शुक्रबार, २१ कार्तिक, २०८२

फेरि पनि सरकारी सम्पत्ति स्वाहा पार्ने र सिन्को नभाँच्ने लाई रोज्ने कि नयाँ खोज्ने, भक्तपुरबासी ?

अहिले भक्तपुरमा घरबाहेक अरू केही देखिँदैन । भक्तपुरमा विश्व सम्पदा सूचीमा परेका धेरै मठमन्दिरहरू छन् । तर, ती सबै २०४६ सालअघिको सरकारले बनाएको हो ।

जनताको बलमा मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन भयो । जब–जब राजनीतिक परिवर्तन भयो, तब–तब चुनाव पनि गरियो । २०४६ सालमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन जनताले ठूलो योगदान गरे । २०४७ सालमा संविधान बन्यो भने २०४८ सालमा पहिलो चुनाव भयो । त्यसपश्चात् २०५१ सालमा निर्वाचन गरियो ।

२०५६ र २०६४ मा दुईपटक निर्वाचन भयो । २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र हटेर लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आयो । लोकतन्त्र र गणतन्त्र आएपछि २०७० सालमा चुनाव गरियो । त्यसपछि २०७४ र २०७९ मंसिर ४ गते चुनाव भयो । अबको चार महिनापछि मुलुकमा पुनः निर्वाचन हुँदैछ । सरकारले आउँदो फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।

चुनाव जनताले आफ्ना जनप्रतिनिधि चुन्ने एउटा मौका हो । आफ्नो क्षेत्र र देशको विकास गरून्, देशमा समृद्धि ल्याऊन् भनेर जनताले नेतालाई मतदान गरेर पठाउँछन् । काँग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ बाट २०४८ देखि पछिल्लो पटक भएको निर्वाचनसम्म विजयी हासिल गरे । उनी एकपटक गृहमन्त्री र पाँच पटक देशका प्रधानमन्त्री भए । दुई कार्यकाल उनले पार्टीको सभापतिको जिम्मेवारी निर्वाह गरे ।

डडेल्धुरा दुर्गम जिल्लामा पर्छ । तर, त्यस जिल्लाले पाँचपटक देशको प्रधानमन्त्री पायो । भक्तपुर काठमाडौं उपत्यकाभित्र पर्छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ सालदेखि निरन्तर नेमकिपाले जित्दै आएको छ । २०४८ देखि २०७० सालसम्म अध्यक्ष नारायणमान बिजुक्छेंले चुनाव जिते । २०७४ र २०७९ मा भने उनकै पार्टीका प्रेम सुवाल निर्वाचित भए । यो पार्टी एकपटक पनि सरकारमा गएको छैन । भक्तपुर काठमाडौंको छिमेकी जिल्ला भएतापनि ठ्याक्कै गाउँजस्तै देखिन्छ । राजधानीसँग जोडिएको जिल्ला भएतापनि विकासमा पछडिएको नै छ ।

नेमकिपा सरकारमा नजाँदा आजसम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट न कोही प्रधानमन्त्री भए न मन्त्री । जनताको मतदान खेर गएको छ । उनीहरूले लगातार एउटै पार्टीलाई मतदान गरेर पठाइरहेका छन्, तर त्यो पार्टीले न सरकारमा जान्छ, न कुनै पदमा पुग्छ । नारायणमान बिजुक्छें र प्रेम सुवालले सिन्को भाँचेका छैनन् । बरु, राजाले ल्याएको कानुनको ढोल बजाएर चुनाव जित्ने काम गरिरहेका छन् ।

राजा महेन्द्रले २०२१ सालमा भूमि ऐन ल्याए, जसमा कमाउने व्यक्तिले आधा जग्गा पाउने उल्लेख छ । भक्तपुरमा धेरैले अर्काको जग्गा कमाउँथे । उनीहरूलाई जग्गा दिनुपर्ने नारा लगाएर बारम्बार नेमकिपाले चुनावमा जित हासिल गरिरहेका छन् । नेमकिपा आएपछि एउटै प्रगति भएको छ—त्यो हो सरकारी सम्पत्ति व्यक्तिद्वारा कब्जा । भक्तपुरमा भएको तालपोखरी, सरकारी, सार्वजनिक, ऐलानी, गुठी, मठमन्दिरलगायतको जग्गा व्यक्तिको नाममा गएको छ ।

भक्तपुर देशकै सबैभन्दा सानो जिल्ला हो । सानो भएतापनि यहाँको जमिन खेतीयोग्य थियो । उब्जनीयुक्त जमिनलाई प्लानिङ गरेर घरै घर बनाइएको छ । अहिले भक्तपुरमा घरबाहेक अरू केही देखिँदैन । भक्तपुरमा विश्व सम्पदा सूचीमा परेका धेरै मठमन्दिरहरू छन् । तर, ती सबै २०४६ सालअघिको सरकारले बनाएको हो ।

नगरकोट भक्तपुरको पर्यटकीय स्थल पर्छ । त्यहाँ ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि जान्छन् । रोचक प्रसंग के भने, नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने तत्कालीन परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय हुन् । उनको कारणले भक्तपुर पर्यटकीय क्षेत्रको रूपमा पनि चिनिन पाएको छ ।

भक्तपुर मुलुककै सबैभन्दा बढी शिक्षित जनताको बसोबास रहेको जिल्लामा पर्छ । विडम्बना, तिनैले पटक–पटक कामै नगर्ने पार्टीलाई भोट दिइरहेका छन् । जुन जिल्लाबाट प्रधानमन्त्री बन्छन्, त्यो जिल्लाको नाम सधैं रहिरहन्छ । तर, भक्तपुरले त्यो मौका गुमाएको छ । एउटै व्यक्तिलाई भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित गरिन्छ । तर, नेमकिपाले के काम गरेको छ ? केही पनि होइन ।

चुनाव गराउँदा जनताले तिरेको अर्बौं रुपैयाँ कर खर्च हुन्छ । सरकारले काम नगर्ने नेता फालून्, काम गर्नेलाई आफ्नो प्रतिनिधि छानून् भनेर चुनाव गराउँछ । तर, भक्तपुरबासीले एउटैलाई भोट दिएर पठाउँछन् । जोसँग काम गर्ने क्षमता छैन, उसलाई पटक–पटक मतदान गर्नुको औचित्य के ? जनताले आफ्नो मत आफैंले खेर फालिरहेका छन् । अर्कोतर्फ, चुनाव गराउँदा लागेको खर्च पनि पानीमा बगाइरहेका छन् ।

नेमकिपाले पटक–पटक चुनाव जित्नुको केही कारण छन् । पहिलो हो—घरबहाल करमा छुट । भक्तपुर नगरपालिकामा नेमकिपाबाटै सुनिल प्रजापति निर्वाचित भएका छन् । उनले घरबहाल कर लिँदैनन् । घरबहालको १० प्रतिशत घरधनीले राज्यलाई बुझाउनुपर्ने व्यवस्था छ । तर, भोटका लागि भक्तपुर नगरपालिकाले कर लिँदैन ।

क्षेत्र नम्बर १ का कुनै पनि पसल दर्ता छैनन् । दर्ताबेगर नै पसल सञ्चालन गर्न दिइरहेको अवस्था छ । आफ्नो कार्यकर्तालाई मात्र उनीहरूले जागिर दिन्छन् । सडकमा कुचो लगाउनेदेखि नगरपालिकामा कार्यरत करार, ज्यालादारीका कर्मचारी आफ्नै पार्टीका राखेका छन् । ठेक्कापट्टा पनि आफ्नै कार्यकर्तालाई दिन्छन् । जो आफ्ना कार्यकर्ता छैनन् वा आफ्नो पार्टीलाई मतदान गर्दैनन्, तिनलाई त नेमकिपाले जन्मदर्ताको सिफारिस पनि दिँदैन । जुन कुरा सार्वजनिक पनि भएको थियो ।

१ नम्बर क्षेत्रमा प्रायः बाहिरी जिल्लाका मान्छेले घर बनाएका छन् । उनीहरू विगतमा काँग्रेस, एमाले, माओवादीलगायत पार्टीका कार्यकर्ता थिए । यहाँ जग्गा किनेर घर बनाएपछि उनीहरू नेमकिपा नै बनेका छन् । यहाँको भोटलिस्टमा नाम लेखाएपछि अनिवार्य नेमकिपा नै बन्नुपर्छ । नत्र राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट समेत वञ्चित गरिन्छ ।

वडा नम्बर १, सल्लाघारी आर्मी व्यारेकको दायाँ–बायाँ, चंगागणेश मुनि, दुवाकोटको टेम्पो पार्क जाने टर्निङ, हनुमन्तेखोला वरपर, सिर्जनानगरलगायतका जग्गा २०२१ र २०२८ सालमा नापी हुँदा सरकारी, ऐलानी, गुठी भनी कायम गरिएको छ । तर, नेमकिपाले आफ्ना कार्यकर्तालाई ती जग्गा कब्जा गर्न लगायो । जम्मै व्यक्तिको नाममा लगियो र बेचियो ।

७६ जिल्लाका बासिन्दाले यहाँ जग्गा किनेर घर बनाएका छन् । हाल सो जग्गा सरकारी सम्पत्ति रहेको खुलेपछि घरधनीहरूको रातमा निद्रा र दिनमा भोक हराएको छ । “जिन्दगीभर कमाएको, गाउँघरको घरजग्गा बेचेर ल्याएको पैसा फस्यो” भनेर उनीहरू चिन्तित बनेका छन् । सल्लाघारीको चौरअगाडि तीनवटा ढुंगेधारा पुरेर विकुलाल खिँउजुले घर बनाएका छन् । सल्लाघारी चौरकै जग्गा पनि सबै व्यक्तिको नाममा गइसकेको छ ।

नेमकिपाको पोल खुल्दै गएको छ, जसका कारण उनीहरूलाई आगामी निर्वाचनमा जित्न निकै मुश्किल छ । भनिन्छ नि—“सत्य लुक्दैन, झूट टिक्दैन ।” यही नियति नेमकिपाले भोग्दै छ । सबैभन्दा ठूला जनता हुन् । जब जनताले नेताको भित्री कुरा बुझ्छन्, तब नेताको राजनीति सकिन्छ । आफ्ना भविष्य कस्तो रोज्ने ? यो जनताको हातमा छ । सही प्रतिनिधि छाने भने विकास पनि हुन्छ, जिल्लाको नाम पनि रहन्छ । सही प्रतिनिधि छान्न सकिएन भने न विकास हुन्छ, न जनताको नियति फेरिन्छ ।

सरकारले चुनाव गराउँदैछ—कस्तो व्यक्तिलाई आफ्नो प्रतिनिधि छान्ने ? जनताको कुरा हो ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार