भ्रष्टाचार र सरकारी उदासीनताले जनतामा भरोसा हराउँदै गएको छ। पीडितलाई राहतभन्दा पनि विज्ञप्ति र औपचारिक बयानमा सीमित हुने प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको छ।
नेपालको सामाजिक र राजनीतिक परिदृश्यमा नयाँ पुस्ता जेनेजी पुस्ताले फरक दृष्टिकोण र स्पष्ट आवाज उठाउँदै आएको छ। तर यही पुस्ता राज्यको अन्याय र दमनको शिकार बनेपछि आमाको कोख रित्यिएको घटनाले देशलाई स्तब्ध बनाएको छ। पीडा व्यक्तिगत मात्र नभई समग्र समाज र राष्ट्रव्यवस्थाको असफलताको प्रतिबिम्ब बनेको छ।
सन्तान गुमाएकी आमाको आँसु केवल निजी दुख होइन, यो नेपालमा व्याप्त असमानता, बेवास्ता र असक्षम शासनको प्रमाण हो। ग्रामीण क्षेत्रमा अस्पतालमा औषधि र विशेषज्ञको अभाव, आपतकालीन उपचारमा ढिलाइ, विद्यालयमा शिक्षक अनुपस्थिती र न्याय प्रक्रियामा ढिलासुस्ती, यी सबैले आमाको पीडालाई अझ गहिरो बनाएका छन्।
भ्रष्टाचार र सरकारी उदासीनताले जनतामा भरोसा हराउँदै गएको छ। पीडितलाई राहतभन्दा पनि विज्ञप्ति र औपचारिक बयानमा सीमित हुने प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको छ। सत्ता र कुर्सीको मोहमा रमाउने सरकार आमाको आँसु र युवाको आवाज सुन्ने प्रयाससम्म नगरेको आलोचना जनतामाझ तीव्र छ।
तर आजको जेनेजी पुस्ता मौन छैन। उनीहरूले सडक र डिजिटल दुनियाँ दुवैलाई आन्दोलनको शक्तिशाली माध्यम बनाएका छन्। सामाजिक सञ्जालमार्फत सरकारी असफलता उजागर गर्ने, तथ्यांक साझा गर्ने र व्यंग्यपूर्ण तर प्रभावकारी टिप्पणीमार्फत सचेतना फैलाउने कार्य उनीहरूको दैनिकी बनेको छ।
विद्यार्थी नेताहरूले विद्यालयमा शिक्षक अनुपस्थितिको विरोधमा अभियान चलाएका छन् भने महिला अधिकार समूहहरूले कानुनी ढिलासुस्तीविरुद्ध डिजिटल आन्दोलन गरेका छन्। यसरी विरोध मात्र नभई व्यवहारिक र समाधानमुखी कदम चालेर नयाँ पुस्ताले आफ्नो जिम्मेवारी र चेतना देखाएका छन्।
राजनीतिक नेतृत्वलाई यो ठूलो चेतावनी हो। यदि सरकारले अब पनि नागरिकलाई सेवा, युवालाई अवसर र पीडितलाई न्याय दिन सकेन भने, आमाको आँसु र युवाको आक्रोश बाढीझैँ उम्लने खतरा छ। तर यदि उनीहरूको ऊर्जा, नवप्रवर्तन र आलोचनात्मक दृष्टिकोणलाई स्वीकार्न सकियो भने यही शक्ति राष्ट्र निर्माणको आधार बन्न सक्छ।
“मारिए जेनेजी, रित्याइयो आमाको कोख” भन्ने घटना केवल व्यक्तिगत शोक होइन, राष्ट्रव्यापी चेतावनी हो। यसले राज्यलाई जिम्मेवारी र संवेदनशीलताको पाठ पढाएको छ। आमाको आँसु इतिहासले कहिल्यै बिर्सँदैन, र राज्यले यसको दायित्व लिनै पर्छ।














