पटक–पटक उजुरी पर्दापनि अख्तियार र सम्पत्ति शुद्धिकरणले कारबाही नगर्नुको कारण के? गम्भीर प्रश्न उठेको छ।
राजश्व छल्ने, सरकारी सम्पत्ति दोहन गर्ने र गैरकानुनी माध्यमबाट अन्कुत सम्पत्ति कमाउनेहरूविरुद्ध उजुरी हाल्न र कारबाहीको दायरामा ल्याउन यतिबेला जेनजीहरू लागिपरेका छन्। उनीहरूले हालसालै मात्र बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका मालिक सुलभ अग्रवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
तर, जेनजीले के बुझ्न जरुरी छ भने अख्तियारमा उजुरी दिनु व्यर्थै छ। किनकि अख्तियार देखाउनका लागि मात्र खडा गरिएको निकाय हो। न त्यसले उजुरीमाथि छानबिन गर्छ, न त भ्रष्टाचार गर्नेमाथि कारबाही। अख्तियारले काम गर्दैन भन्ने पुष्टि गर्नका लागि काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको उदाहरण नै काफी हुन्छ।
सो सहकारीविरुद्ध अख्तियारदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म उजुरी परेको छ। तर, दुवै निकायले उजुरी लिन्छन्, दर्ता नम्बर दिन्छन् अनि दराजमा थन्काइदिन्छन्। सिन्सियरविरुद्ध पहिलो पटक २०७९ चैत ८ गते अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी परेको छ। अख्तियारमा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०४८८०९ रहेको छ।
त्यसैगरी सोही दिन सम्पत्ति शुद्धिकरणमा पनि उजुरी परेको देखिन्छ। उजुरीको दर्ता नम्बर ४४५५ रहेको छ। उजुरीमा सिन्सियरको ठगी धन्दाको नालीबेली उल्लेख गरिएको छ। त्यस्तै, सिन्सियरविरुद्ध २०८० साउन २८ गते अर्को उजुरी परेको छ।
‘सम्पत्तिको छानबिन गरिपाऊँ’ भन्दै परेको उजुरीको दर्ता नम्बर सी–००८०६२ रहेको छ। उनीहरूले कर्जावालसँग घुस खाएर अन्कुत सम्पत्ति जोडेको भन्दै छानबिनका लागि अख्तियारको ध्यानाकर्षण गराइएको छ।
पछिल्लोपटक २०८१ कात्तिक २५ गते उजुरी परेको छ। जसको दर्ता नम्बर सी–०२७४८५ रहेको छ। उजुरीमा भनिएको छ, ‘यो संस्थामा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारीलगायतले आफ्नो कालोधन लुकाएका छन्।’ पटक–पटक उजुरी पर्दापनि अख्तियार र सम्पत्ति शुद्धिकरणले कारबाही नगर्नुको कारण के? गम्भीर प्रश्न उठेको छ।
अख्तियार र सम्पत्ति शुद्धिकरण अवैध तरिकाले पैसा कमाउनेविरुद्ध उजुरी दिनु भन्छन्। तर, उजुरी दिँदापनि छानबिन र कारबाही गर्दैनन्। त्यसो त अख्तियार र सम्पत्ति शुद्धिकरण राख्नुको औचित्य के? आफ्ना कार्यकर्ता भर्ती गर्न र जनताले तिरेको कर सकाउन मात्र यी निकाय खोलेको हो र?
सिन्सियरका पदाधिकारीदेखि कर्मचारीसम्मले अवैध तरिकाले अन्कुत सम्पत्ति कमाएका छन्। उनीहरूको नामै किटेर उजुरी दर्ता भएको छ। तैपनि, छानबिन गर्न केले रोक्यो? सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको आज अर्बौंको सम्पत्ति छ। एउटा सहकारीको अध्यक्ष भएको केही वर्षमै त्यत्रो सम्पत्ति जोड्न सम्भव छ?
कार्यकारी निर्देशक राजेश खड्का करोडपतिमा गनिन्छन्। हिजो साइकल चढेर पैसा उठाउन बजार धाउनेले दशौँ करोडको सम्पत्ति जोड्न सक्छ? कर्जा अधिकृत मीरा कर्माचार्यले नै सिन्सियरमा काम गरेर करोडौं कमाएकी छिन्। कर्जा अधिकृतको तलब कति नै हुन्छ र, करोडौंको मालिक बन्नलाई?
ऋणीलाई सुकुम्बासी बनाएर उनीहरूले सम्पत्ति जोड्ने, अनि सरोकारवाला निकायचाँहि हेरेर बस्ने? सहकारी विभाग सिन्सियरको अगाडि किन निरीह? सिन्सियरले एक करोडको धितो राखेर ६० लाख रुपैयाँ ऋण दिन्छ। त्यसमा १० लाख त घुसै खाइदिन्छ। ३० लाखको ट्याक्सी धितो राखेर १८ देखि २० लाख कर्जा दिइन्छ।
२७ हजार त घुस नै खान्छन्। १४ देखि १६ प्रतिशत ब्याज भनेर ८० प्रतिशत ब्याज असुलिन्छ। कर्जा दिने बेलामा एक प्रतिशत सेवाशुल्क लिइन्छ। नवीकरणको नाममा वर्षैपिच्छे एक प्रतिशत र कर्जा चुक्ता गर्दापनि एक प्रतिशत सेवाशुल्क असुलिन्छ। ऋण दिनुअगावै नेपाली कागज र फोटोकपी पेपरमा बूढी औंलाको ल्याप्चे र हस्ताक्षर गरेर राखिन्छ।
ऋणी नै उपस्थित नभईकन धितो आफ्नो नाममा लैजान्छ। ऋणीले तिरेको किस्ता साँवामा नघटाइकन बचत खातामा लगेर हालिन्छ। बीमा गराएर कमिशन खान्छन्। हजारौंलाई ठगेर सिन्सियरका तीन हर्ताकर्ता मोटाएका छन्। सिन्सियर कालोधनको अखडा हो। राजनीतिक दल, राजश्व छली, भ्रष्टाचारको पैसा त्यहाँ छ।
तर, यो सहकारीमाथि अनुसन्धान गर्ने आँट कसैसँग छैन। लेखेरै दिँदा पनि कारबाही हुँदैन भने कसरी राजश्व उठ्छ? भ्रष्टाचार कसरी अन्त्य हुन्छ? बैंकमा १० लाख रुपैयाँभन्दा माथि पैसा राख्दा स्रोत देखाउनुपर्छ। यद्यपि सहकारीमा पर्दैन। जसको फाइदा सिन्सियरजस्ता संस्थालाई भएको छ।
राजधानीको मुटुमा बसेर बचतकर्ता र ऋणीलाई ठगिरहँदा सरकार नै आँखा चिम्लेर बसेपछि कसको के लाग्छ? ‘सानालाई ऐन, ठूलालाई चेन’ किन भनिएको रहेछ भन्ने कुरा सिन्सियरबाट प्रष्ट हुन्छ। अख्तियारका प्रमुख प्रेम राई, सम्पत्ति शुद्धिकरणका महानिर्देशक गजेन्द्रकुमार ठाकुर र सहकारी विभागका रजिष्टार उमेश ढुंगानालाई सर्वसाधारण सोध्छन्– सहकारी खोलेर हजारौंलाई विस्थापित बनाउँदा र दुनियाँलाई लुट्दा आँखामा कालोपट्टी बाँधेर बस्नुको कारणचाँहि के?
















