बिहीबार, ७ श्रावण, २०८३

जुम्लामा यातायात कार्यालयको राजस्वमा ३५ प्रतिशतले वृद्धि



जुम्लामा सवारी साधनको आवतजावत र यातायात क्षेत्रको आर्थिक गतिविधिमा व्यापक वृद्धि भएको छ। बढ्दो सवारी साधनको प्रयोग र व्यावसायिक सक्रियताले राजस्व बढ्न थालेको हो।

कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेख्य वृद्धि गर्दै आफ्नो सेवा र प्रशासनको पहुँचलाई थप प्रभावकारी बनाएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए।

‘विगतका वर्षहरूभन्दा चालु आर्थिक वर्षमा यातायात व्यवस्था कार्यालय जुम्लाले कुल राजस्वमा ५० लाख रूपैयाँ बढी वृद्धि भएको छ,’ उनले भने, ‘गत आर्थिक वर्षमा १ करोड ४३ लाख २२ हजार ३ सय ८७ रूपैयाँ मात्र राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा सो रकम बढेर १ करोड ९४ लाख ४४ हजार १ सय १२ रूपैयाँ पुगेको छ।’

उनका अनुसार यसमा कुल संकलित रकममा संघीय कोषमा दाखिला हुने अग्रिम आयकर समेत समेटिएको छ भने यो वर्षको राजस्व संकलनमा ३५ प्रतिशतको वृद्धि भएको छ।

​कार्यलयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संकलित राजस्वको मुख्य हिस्सा सवारी साधन करबाट प्राप्त भएको छ। सवारी साधन कर शीर्षकमा मात्रै १ करोड ३ लाख ९३ हजार ५ सय २४ रूपैयाँ राजस्व दाखिला भएको कार्यालय प्रमुख कार्कीले भनाई छ।

त्यस्तै चालक अनुमतिपत्र तथा सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ६४ लाख ९२ हजार १ सय १६ रूपैयाँ संकलन भएको छ। यसका साथै यातायात क्षेत्रको अन्य आम्दानी मानिने पटके तथा रुट परमिटबाट १८ लाख ८६ हजार ६ सय २२ रूपैयाँ, संघीय कोषमा दाखिला हुने अग्रिम आयकर तर्फ ६ लाख ६८ हजार २ सय ७५ रूपैयाँ र बेरुजु असुली शीर्षकबाट १ हजार ५ सय ७५ रूपैयाँ संकलन भएको छ।

जुम्ला तथा आसपासका क्षेत्रहरूमा सडकको स्तरोन्नति हुनुका साथै नयाँ सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र लिने सेवाग्राहीको संख्यामा लगातार वृद्धि भइरहेको छ।

यातायात क्षेत्र व्यवस्थित बन्दै जाँदा कर तिर्ने नागरिकको दायित्वबोध र कार्यालयको कडाइका कारण पनि राजस्व संकलनमा यो ठूलो सफलता मिलेको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार