कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, आर्थिक अवस्था तथा सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमा गाउँपालिकाले वर्षभरि गरेका काम, आर्थिक प्रगति, राजस्व संकलन, विकास निर्माण, सेवा प्रवाह र सुशासनका विषयमा जानकारी गराएको छ भने नागरिक तथा राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाका कामकारबाहीबारे प्रश्न र जिज्ञासा राखेका छन्।
सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति तथा आर्थिक अवस्थाबारे जानकारी गराए। उनका अनुसार गाउँपालिकाको कुल आर्थिक प्रगति ७३.९५ प्रतिशत रहेको छ। त्यस्तै, पुँजीगततर्फ ८९.६० प्रतिशत र चालूतर्फ ८९.८८ प्रतिशत खर्च भएको छ।
सार्वजनिक सुनुवाइलाई गाउँपालिकाले नागरिकका गुनासा, प्रश्न र सुझाव सुन्ने तथा आफ्ना कामकारबाहीबारे जवाफदेही बन्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। कार्यक्रममा विकास निर्माण, योजना कार्यान्वयन, सेवा प्रवाह, पारदर्शिता तथा सुशासनसँग सम्बन्धित विषयमा २० जनाभन्दा बढी नागरिक तथा राजनीतिक दलका प्रतिनिधिले प्रश्न र जिज्ञासा राखेका थिए। उठेका सवालमा जनप्रतिनिधि तथा कर्मचारीले जवाफ दिँदै आगामी दिनमा सुधार र प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
राजस्व संकलन लक्ष्यभन्दा बढी
कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व संकलनतर्फ लक्ष्यभन्दा बढी प्रगति गरेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार गत आर्थिक वर्षमा ३२ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यभन्दा बढी अर्थात् ४४ लाख ९३ हजार २ सय २० रुपैयाँ राजस्व संकलन भएको छ।
गाउँपालिकाका अनुसार वडा नम्बर ३ बाट मात्रै १० लाख १७ हजार २ सय ३९ रुपैयाँ राजस्व संकलन भएको छ। लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुलाई गाउँपालिकाले स्थानीय तहको आन्तरिक आम्दानी वृद्धि र आर्थिक व्यवस्थापनका दृष्टिले सकारात्मक उपलब्धिका रूपमा लिएको छ।
राजस्व संकलनसँगै गाउँपालिकाले आगामी दिनमा स्थानीय स्रोतको पहिचान, प्रभावकारी परिचालन र राजस्वको दायरा विस्तारमा जोड दिनुपर्ने आवश्यकता देखिएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्यले बताए।
उनका अनुसार स्थानीय सरकारको वित्तीय क्षमता बलियो बनाउन आन्तरिक राजस्व महत्वपूर्ण आधार भएकाले नागरिकलाई कर तथा राजस्वको महत्व बुझाउँदै पारदर्शी रूपमा यसको उपयोग गर्नुपर्ने सार्वजनिक सुनुवाइले संकेत गरेको छ।
सञ्चारमाध्यममा आएका समाचारको खण्डन
सार्वजनिक सुनुवाइका क्रममा नागरिकले सञ्चारमाध्यममा कनकासुन्दरी गाउँपालिकाका विषयमा प्रकाशित तथा प्रसारित समाचारबारे पनि प्रश्न उठाएका थिए। जवाफमा प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सञ्चारमाध्यममा आएका केही विषय महालेखा परीक्षकको प्रतिवेदनसँग सम्बन्धित रहेको बताए।
उनका अनुसार महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको समयमा ती विषय नउठाई अहिले मात्र उठाइनुमा प्रतिसोधको साँधिएको छ। नागरिकलाई भ्रममा नपर्न आग्रह गर्दै गाउँपालिकाका कामकारबाहीबारे तथ्यका आधारमा धारणा बनाउन उनको आग्रह छ।
गाउँपालिका अध्यक्ष आचार्यले सार्वजनिक सुनुवाइमा नागरिकले उठाएका प्रश्नको जवाफ दिएका थिए। उनले विकास निर्माणका क्षेत्रमा केही अपुग भएका विषयलाई आगामी दिनमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
अध्यक्ष आचार्यका अनुसार गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि करिब २४ सय वर्गमिटर जग्गा प्राप्त भइसकेको छ। अब साउन महिनादेखि भवन निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी रहेको उनले जानकारी दिए।
गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत् तथा सञ्चार सेवाको समस्या रहेको विषयमा पनि सार्वजनिक सुनुवाइमा प्रश्न उठेको थियो। अध्यक्ष आचार्यले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै टेलिफोन सेवा पनि नियमित र प्रभावकारी बनाउनेतर्फ पहल भइरहेको बताए।
उनले कनकासुन्दरी गाउँपालिकाका विषयमा उठेका सवाल र समाचारका विषयमा पत्रकार महासंघ तथा सञ्चारकर्मीलाई तथ्यका आधारमा छलफल र बहस गर्न आग्रह गरे। गाउँपालिकाले जनताको हितमा गरेका काम सत्य र तथ्यमा आधारित रहेको दाबी गर्दै उनले राम्रा कामका विषयमा डराउनुपर्ने अवस्था नरहेको बताए।
अध्यक्ष आचार्यले महालेखा परीक्षकको प्रतिवेदनलाई कनकासुन्दरी गाउँपालिकाको मात्र नभई जिल्लाका सबै स्थानीय तहको सन्दर्भमा समान रूपमा सार्वजनिक बहसको विषय बनाउन सञ्चारमाध्यमलाई आग्रह गरे। उनले पारदर्शिता र जवाफदेहिताका लागि सबै स्थानीय तहका महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक बहसमा ल्याउनुपर्ने धारणा राखे।
विकटका वडामा स्वास्थ्यकर्मी खटाउने प्रतिबद्धता
गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले कनकासुन्दरी गाउँपालिकाका सबैभन्दा विकट क्षेत्रका रूपमा रहेका मर्फान र रिया क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन तत्काल स्वास्थ्यकर्मी खटाउने प्रतिबद्धता व्यक्त गरिन्।
भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाइ भोग्दै आएको अवस्थामा स्वास्थ्यकर्मीको नियमित उपस्थितिले स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
नागरिकका प्राथमिकता भवनदेखि विद्युत्सम्म
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई शीघ्रता दिनुपर्ने माग गरेका छन्। त्यसैगरी विद्युत् सेवा नपुगेका बस्तीमा तत्काल विद्युत् विस्तार गर्नुपर्ने, योजना नपुगेका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने, विकास निर्माणका कामलाई आवश्यकताका आधारमा सञ्चालन गर्नुपर्ने लगायतका विषय उठाइएको थियो।
नागरिकले विकासका योजना छनोट गर्दा वास्तविक आवश्यकता र स्थानीय जनताको मागलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको सहभागिता र अनुगमन बढाउनुपर्ने धारणा राखेका थिए।
‘काम हेर्न वडामै आउनुस्’
कार्यपालिका सदस्य चन्द्रकली बुढाले गाउँपालिकामा भएका विकास निर्माणका कामबारे थप प्रस्ट पार्दै वास्तविक अवस्था बुझ्न नागरिक तथा सरोकारवालालाई सम्बन्धित वडामा पुगेर कामको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरिन्।
उनले गाउँपालिकाले सञ्चालन गरेका विकासका कामलाई बाहिरबाट मात्र मूल्यांकन नगरी स्थलगत रूपमा हेरेर प्रतिक्रिया दिनुपर्ने बताइन्। विकास निर्माणका काममा नागरिकको निगरानी र सहभागिताले स्थानीय सरकारलाई थप जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
सार्वजनिक सुनुवाइ मार्फत जवाफदेहिताको अभ्यास
स्थानीय तहमा सार्वजनिक सुनुवाइ नागरिक र सरकारबीच प्रत्यक्ष संवादको महत्वपूर्ण माध्यम हो। यसले स्थानीय सरकारका योजना, बजेट, खर्च, राजस्व संकलन र सेवा प्रवाहबारे नागरिकलाई जानकारी दिने मात्र होइन, जनप्रतिनिधि र कर्मचारीलाई जनताप्रति उत्तरदायी बन्न पनि दबाब सिर्जना गर्छ।
कनकासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइमा उठेका सवालहरूले स्थानीय तहमा विकासको गति, सेवा प्रवाह र आर्थिक पारदर्शितासँगै नागरिकको बढ्दो चासोलाई पनि प्रतिबिम्बित गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको दाबी छ।
उनका अनुसार एकातिर गाउँपालिकाले लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेको र आर्थिक प्रगतिमा उल्लेख्य उपलब्धि हासिल गरेको छ भने अर्कोतर्फ नागरिकले विकास निर्माण, विद्युत्, स्वास्थ्य, भवन निर्माण तथा पारदर्शिताका विषयमा थप जवाफ खोजेका छन्।
यसले स्थानीय सरकारका लागि आगामी दिनमा उपलब्धिलाई मात्र प्रस्तुत गर्नु पर्याप्त नभई त्यसको प्रभाव नागरिकको जीवनमा कति परेको छ भन्ने विषय पनि महत्वपूर्ण हुने देखाएको छ। सार्वजनिक सुनुवाइमा उठेका प्रश्न र सुझावलाई कार्यान्वयनमा लैजाने गाउँपालिकाका अध्यक्ष आचार्यको प्रतिबद्धता छ।
कनकासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइको सहजीकरण सिञ्जा मल्टिमिडियाले गरेको थियो।
















