आईतवार, २८ असार, २०८३

गाई पूजा

गाई आमा हुन्, किनकि जसको दूध खाइन्छ, ती आमा हुन्। अन्न उत्पादन गर्ने गोरु पिता समान भएकाले उनीहरूको सम्मान गरिएको हो।

गाई, लक्ष्मी, अमृत र धन्वन्तरी यी चार समुद्रले दिएका सम्पत्ति हुन्। गाई र लक्ष्मी समुद्रकी पुत्री भएकाले गाईलाई लक्ष्मी पनि भनिन्छ। गाई पहिलो पटक ईसा पूर्व ९९९५ मा ऋषि वशिष्ठले पाएका हुन्। गाई वध गर्न नमिल्ने भएकाले यसलाई अघ्न्या भनिन्थ्यो।

ऋषि वशिष्ठले चार प्रजातिका गाई उत्पादन गरेका थिए। त्यस समयमा गाई अरू कसैले पाएका थिएनन्। त्यसैले तत्कालीन राजा विश्वामित्र र ऋषि वशिष्ठबीच गाईका कारण युद्ध भयो।

उक्त युद्धमा पाँच आर्य राजा र पाँच लघु राजा (जनजाति राजा) गरी दश राजाले भाग लिएका थिए, जसलाई दशराज युद्ध भनिन्छ। दशराजका प्रमुख विश्वामित्र थिए। अन्ततः ऋषि वशिष्ठको विजय भयो।

त्यसपछि दशराजका प्रमुख विश्वामित्रले आफ्नो पद त्यागेर ऋषि बने र वरुण नदीको किनारमा तपस्या गर्न बसे। पुनः आठ वसुले वशिष्ठका गाई चोरी गरेकाले वशिष्ठले उनीहरूलाई मानव योनीमा जन्म लिनुपर्ने श्राप दिएका थिए।

त्यसपछि माता गङ्गाले वसुहरूको उद्धार गर्न शान्तनुकी पत्नी बनेर आठ वसुलाई जन्म दिइन्। तर सात वसुलाई जन्मिनेबित्तिकै नदीमा बगाइदिइन् र एक वसुलाई शान्तनुसँगै छोडिदिइन्, जसलाई महाभारतका भीष्म पितामह भनिन्छ।

वैदिक कालमा एक राज्य र अर्को राज्यबीच गाईका कारण युद्ध हुने गर्दथ्यो। गाईलाई धन मानिन्थ्यो। गाई खोसेर लैजानका लागि युद्ध हुने गर्थे। गाई युद्धकै क्रममा विस्पलाले आफ्नो खुट्टा गुमाउनुपरेको थियो। पछि अश्विनीकुमारहरूले उनलाई फलामको खुट्टा दिएका थिए।

महाभारतकालमा पाञ्चाल र द्रोणबीच पनि गाई युद्ध भएको थियो। यही विवादका कारण पाञ्चालले उत्तरी पाञ्चाल द्रोणलाई दिनुपरेको थियो। हस्तिनापुर र विराट राज्यबीच पनि गाई युद्ध भएको थियो।

ऋषि जमदग्नि र राजा सहस्रार्जुनबीच गाई युद्ध भएकै कारण परशुरामले अवतार लिनुपरेको थियो। विभिन्न आश्रमहरूमा हजारौँ गाई पालन गरिएको इतिहास पाइन्छ।

यसबाट गाईको महत्व र पवित्रता स्पष्ट हुन्छ। राज्यले दिने दण्ड–जरिवाना पनि गाईको सङ्ख्याका आधारमा तोकिन्थ्यो। गाईलाई धन भनिन्थ्यो। राज्यको कोषसमेत गाईको सङ्ख्याले निर्धारण हुने भएकाले गाई पूज्य मानिएकी हुन्।

अर्कोतर्फ, गाईको उत्पादन भएपछि कृषि युगको सुरुवात भयो। गोरुले जोत्न, गाडा तान्न, दाइँ गर्न तथा मल दिन थालेपछि कृषि युगको विकास भयो।

त्यसैले अन्न उत्पादन गरेर मानवको पालनपोषणमा योगदान दिने गोरुलाई पिता समान मानिन्छ। गाईले दूध तथा दुग्धजन्य पदार्थ प्रदान गरी शरीरलाई पोषण दिने भएकाले गाईलाई आमा समान मानिएको हो।

सनातन मान्यताअनुसार जसले जगतका लागि आफ्नो योगदान वा आहुति दिन्छ, त्यसको पूजा गर्ने परम्परा रहेको पाइन्छ। सूर्यले प्रकाश दिएर जगतका लागि आहुति दिने भएकाले सूर्यदेव भनियो।

नदीले निरन्तर जलप्रवाह गरी प्राणी जगतको प्यास मेटाउनुका साथै अन्नबाली उत्पादनमा योगदान दिने भएकाले जलदेवता भनियो। काँचो खाना पकाउने, ताप दिने तथा जीवनका लागि उपयोगी हुने अग्निलाई अग्निदेव भनियो।

प्राणी र वनस्पतिको जीवन सञ्चालन गर्ने वायुलाई वायुदेव अर्थात् वरुणदेव भनियो। त्यसैगरी, मानव जीवनलाई दूध, दही तथा दुग्धजन्य पदार्थद्वारा पोषण दिने र धनका रूपमा समेत प्रयोग हुने भएकाले गाईलाई लक्ष्मीका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा रहिआएको छ।

गाई आमा हुन्, किनकि जसको दूध खाइन्छ, ती आमा हुन्। अन्न उत्पादन गर्ने गोरु पिता समान भएकाले उनीहरूको सम्मान गरिएको हो।

गाई र लक्ष्मी दुवै समुद्रबाट प्राप्त भएकाले गाई र लक्ष्मी दिदीबहिनी हुनुका साथै धनका प्रतीक पनि मानिन्छन्।

त्यसैले गाईलाई लक्ष्मीका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा बस्यो। यही परम्पराका आधारमा गाई पूजा गर्ने दिनलाई गाई तिहारका रूपमा मनाइँदै आएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार