आईतवार, २८ असार, २०८३

गणेश नेपालीको आत्मदाह र भुइँमान्छेको नियति

काठमाडौँको मेयर रहँदा आफ्नो पदीय मर्यादा विपरीत ट्राफिक चेकिङको क्रममा सरकारी गाडी रोकिएको निहुँमा सिधै देशको प्रशासनिक केन्द्र सिंहदरबार नै जलाइदिने जस्तो गैरजिम्मेवार र उत्तेजक धम्की दिएर कानुनको खिल्ली उडाउने काम उनीबाट भएको थियो।​

नेपाली राजनीतिको रङ्गमञ्चमा परम्परागत राजनीतिक दलहरूको असफलता र जनअपेक्षामाथिको निरन्तर प्रहारले सिर्जना गरेको चरम निराशाको जगमा एउटा नयाँ शक्तिको उदय भयो। यो शक्ति कुनै लामो राजनीतिक, वैचारिक संघर्ष, ऐतिहासिक आन्दोलन वा दार्शनिक मार्गचित्रको जगमा उभिएर आएको थिएन; बरु यो त आधुनिक प्रविधिको उपज र सामाजिक सञ्जालको क्षणिक एल्गोरिदमको लहरमा सवार भएर सतहमा आएको परिघटना मात्रै थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ राजनीतिक शक्तिहरू पुराना दलहरू र तिनका नेतृत्व वर्गप्रति आम नेपाली जनतामा वर्षौंदेखि सञ्चित रहेको तीव्र आक्रोश र असन्तुष्टिको भावनालाई भजाएर स्थापित भएका हुन्। कुनै पनि लोकतान्त्रिक र सचेत समाजमा नयाँ राजनीतिक विकल्पको खोजी हुनु, जनताले आफ्नो मताधिकारको प्रयोगलाई परिवर्तन गर्नु र नयाँ शासक तथा व्यवस्थाको छनोट गर्नु पूर्ण रूपमा सान्दर्भिक र स्वाभाविक प्रक्रिया मानिन्छ।

तर इतिहास साक्षी छ कि जब समाजले आवेग र आक्रोशको भरमा आफ्ना नयाँ नायकहरू अगाडि बढाउँछ, तब ती नायकहरूको गम्भीर राजनीतिक चरित्र, चिन्तन र सामाजिक संवेदनशीलताको मिहीन अध्ययन गर्न ढिलाइ गर्नु हुँदैन। उत्तेजना, आरोप-प्रत्यारोप, गालीगलौज र सतही भावनाको जगमा उदाएका यी नयाँ राजनीतिक नेतृत्वहरूसँग नेपाली समाजको विविधतापूर्ण सामाजिक बनोट, यसको गहिरो सामाजिक न्यायको आवश्यकता र दीर्घकालीन वैचारिक, राजनीतिक सिद्धान्त वा दर्शनको सर्वथा अभाव देखियो।

उनीहरूका विचार र व्यवहारमा समाजलाई डोर्‍याउने ठोस नीतिभन्दा पनि केवल क्षणिक लोकप्रियता हासिल गर्ने र सामाजिक सञ्जालका पर्दाहरूमा चर्का, आक्रोशित शब्दहरूको प्रयोग गरेर नयाँ पुस्तालाई उत्तेजित बनाउने रणनीति मात्रै हावी रह्यो।

यसै पृष्ठभूमिमा सामाजिक सञ्जालको ठूलो फ्यान फलोइङलाई आफ्नो मुख्य शक्ति बनाएर काठमाडौँ महानगरको नेतृत्वमा पुगेका र हाल देशको कार्यकारी प्रमुखका रूपमा स्थापित प्रधानमन्त्री बालेन्द्र शाहको राजनीतिक उदय र कार्यशैली यस उथलपुथलको सबैभन्दा ठूलो कारक र उदाहरण बन्न पुग्यो। काठमाडौँको मेयर रहँदा आफ्नो पदीय मर्यादा विपरीत ट्राफिक चेकिङको क्रममा सरकारी गाडी रोकिएको निहुँमा सिधै देशको प्रशासनिक केन्द्र सिंहदरबार नै जलाइदिने जस्तो गैरजिम्मेवार र उत्तेजक धम्की दिएर कानुनको खिल्ली उडाउने काम उनीबाट भएको थियो।

यो राजनीतिक उथलपुथल र ध्वंसात्मक मनोविज्ञानको विकासमा उनको सबैभन्दा ठूलो र निर्णायक भूमिका रहेको तथ्य छिपेको छैन। देशमा विकसित भएको जेन्जी अर्थात् नयाँ युवा पुस्ताको विद्रोह सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता लोकप्रिय मुद्दाहरूको जगमा उभिएको भए तापनि यसलाई पर्दापछाडिबाट निर्देशित र परिचालित गर्ने मुख्य पात्र स्वयं वर्तमान प्रधानमन्त्री नै थिए।

बन्द कोठाभित्र बसेर सामाजिक सञ्जालमा निरन्तर उत्तेजक र आक्रोशित स्टाटसहरू लेख्दै युवा मानसपटललाई उत्तेजनाको दिशामा धकेल्ने काम निरन्तर रूपमा भयो। देश र समाजको भू-राजनीतिक अवस्था र सामाजिक संवेदनशीलताप्रति अनभिज्ञ रहेका अबोध बालबालिका र किशोर-किशोरीहरू यस्तै सस्तो आकर्षण र उच्छृङ्खलताको केन्द्रमा समाहित हुन पुगे।

यसैको घातक परिणामस्वरुप राष्ट्रको भविष्य मानिएका झन्डै साठी-सत्तरी जना निर्दोष तथा अनजान किशोर-किशोरीहरूले सडकमा आफ्नो अमूल्य ज्यान गुमाउँदै शहादत प्राप्त गर्नुपर्ने परिस्थिति सिर्जना भयो, जसको बलमा देशमा ठूलो राजनीतिक सत्ता परिवर्तन र उथलपुथल त भयो तर देशले अपूरणीय क्षति व्यहोर्नुपर्‍यो।

त्यो विद्रोह मानव जीवनको क्षतिमा मात्र सीमित रहेन, बरु आक्रोशको त्यो व्यवस्थापनहीन भेलले देशका महत्त्वपूर्ण राष्ट्रिय संरचनाहरू जस्तै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र न्यायको सर्वोच्च धरोहर सर्वोच्च अदालत लगायतका कयौँ ऐतिहासिक राष्ट्रिय संरचनाहरू जलाएर खरानी बनाउने काम गर्‍यो। एक-दुई दिनकै अन्तरालमा देशले अर्बौँ-खर्बौँ रुपैयाँ बराबरको भौतिक र आर्थिक क्षति बेहोर्नुपर्‍यो र यो सम्पूर्ण ध्वंसात्मक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न तथा त्यसलाई दुरुत्साहन गर्ने पात्रहरू नै आज देशको सत्ताको बागडोर सम्हाल्ने ठाउँमा निर्वाचित प्रतिनिधि भएर विराजमान छन्।

यद्यपि सडकमा ओर्लिएका ती निर्दोष जेन्जी युवा पुस्ताको वास्तविक मकसद र चाहना देशको विनाश वा राष्ट्रिय संरचनाहरूको ध्वंस गर्नु कदापि थिएन। उनीहरूको मूल माग त वैदेशिक रोजगारको दलदलमा फसिरहेका लाखौँ नेपाली युवाहरूलाई स्वदेशमै मर्यादित रोजगारीको अवसर सिर्जना गर्नु, भ्रष्टाचारको पूर्ण अन्त्य गरी सुशासन कायम गर्नु र देशमा अमनचयन, शान्ति-सुरक्षा तथा सामाजिक न्यायको प्रत्याभूति गराउनु मात्रै थियो।

तर विडम्बनाको कुरा के भयो भने ती अबोध युवाहरूको स्वच्छ र न्यायपूर्ण विद्रोहलाई विनाश र ध्वंसको बाटोमा डोर्‍याउने र त्यसको बलमा आफ्नो राजनीतिक दुनो सोझ्याउने काम अर्कै स्वार्थी शक्ति केन्द्रबाट हुन पुग्यो। विगतको सरकारका कैयौँ गल्ती, कमजोरीहरू र बेथितिहरू थिए जसमाथि प्रश्न उठ्नु जायज थियो, तर तत्कालीन नेतृत्वले गरेका ती गल्तीहरूको मूल्य जेन्जी विद्रोहमा मारिएका अबोध बालबालिकाहरूको रगतसँग साटियो र आज त्यही विद्रोहको जगमा बनेको यो शक्तिशाली सरकार सत्तामा आइसकेपछि देशको वास्तविक तस्बिर झन् भयावह बन्न पुगेको छ।

वर्तमान शक्तिशाली सरकार गठन भइसकेपछि पनि देशका भुइँमान्छेहरूको नियतिमा कुनै तात्त्विक परिवर्तन आउन सकेन, बरु उल्टै राज्यको आतङ्क र दमनका कारण सुकुम्बासी र निम्नवर्गीय श्रमजीवी नागरिकहरू आत्मदाह जस्तो आत्मघाती निर्णय लिन बाध्य पारिएका छन्। यसैको पछिल्लो र उधुम दर्दनाक उदाहरण हुन् मुगु जस्तो विकट र पिछडिएको दुर्गम जिल्लाबाट राजधानी काठमाडौँ आएर आफ्नो पसिना बगाउँदै पठाओ चलाएर गुजारा गरिरहेका श्रमजीवी युवा गणेश नेपाली।

काठमाडौँको सडकमा आफ्नो र आफ्नो परिवारको जीवन धान्नका लागि अहोरात्र खटिने गणेश नेपाली जस्ता हजारौँ युवाहरू आज राज्यको तल्लो तहका सुरक्षा संयन्त्र र महानगरको क्रूर प्रहरी प्रशासनको ज्यादतीको सिकार भइरहेका छन्। एउटा सामान्य श्रमजीवी नागरिकले आफ्नो दैनिक रोजीरोटीका लागि चलाउने मोटरसाइकललाई निषेधित ठाउँमा पार्किङ गरेको विषयलाई लिएर महानगरका नगर प्रहरीसँग उनको सामान्य भनाभन र वादविवाद हुनु र सो विवाद चर्किएर महानगरका प्रहरीहरूले अत्यधिक क्रोधित भई उनलाई धम्काउनु तथा दुवै पक्ष आक्रामक बन्नु आफैँमा एउटा व्यवस्थापकीय कमजोरी थियो।

तर हद त त्यतिबेला नाघ्यो जब महानगरका नगर प्रहरीहरूले उनको आत्मसम्मानमा ठेस पुर्‍याउँदै उनको कमाइखाने भाँडो अर्थात् मोटरसाइकलको ह्विलमा जबर्जस्ती लक लगाइदिए। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार सोही समयमा त्यहाँ उपस्थित अर्का एक प्रहरी कर्मचारीले थप आक्रोशित हुँदै गणेश नेपालीको गालामा जोडले झापड हानेपछि उनको बाँच्ने इच्छा र राज्यप्रतिको भरोसा पूर्ण रूपमा टुट्न पुग्यो।

चरम आत्मग्लानि, मानसिक तनाव र अपमानको त्यो पराकाष्ठा सहन नसकी उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गर्दा पनि त्यहाँ उपस्थित सुरक्षाकर्मी र सरकारी संयन्त्रले उनलाई बचाउने कुनै मानवीय तत्परता देखाएनन्।

राज्यका सुरक्षाकर्मीहरू मूकदर्शक बनिरहेको त्यो विभत्स समयमा स्थानीय सर्वसाधारण नागरिकहरूले आफ्नो ज्यानको बाजी लगाएर पानी र कपडाको प्रयोग गरी आगो निभाउन सफल भएका थिए; तर त्यतिबेलासम्म पेट्रोलको तीखो आगोले उनको शरीरको ५५ देखि ६० प्रतिशत भाग गम्भीर रूपमा जलाइसकेको थियो। पेट्रोलको माध्यमबाट लागेको आगोले बाहिरी छाला मात्र जलाउँदैन, बरु यसको ग्यास र तापक्रमले मानिसको श्वासप्रश्वास प्रणाली र भित्री फोक्सोमा समेत गम्भीर र घातक असर पुर्‍याउने हुनाले यो अत्यन्तै संवेदनशील र प्राणघातक मानिन्छ।

यस्तो संवेदनशील घटनामा जीवनमरणको दोसाँधमा रहेका घाइते नागरिकप्रति राज्यको संयन्त्रले देखाएको व्यवहार कुनै गम्भीर अपराधीलाई गरिने व्यवहार भन्दा कम थिएन; किनभने काठमाडौँ जस्तो मुलुककै सबैभन्दा सुविधासम्पन्न र साधनस्रोतयुक्त राजधानी सहरमा पनि एउटा आकस्मिक एम्बुलेन्स समेत बोलाउने तत्परता देखाइएन। घाइते गणेश नेपालीको दुवै हात समातेर भुइँमा लछारपछार पार्दै अमानवीय तरिकाले अस्पताल लैजाने काम भयो, जसले वर्तमान राज्य संयन्त्र र प्रहरी प्रशासन कतिसम्म निर्दयी र संवेदनहीन बन्न सक्छ भन्ने कुराको प्रत्यक्ष प्रमाण दिन्छ।

यदि सोही घटनामा कुनै सत्ताको नजिक रहेको मान्छे, अलिकति धनी, हुनेखाने वर्ग वा समाजको प्रतिष्ठित र पहुँचवाला परिवारको व्यक्ति हुन्थ्यो भने के राज्यका अंगहरूले यसै गरी लाचारी र अमानवीयता प्रदर्शन गर्थे भन्ने गम्भीर प्रश्न यहाँ खडा भएको छ। यो घटनाले पुँजीवादी व्यवस्थाको त्यो क्रूर रूपलाई उजागर गरेको छ जहाँ गरिब, निम्नवर्ग, श्रमजीवी र भुइँमान्छेको जीवनको कुनै मूल्य र अस्तित्व हुँदैन र सिंगो राज्य संयन्त्र केवल मुट्ठीभर हुनेखाने पुँजीपतिहरूको संरक्षण र सेवाका लागि मात्रै बनेको हो भन्ने शङ्का गर्ने पर्याप्त र बलिया आधारहरू फेला परेका छन्।

अहिले देशको प्रधानमन्त्री र गृहमन्त्रीको कुर्सीमा बसेका नेतृत्वकर्ताहरूले यो कुरा राम्ररी बुझ्न जरुरी छ कि जुन जनताको आक्रोश र आवेगको बलमा उनीहरू सिंहदरबारको सिंहासनमा पुगेका छन्, तिनै जनताले भोलि उनीहरूको यो तानाशाही कार्यशैली र संवेदनहीनता सहन नसकेमा हेलिकप्टरबाट भाग्न बाध्य पार्ने हैसियत राख्दछन्। गणेश नेपालीको यो आत्मदाहको घटना त केवल काठमाडौँको सडकमा भौंतारिइरहेका हजारौँ-लाखौँ बेरोजगार र उत्पीडित युवाहरूको प्रतिनिधित्व गर्ने एउटा प्रतिनिधि पात्र मात्रै हो; किनकि आज पनि हजारौँ युवाहरू राजधानीका गल्लीहरूमा रोजगारी र पहिचानका लागि भौंतारिन विवश छन्।

राज्यको यस्तो चरम असफलता र नागरिकप्रतिको अमानवीय व्यवहारको सम्पूर्ण जिम्मेवारी वर्तमान शक्तिशाली सरकारले लिनै पर्छ र यस विषयमा प्रधानमन्त्री तथा गृहमन्त्री स्वयं पूर्ण रूपमा परिचित र संयमित भएर जनताका आधारभूत सवालहरूलाई सम्बोधन गर्न अग्रसर हुनुपर्छ; अन्यथा इतिहासको चक्र घुमिरहन्छ र आक्रोशको जगमा जन्मिएको शक्ति त्यही आक्रोशको ज्वालामा भस्म हुन धेरै समय लाग्दैन।

राजेन्द्र सुनार

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार