारी जग्गा एमाले कार्यकर्ताको नाममा लैजान सहयोग पुर्याएको स्थानीयको आरोपसमेत छ।
यस्तै, सूर्यविनायक नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजकुमार जोशीले सुशीलभैरवथान मन्दिरकै जग्गा कब्जा गरेर मन्दिरभन्दा अग्लो घर बनाएका छन्। उनका भाइ र मजदुर किसान पार्टीका कार्यकर्ताले वडा नम्बर ५ को थुप्रै सरकारी जग्गा कब्जा गरेर घर बनाएको पाइन्छ।
सूर्यविनायक नगरपालिका पहिले भाडामा बसेको घर वरपरका सयौँ रोपनी सरकारी जग्गा पनि कब्जा भएको छ। थापा, नेवारलगायत जातजातिका मानिसहरूले त्यहाँ सरकारी जग्गा हड्पेर ठूलाठूला घर ठड्याएका छन्। हाल नगरपालिका रहेको वा छेउको सडक विभाग आसपासका धेरै सरकारी जग्गामा पनि व्यक्तिहरुले घर बनाएका छन्।
यता, भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी आर्मी ब्यारेक, चङ्गा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, हनुमन्ते खोला (सिर्जनानगर) वारिपारि र राधेराधेको भाटभटेनी, निर्माणाधीन १५ तले भवन, इजिवे र बुढाथोकी ड्राइभिङ सेन्टर तथा राजेश हार्डवेयर सञ्चालित जग्गा २०२१ सालमा नापी हुँदा सरकारी, गुठी, ऐलानी भनी लेखिएको थियो।
०२९ सालसम्म यहाँ एउटै घर बनेको थिएन। ०३२ सालमा मजदुर किसान पार्टीका एक कार्यकर्ता सल्लाघारी चौर छेउमा छाप्रो हालेर बस्न थाले। ती व्यक्तिले ०३५ सालमा ढुंगा–माटोले घर बनाए, माथि टायलको छानो हालेर। उनले घर बनाएपछि अन्यले पनि यो जग्गा कब्जा गर्न थाले।
०४६ सालपछि मजदुर किसान पार्टीको यो क्षेत्रमा रजगज चल्यो। उसले ०४६ सालअगाडि आफ्ना कार्यकर्तालाई कब्जा गर्न लगाएको जग्गा बहुदलीय व्यवस्था आएपछि उनीहरुकै नाममा दर्ता गराइदिए। अहिले यहाँ ७६ जिल्लाका जनताले जग्गा किनेर घर बनाएका छन्। यहाँ एक आना जग्गाको मूल्य २५ लाखदेखि करोडौँ छ।
सल्लाघारी चौरअगाडि मजदुर किसान पार्टीका कार्यकर्तासमेत रहेका स्थानीय विकुलाल खिउँजुले ठूलो घर बनाएका छन्, जहाँ किरानादेखि फलफूल, चिया पसल, ब्युटी पार्लरसम्म सञ्चालन भएको छ। १९८० र २०२१ को नक्सा हेर्ने हो भने खिउँजुको घर भएकै ठाउँमा तीनवटा ढुंगेधारा देखिने स्थानीय बताउँछन्। तर उनले ती ढुंगेधारा मासेर घर बनाए र मजदुर किसान पार्टीको आडमा सम्पन्नता प्रमाणपत्रसमेत लिए।
सल्लाघारी तीनकुनेमा राजा महेन्द्रले २०२४ सालमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा किनेका थिए। अहिले यो जग्गा बढीमा ६०–६५ रोपनी मात्र छ। अरू जग्गा व्यक्तिका नाममा गइसकेको छ भने बाँकी भएको जग्गामा समेत भक्तपुर नगरपालिकाको रजाइँ चलेको छ। नेपाल ट्रस्टको स्वामित्वमा रहेको यो जग्गामा नगरपालिका ख्वप विश्वविद्यालय बनाउने र मजदुर किसान पार्टीका कार्यकर्ताका छोराछोरीलाई मात्र पढाउने दाउमा छ। सरकारले कुनै पनि हालतमा यो जग्गा भक्तपुर नगरपालिकालाई दिनुहुँदैन।
यसरी दुई राजनीतिक दल (एमाले र मजदुर किसान पार्टी) ले भक्तपुरलाई सिध्याए। यहाँको सरकारी सम्पत्ति सबै दोहन गरे। अब सुशीला कार्की नेतृत्वको सरकारले नारायणमान बिजुक्छेँ, प्रेम सुवाल, मेयर सुनिल प्रजापति, वासुदेव थापा, एमाले नेता महेश बस्नेतलगायतलाई कारबाही गर्नुपर्छ र व्यक्तिका नाममा गएका सरकारी जग्गा पुनः राज्यकै स्वामित्वमा ल्याउनुपर्छ।
– रुषा थापा, भक्तपुर














