बिहीबार, ११ असार, २०८३

पूर्व राजाले फेरि राजगद्दी ग्रहण गरे भने !

तपाईं किन बारम्बार व्यवस्था फेर्न अनेकौं संघर्ष गर्नुहुन्छ? जनताको नाम बेचेर स्वतन्त्रताको निम्ति किन युग देखि युग सम्म रगतको खोला बगाउनु हुन्छ? कहिले देख्नु भयो र जनता थिचिएको? जनता मिचिएको? जनता त यसै खुसी थिए, त्यसै खुसी थिए। तपाईंले भनेर हुन्छ र?

तपाईं किन बारम्बार व्यवस्था फेर्न अनेकौं संघर्ष गर्नुहुन्छ? जनताको नाम बेचेर स्वतन्त्रताको निम्ति किन युग देखि युग सम्म रगतको खोला बगाउनु हुन्छ? कहिले देख्नु भयो र जनता थिचिएको? जनता मिचिएको? जनता त यसै खुसी थिए, त्यसै खुसी थिए। तपाईंले भनेर हुन्छ र?

जनता पिल्सिएका छन्। जनता लुटिएका छन्। तपाईंले भने जस्तो केही भएको छैन। जनता त कति खुसी थिए कति। तपाईंले यो के व्यवस्था ल्याउनु भयो? जसको कारणले गर्दा आज जनताको सास रोकिएको छ। तपाईंले आफ्नो ज्यान आहुती दिएर किन धेरै बोल्ने व्यवस्था ल्याउनु भयो? तपाईंले किन स्वतन्त्रता हुने व्यवस्था ल्याउनु भयो?

हामीलाई त त्यहीँ पिंजडा नै स्वर्ग थियो। चाहिँदैन हामीलाई धेरै बोल्न पाउने व्यवस्था। मन छैन मुलुक द्रुत गतिमा अघि बढेको हेर्न। तपाईंले किन यति ठूलो अपराध गर्नु भयो? मलाई उज्यालोमा ल्याएर। म त बन्द कोठामै सुरक्षित थिएँ।

मलाई त उज्यालो होइन, अँध्यारो युग मन पर्छ। तपाईंले नयाँ युग ल्याएर हुन्छ र? किन कष्ट गर्नुहुन्छ? इतिहासमा पटक पटक संघर्ष गरेर व्यवस्था परिवर्तन गर्न किन जरुरी ठान्नुहुन्छ? हामीलाई अँध्यारो मनपर्छ। अँध्यारोमै रहन दिनुस्।

हामीलाई हाम्रो व्यवस्था विरुद्ध कलम चलाएपछि जेलमा राखिन्छ। यो भन्दा खुसी के छ र? हामीलाई राजगद्दीमा बसेका बडेमानका मान्छेले पटकपटक निरङ्कुश शासन गर्दछन्। यो भन्दा सौभाग्यको कुरा अर्को के छ र दुनियाँमा?

यस्तो स्वर्णिम युगबाट बाहिर निकाल्न खोज्ने तपाईं महाअपराधी हो। हामी यो तन्त्रको घेराबन्दीमा सुरक्षित छौं।तपाईं किन खुला मैदानमा हामीलाई छोड्नको निम्ति मरिहत्ते गर्नुहुन्छ?हामीलाई त कालो युग मनपर्छ। उज्यालो युग होइन।

के तपाईंलाई विश्वास लाग्दैन? अब नारायणहिटी संग्रहालय पुनः राजदरबारमा परिणत हुन्छ भनेर। जनताको लोकतान्त्रिक व्यवस्था ढल्ने छ। लोकतन्त्रले वर्षौंदेखि उपेक्षित बनाएका समुदायहरुलाई दरबारले पुनः न्याय दिनेछ।

दलित,जनजातिहरुलाई सबैभन्दा सर्वश्रेष्ठ अधिकार प्राप्त गर्ने समुदाय भनेर अग्र स्थानमा राखिनेछ। चोक चोकमा दरबार विरुद्ध बोल्नेहरुलाई उपाधि सहित सम्मान गरिनेछ।

तपाईं एकपटक दरबारको विरोध मात्र गर्नुस्। तपाईंले धेरै सेवा सुविधा पाउँनु हुनेछ। जसमा फाँसीको,जेल यातनाको, गुप्त हत्याको, नजरबन्दको, गोली प्रहारको जस्ता तमाम सुविधा।यति सुविधा हुँदाहुँदै तपाईँलाई किन चाहियो गणतन्त्र अनि लोकतन्त्र?

अब राजा आउने छन् र देश बनाउने छन्। राजतन्त्रले विगत २४० वर्षसम्म शासन गरेर संसारकै सबै भन्दा विकसित बनाएको थियो। लोकतन्त्र आएर जनताले शासन गरी ध्वस्त गरे। फेरि विगतमा जस्तै विकसित र समृद्ध देश बनाउन राजा आउने छन्।

तपाईं पनि भन्नुस् न यार ‘राजा आऊ देश बचाऊ’ घरदेखि सडकसम्म, सडकदेखि सदनसम्म। भन्नुस्, जसरी पनि भन्नुस् ‘राजा आऊ देश बचाऊ’ राजाले गरेको विकास देख्न नसकेर गणतन्त्र आयो लोकतन्त्र आयो सायद।

तपाईं किन पत्याउनु हुन्न? मरेर घाटमा पुगेको मान्छे फेरि मलामी सँगै घर फर्किन्छ भनेर। तपाईंले सोच्नुभएको होला मृत्युु सत्य छ, कहाँ छ मृत्यु सत्य? यदि मृत्यु सत्य हुन्थ्यो भने किन मरेको तन्त्र फर्केर आउथ्यो र? तपाईं मृत्यु ध्रुबसत्य भन्ने भ्रम बिर्सनुहोस् आजैदेखि। किनकि अब राजतन्त्र आउँदै छ। एक मरेको तन्त्र।

देख्नु भएन सडकमा ‘राजा आऊ देश बचाऊ’ भनेको। हो अब आउने छन् राजा बचाउने छन् यो देश। तपाईं ढुक्क हुनुस् । राजा आउने छन् र राजगद्दी समाल्ने छन्। देशलाई रातारात मालामाल बनाउने छन्। नारायणहिटी खाली त गर्नुस्, माटो सुन बन्नेछ। पानी अमृत बन्नेछ।

यो देश आँखाको एक झिम्काइमा स्वर्गमा परिणत हुनेछ। यो एउटा मैले देखेको एक सपना हो,यस्ता सपनाहरू सपनामा मात्रै सिमित हुन्छन् फेरि भन्नुहोला सपना त साकार पनि हुन्छन्।

हेर्नुस्, यो सपना भनेको घाटमा खरानी भएर देखेको सपना हो। केही समयसम्म केही अवशेष त बाँकी रहलान् विडम्बना विस्तारै विस्तारै यी खरानीका अवशेषहरु पनि हावाले उडाउनेछ छिटै विलीन हुनेछ। घाटमा देखेका सपनाहरू।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार