सोमबार, ९ भाद्र, २०८२

दलाली कृत्रिम मूल्य बढाएर जनता ठग्ने, नेता मिठा भाषण गरेर देशै बेचिदिने !

नेताहरूको पृष्ठभूमि केलाउने हो भने बिहान बेलुका पेटभरि खान नपाउने, एक जोर नयाँ कपडा वा चप्पल लगाउने हैसियत नभएका हुन्। अहिले उनीहरूकै मुलुकको राजधानीजस्तो ठाउँमा महलजस्तो घर छ, राजाजस्तो जीवनशैली छ, हातमा घडी मात्र करोडौँको बाँध्छन्, दिनहुँ माछामासु, मिष्ठान्न खान्छन्, कपडा महँगो ब्राण्डको लगाउँछन्, करोडौँ पर्ने गाडीमा चढ्छन्।

काठमाडौं उपत्यकाभित्र तथा बाहिरका सुन व्यापारीले केही महिनाअघिसम्म भन्थे, ‘सुन प्रतितोला साढे दुई लाख रुपैयाँ पुग्छ।’ गत वैशाखमा सुन प्रतितोला एक लाख ९७ हजार तीन सय रुपैयाँ पुग्यो। २०२२ सालसम्म सुन प्रतितोला ८० रुपैयाँ थियो। केही दशकमै सुनको मूल्य हजारौँ गुणाले बढेको छ।

सुनको मूल्य बढिरहँदा सुन त्यही हो। तौल त्यही हो। अनि कसरी एकाएक सुनको मूल्य बढ्यो त? यसमा व्यापारीकै हात छ। राजस्व छलेको, भ्रष्टाचार गरेको पैसा मानिसहरूले सुनमा लगानी गरे। सुन किनबेच गर्दा राज्यको ढुकुटीमा राजस्व नआउने। न त कोसँग कति सुन छ भनी थाहा नै हुने। सुन व्यापारीले आम सर्वसाधारणलाई नराम्ररी ठग्दै आएका छन्।

सुन बेच्दा तौलमा गडबड गर्नुका साथै तोकिएको मूल्यभन्दा ४०–५० हजार रुपैयाँ बढी असुल्ने। फेरि त्यही सुन सर्वसाधारणले बेच्दा चाहिँ तोकिएको रकमसमेत नपाउने। सुन बेचेपछि भ्याट बिल नदिने। सरकारलाई व्यापार घाटा देखाएर राजस्व छल्ने जस्ता काम सुन व्यापारीहरूले गर्दै आएका छन्। मानिसहरूले सुनको मूल्य बढिरहन्छ भनेर आफूसँग भएको सबै पैसाले सुन किने, घरमा थुपारे।

अहिले सुनको मूल्य नबढेपछि महँगोमा किनेहरू डुबेका छन्। सुनमा मात्र होइन, सेयरमा पनि यस्तै भइरहेको छ। असार अन्तिममा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्यायो। त्यतिबेला सेयर प्रतिकित्ता २५ सय रुपैयाँ थियो। अहिले बढेर साढे २९ सय रुपैयाँ पुगेको छ। सेयरको मूल्य बढेसँगै बजारमा केही सेयर दलालीहरू ४२ सय पुग्छ भनेर अफवाह फैलाइरहेका छन्।

सेयर बैंक, वित्तीय संस्था, इन्स्योरेन्स, हाइड्रोपावर कम्पनीहरूले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको हो। यद्यपि, यसबारे जनता अझै अन्जान छन्। कोही चाहिँ थाहा भए पनि लगानी गरिरहेका छन्। अनि भोलि डुबेपछि चाहिँ अरूमाथि दोष लगाउँछन्। अहिले साढे २९ सयमा सेयर किनबेच भइरहँदा सय रुपैयाँको मात्र राज्यलाई राजस्व तिरिरहेको छ।

साढे २८ सयको राजस्व छलिन्छ। सहकारी, लघुवित्त, फाइनान्स डुबिसके। बैंक पनि संकटमा छ। हाइड्रोपावर, बीमा कम्पनीहरूमा पनि समस्या देखिँदैछ। उनीहरूले कर्मचारीलाई तलब दिन सकेका छैनन्। घरधनीलाई भाडा तिर्न सकेका छैनन्। अनि घाटामा गएको कम्पनीको सेयरको मूल्य कसरी बढ्छ? यो दलालीको खेल हो।

सर्वसाधारणको आँखामा छारो हालेर धमाधम ठगी गर्ने काम भइरहेको छ। सेयरमा लगानी गर्ने सर्वसाधारण करोडौँ छन्। तर, यसको नाइके ५०–६० जना छन्। तिनीहरूले करोडौँ जनतालाई भ्रममा पारेर लुटिरहेका छन्। आफूले सेयर बेच्ने बेला मूल्य बढाउँछन् भने किन्ने बेला स्वाट्टै घटाइदिन्छन्।

जग्गामा पनि यही भएको हो। एक हजार आनामा बिक्री नहुने जमिन टुक्राटुक्रा बनाएर लाखौँदेखि करोडौँमा बेचियो। यो काममा पनि सीमित दलालीहरू नै संलग्न थिए। निःमुखा किसानसँग सस्तोमा जग्गा किन्ने अनि डोजर चलाएर खण्डीकरण गरेपछि त्यसको हजारौँ गुणा बढीमा बेच्ने! उता, छिमेकी मुलुक भारत र चीनमा एक लाखमा पाइने सवारी साधन यहाँ लाखौँदेखि करोडौँमा बेचिएको छ।

यसमा पनि सीमित अटो व्यवसायीहरू संलग्न छन्। दलाल, चलाखहरूले कसरी जनतालाई लुट्छन्? त्यो पनि सुइँको नपाउने नगरी भन्ने उदाहरण हुन् यिनीहरू। दलाल मात्र होइन, नेताहरूले पनि जनतालाई त्यसरी नै झुक्याएर आफ्नो स्वार्थ पूरा गरिरहेका छन्। ओली, देउवा, प्रचण्ड, नेपाललगायत राजनैतिक दलका नेताहरू आफूहरूले देशमा विकास गरेको विकास गर्छन्।

यिनीहरूको पृष्ठभूमि केलाउने हो भने बिहान बेलुका पेटभरि खान नपाउने, एक जोर नयाँ कपडा वा चप्पल लगाउने हैसियत नभएका हुन्। अहिले उनीहरूकै मुलुकको राजधानीजस्तो ठाउँमा महलजस्तो घर छ, राजाजस्तो जीवनशैली छ, हातमा घडी मात्र करोडौँको बाँध्छन्, दिनहुँ माछामासु, मिष्ठान्न खान्छन्, कपडा महँगो ब्राण्डको लगाउँछन्, करोडौँ पर्ने गाडीमा चढ्छन्।

अनि यिनीहरूले देश विकास गरे कि आफ्नो जीवनशैली? नेताहरूले विकासको नारा दिएर भरपूर भ्रष्टाचार गरे। देश तहसनहस बनाए। आफ्नो फाइदाका निम्ति देशको भूभाग नै बेचे। टंकनपुर, सिक्किम, दार्जिलिङ, तिब्बत, कालापानी, लिपुलेक, लिम्पियाधुरा, कोलकत्ता पहिले नेपाली भूभाग थियो। अहिले यी भूभाग भारत र चीनको भनी परिचित छ।

यो बेच्ने को त? यिनै गणतन्त्रका नेताहरू होइनन् र? राजाजस्तो जीवनशैली बिताउन उनीहरूले देशको भूभाग नै बेचिदिए। यतिमात्र होइन, देशलाई विदेशी ऋणको भारी बोकाएका छन्। २७ खर्ब पाँच अर्ब १७ करोड पुगिसक्यो विदेशी ऋण। देशभित्रै पनि सरकार ऋणै ऋणमा छ। निर्माण व्यवसायीको ४५ अर्ब, दूध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालहरूको २४ अर्ब भुक्तानी दिन बाँकी छ।

यता, जनतालाई उपलब्ध हुँदै आइरहेको सबै सेवा सुविधा कटौती गरिएको छ भने कर्मचारी, जनप्रतिनिधिलाई पोस्ने क्रम जारी छ। देशका युवाहरू सबै विदेशमा छन्। विदेशमा रगत पसिना बगाएर उनीहरूले कमाइ पठाएको रेमिट्यान्समा पनि यिनै नेता भनाउँदाको रजगज चलेको छ। त्यसले नपुगेर सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिरको जग्गा धमाधम व्यक्तिको नाममा पास गरिदिएर करोडौँ घुस खाइरहेका छन्।

जनताले तिरेको करदेखि विदेशबाट ल्याएको खर्बौँ ऋण नेताहरूले मोजमस्ती गरेर सिध्याएका छन्। तर, अझै पनि देशमा विकास गर्छौँ भनेर जनतालाई भ्रममा पार्ने अनि लुट्ने क्रम जारी छ। जनतालाई पनि नेताहरूले देश बेचिसकेको, विदेशबाट आफ्ना छोरा छोरी, आमाबुबाले पठाएको रेमिट्यान्स दुरुपयोग तथा सरकारी सम्पत्ति दोहन गरेको थाहा छैन।

अनि म यो पार्टी, तँ त्यो पार्टी भन्दै एकापसमा झगडिन्छन्। सहकारीमार्फत जनताको करोडौँ रकम खाएका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने अहिले जेलको चिसो भुईँमा छन्। तर, उनको बचाउमा रास्वपाले हस्ताक्षर संकलन गरिरहेको छ। यतिमात्र होइन, चन्दासमेत उठाइरहेका छन्। फेरि जनता पनि रविमाथि अन्याय भयो भन्दै धमाधम हस्ताक्षर र रकम सहयोग गरिरहेका छन्।

ठगीकै आरोपमा जेल गएको व्यक्तिलाई त जनता यसरी सहयोग गर्छन् भने नेताहरूले थोरै मिठो बोलिदिए वा राम्रो व्यवहार गरिदिए के गर्छन् होला? जनता शिक्षित त भए, तर उनीहरूमा सचेतना आएन। के ठीक र के बेठीक? भन्ने कुरा छुट्याउन सकेनन्। दलालहरू बाहिर बसेर ठगिरहेका छन्, नेताहरू सिंहदरबार, बालुवाटार बसेर जनता लुटिरहेका छन्।

०२८ सालमा ओलीले झापामा भात खाइरहेका एक व्यक्तिको घाँटी काटेको र सोही कसुरमा १४ वर्ष जेल बसेको बताइन्छ। माओवादी दस वर्षे जनयुद्धमा १७ हजार मारिए। त्यसमध्ये पाँच हजार आफैंले मारेको प्रचण्डले स्वीकारेका छन्। अनि यस्ता हत्यारा, दलालहरू जनताले तिरेको करबाट तलबभत्ता, सेवासुविधा लिइरहेका छन्। जनताले नै तिरेको करबाट तलबभत्ता खाइरहेका सुरक्षाकर्मीहरू पनि उनीहरूलाई नै उफ्रिउफ्रि सलाम ठोक्छन्।

– रुषा थापा
भक्तपुर

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार