शुक्रबार, २१ कार्तिक, २०८२

हचुवाको भरमा लगानी, अहिले गर्ल्यामगुर्लुम

जेनजी आन्दोलनका क्रममा उनको आलिशान घरमा पनि आगजनी भयो। त्यतिबेला उनको घरमा पैसैपैसा भेटिएको थियो। ज्यान जोगाउन उनी अमेरिका नै भागे। खड्काले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको बुझिन्छ। उनी भागेसँगै अब ऋण दिने बैंक टाट पल्टिने पक्का छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि विभिन्न ठाउँको घरजग्गा धितो राखेर बैंकबाट ११ अर्ब ऋण लिएका छन्।

बुढापाकाले भन्थे, ‘कागले कान लग्यो भनेर कागको पछि दौडिने होइन, आफ्नो कान छ कि छैन भनेर छाम्ने हो।’ करोडौं सर्वसाधारणले सेयरमा लगानी गरेका छन्। सेयर बैंक, वित्तीय संस्था, जलविद्युतलगायत कम्पनीहरूले एक सय प्रतिकित्ता दरमा निष्काशन गर्ने गर्छन्। एक सय कित्ताको सेयर मूल्य बढाएर ३२ सय पुर्‍याइयो।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी हुँदा ३२ सयको सेयर १६ सयमा झरेको थियो। त्यतिबेला बजारमा भनिन्थ्यो, सेयर एक हजारमा झर्छ। सोही समयमा अर्थात् ०७९ पुस ११ गते एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भए। उनी अर्थमन्त्री हुनासाथ १६ सयको सेयर २५ सय पुग्यो। ०८२ जेठ ६ गते राष्ट्र बैंकको गर्भनरमा विश्व पौडेल नियुक्त भए।

२४ सयमा झरिसकेको सेयर ३१ सय पुग्यो। सेयर दलाली तथा लगानीकर्ताहरू भन्थे, अब सेयरको मूल्य ४५ सय पुग्छ। गत भदौ २३ र २४ गते जेनजी पुस्ताले देशभर आन्दोलन गरे। झण्डै ८० जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका छन्। आन्दोलनमा खर्बौंको सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी हुँदा खरानी बनेको छ।

सहकारी, लघुवित्त र फाइनान्स डुबेको धेरै भइसक्यो। बैंकमा पनि समस्या आइरहेको छ। अहिले जलविद्युत कम्पनीहरू पनि संकटमा छन्, जसको प्रभाव सेयरमा देखिँदैछ। ३१ सय पुगिसकेको सेयर २४ सयमा झरेको छ। जबकी दलालीहरूले सेयर ४५ सय पुग्ने ठोकुवा गरेका थिए। अहिले बजारमा भनिन्छ– केही समयपछि एक सयमा समेत सेयर बिक्दैन।

बैंक, वित्तीय संस्था वा हाइड्रोपावर कम्पनीहरूले नाफा कमाए सेयर लगानीकर्तालाई बोनस दिने हो। तर, यी संस्थाहरू पनि टाट पल्टिसकेका छन्। बैंकले एक लाख आनामा नबिक्ने जग्गा धितो राखेर करोडौं कर्जा दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले ५० करोडमा नबिक्ने जग्गा धितो राखेर बैंकबाट डेढ खर्ब ऋण लिएको सुनिन्छ।

त्यो धितो पनि सरकारी, गुठी, ऐलानी जग्गा भएको बताइन्छ। चौधरी ग्रुप, विशाल ग्रुपहरूले पनि यसरी नै बैंकबाट ऋण लिएको सुनिन्छ। उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्जेलुङको पाथीभरा मन्दिर आसपास सात लाखमा किनेको जग्गा धितो राखेर बैंकबाट २८ करोड ऋण लिएको चर्चा छ। यतिमात्र होइन, उनले विभिन्न बैंकबाट अर्बौं ऋण लिएका छन्।

तर, जेनजी आन्दोलनका क्रममा उनको केबलकारमा पनि आगजनी भएको छ। भाटभटेनी साहु मीनबहादुर गुरुङले देशभर रहेका आफ्ना ३१ वटा भाटभटेनी धितो राखेर ५३ अर्ब ऋण लिएकोमा जेनजी आन्दोलनका क्रममा दुई दर्जन बढी भाटभटेनी ध्वस्त भएका छन्। गुरुङले धेरैजसो भाटभटेनी सरकारी, गुठी, ऐलानी जग्गामा बनेको पाइन्छ।

सरकारले देशभर २०२१, ०२८ र ३२ सालमा जग्गा नापी गरेर जनताको जग्गाको लालपुर्जा जनतालाई नै दिएको थियो। त्यसरी लालपुर्जा दिएर बचेको जग्गालाई ऐलानी, हदबन्दी बढी, सरकारी, गुठीलगायत जग्गामा राखी सरकारी स्वामित्वमा ल्याइयो। तर, जग्गा, भूमाफिया, व्यापारीहरूले त्यस्तो जग्गा कब्जा गरेका छन्।

जसको ज्वलन्त उदाहरण भाटभटेनी साहु गुरुङ हुन्। काठमाडौं र भक्तपुरमा ०२१ र ०२८ सालमा जग्गा नापी हुँदा अनामनगर र राधेराधे स्थित भाटभटेनी रहेको जग्गालाई ऐलानी, सरकारी भनी लेखिएको स्थानीय बताउँछन्। गुरुङले सोही जग्गा कब्जा गरेर भाटभटेनी ठड्याएका छन्। त्यसो त भाटभटेनीले राज्यलाई साढे चार अर्ब राजस्व पनि छलेका छन्।

सो रकम तिर्न सर्वोच्च अदालतले गुरुङलाई आदेश दिए तापनि उनले हालसम्म तिरेका छैनन्। यतिमात्र होइन, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि अदालतले गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ। पूर्वमन्त्री दीपक खड्काले नेपाल छोडिसकेका छन्।

जेनजी आन्दोलनका क्रममा उनको आलिशान घरमा पनि आगजनी भयो। त्यतिबेला उनको घरमा पैसैपैसा भेटिएको थियो। ज्यान जोगाउन उनी अमेरिका नै भागे। खड्काले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको बुझिन्छ। उनी भागेसँगै अब ऋण दिने बैंक टाट पल्टिने पक्का छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि विभिन्न ठाउँको घरजग्गा धितो राखेर बैंकबाट ११ अर्ब ऋण लिएका छन्।

उनले वर्षौंदेखि बैंकको साँवा ब्याज तिरेका छैनन् भने उनको धितो बेच्दा आधा रकम समेत बैंकलाई उठाउन हम्मेहम्मे पर्ने अवस्था छ। एमाले नेता महेश बस्नेतले पनि विभिन्न बैंकबाट सात अर्ब कर्जा लिएका छन्। जेनजी आन्दोलनका क्रममा उनको पनि घर जल्यो। यी त उदाहरण मात्रै हुन्। बैंकको ऋण खाएर तिर्न नसकेकै कारण एक लाख २५ हजार बढी कालोसूचीमा परेका छन्।

बैंकको लगानी विशेषगरी चार वटा क्षेत्रमा छ — घरजग्गा, गाडी, सेयर र सुन। यी सबैको मूल्य कृत्रिम रूपमा बढाइएको हो। दश हजार रोपनीमा नबिक्ने खेतको पाटो दलालीहरूले टुक्राटुक्रा बनाएर आनाकै २५ लाखदेखि करोडौंमा बेचे। एक रोपनीमा १६ आना हुन्छ। छिमेकी मुलुक भारत र चीनमा एकदेखि दश लाखमा पाइने सवारी साधन यहाँ २० लाखदेखि करोडौंमा बेचिएको छ।

सुन वि.सं. २०२२ सालसम्म ८० रुपैयाँ प्रतितोला थियो। अहिले दलालीहरूले मूल्य बढाएर दुई लाख ५८ हजार रुपैयाँ पुर्‍याए। एक तोला सुन किन्दा (ज्यालासहित) उपभोक्ताले तीन लाख रुपैयाँ तिर्नुपर्छ। उपत्यकाभित्र तथा बाहिर एउटै व्यक्तिले पाँचदेखि ६६ वटा सम्म घर बनाएर भाडामा लगाएका छन्। त्यो पनि पाँचदेखि १९ तले। एउटा कोठाको ठाउँअनुसार पाँच हजारदेखि २५ हजार असुलिन्छ।

एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख, एउटा सटरको ३० हजारदेखि १९ लाख र खाली सटर २० लाखदेखि ६० लाखमा किनबेच गर्ने गरिन्छ। घरधनीहरू बत्ती, पानी, फोहोर, इन्टरनेट, सवारी साधन पार्किङको मनलाग्दी शुल्क उठाउँछन्। अहिले भाडा तिर्न नसकेर देशभर ६० प्रतिशत बढी कोठा, फ्ल्याट, सटर खाली भइसकेका छन्।

यस्तै, पाँच वर्षअघि ५० लाखदेखि करोडौंमा किनिएको गाडी अहिले दश लाखमा बिक्दैन। करोडौंमा किनिएको घरजग्गा पनि आजकल लाखमा बिक्री हुँदैन। यातायात र मालपोत सुनसान छ। बजारमा घरजग्गा, गाडी, सेयर र सुन बेच्ने छ्यापछ्याप्ती छन् भने किन्ने कोही छैनन्। मानिससँग रोजगारी छैन, पैसा छैन।

बिहान–बेलुकाको छाक टार्न धौधौ परेको छ। अनि यस्तो अवस्थामा कसले घरजग्गा, गाडी, सेयर, सुन किन्छ? जतिसुकै मूल्य बढेपनि विलासित वस्तु विलासित नै हुन्। त्यसमाथि कृत्रिम मूल्य कहिल्यै लामो समय टिक्दैन। त्यसकारण यी क्षेत्रमा व्यक्तिदेखि बैंकसम्मले गरेको लगानी डुबिसकेको छ। फेरि सरकारले पनि यसैलाई राज्यको स्रोत बनाउँदा आज अर्थतन्त्रमा समेत संकट आएको छ।

विदेशी ऋण २९ खर्ब ४२ अर्ब पुगेको छ। निर्माण व्यवसायीको ४५ अर्ब, दूध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालको २४ अर्ब भुक्तानी दिन बाँकी छ। अनि राजस्व उठ्ने स्रोत नै ठप्प भएपछि अब कसरी यी ऋण तिर्ने? सरकार, जनता, संघ–संस्था सबै दलालीहरूको लहैलहैमा लाग्दा यो अवस्था आएको हो। त्यसैले, कागले कान लग्यो भनेर त्यसको पछि दौडिनुको साटो पहिले आफ्नो कान समाउने हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार