किनकि भूकम्प आउँदा यहाँ भाग्ने खुला ठाउँ नै छैन। एकसँग अर्को, अर्कोसँग अर्को, अर्कोसँग अर्को घर जोडिएर बनाइएको छ। यसले भूकम्पले एउटा घर मात्र ढलेमा त्यसले दर्जनौं घरमा क्षति पुर्याउने देखिन्छ।
भक्तपुर नेपालको सबैभन्दा सानो जिल्ला हो। यो काठमाडौं उपत्यकाभित्र पर्दछ। यहाँ दुई वटा निर्वाचन क्षेत्र छन्। एक नम्बर क्षेत्रमा सरकारी कार्यालयसँगै पर्यटकीय स्थल तथा मठमन्दिर बढी छन्। विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले, सुनको ढोका, पञ्चपन्न झ्याले, दत्तात्रेय मन्दिरसँगै धेरै मठमन्दिर छन्। त्यस्तै, पर्यटकीय स्थल नगरकोट पनि एक नम्बर क्षेत्रमै पर्दछ। यी सम्पदा तथा पर्यटकीय स्थलमा घुमफिरका निम्ति विदेशीसँगै स्वदेशीहरू पनि आउने गरेका छन्। दिनहुँ सयौंको संख्यामा यहाँ पर्यटक आउँछन्।
तर, विश्व सम्पदामा सूचीकृत मठमन्दिरको अवस्था भने दयनीय देखिन्छ। त्यस्ता सम्पदाको संरक्षणमा स्थानीय जनप्रतिनिधिको बेवास्ता देखिन्छ। पाँचतले, पञ्चपन्न झ्याले, दत्तात्रेय मन्दिरलगायत क्षेत्रमा ढुंगा छापिएको छ। त्यो ढुंगा छापेको दशकौं भइसक्यो। राजाका पालामा बनेका ती मठमन्दिर त्यतिबेलै ढुंगा छापिएको हो। अहिले ती ढुंगा उक्लिँदै गएको देखिन्छ। जसले मन्दिरलाई कुरुप मात्र बनाइरहेको छैन, त्यहाँ हिँड्दा दुर्घटनामा पर्न सक्ने जोखिम पनि उत्तिकै छ।
मठमन्दिर वा सम्पदा आसपास पनि निकै फोहोर देखिन्छ। जथाभावी फोहोर फाल्ने वा थुपारिएको यहाँ पाइन्छ। अर्कोतिर, विश्व सम्पदा सूचीमा सूचीकृत मठमन्दिर हेर्न स्वदेशी, विदेशी सबै आउने भएकाले सार्वजनिक शौचालयको व्यवस्थापन गरिनुपर्ने हो। तर, यहाँ त एउटै सार्वजनिक शौचालय छैन। केही गरी भेटिहालेमा चर्को शुल्क तिर्नुपर्छ तर शौचालय भने जान सक्ने अवस्थाको हुँदैन।
अर्को मुख्य कुरा—विश्व सम्पदामा सूचीकृत मठमन्दिर वा सम्पदा रहेका स्थलमा समेत सवारी साधन चलाउने गरिन्छ। जसले त्यहाँ घुमफिरका निम्ति आएका पर्यटक वा स्थानीय नागरिकलाई गाडीले हान्न सक्ने जोखिम धेरै देखिन्छ।
क्षेत्र नम्बर १ मा घरहरू सानो जग्गामा बनेका छन्, त्यो पनि जोडिएर। एकदेखि बढीमा तीन आना जग्गामा यहाँ घर बनेका छन्। घर बनेको ठाउँमा एम्बुलेन्स, दमकल जान सक्ने अवस्था छैन। किनकि भित्री गल्लीमा गाडी चल्नै नसक्ने ठाउँमा घर बनेको छ। यसले केही गरी त्यहाँ आगलागी भएमा ठूलो जनधनको क्षति हुने देखिन्छ। भोटका निम्ति यस्ता घरहरूलाई सम्पन्नता प्रमाणपत्र दिइएको छ।
क्षेत्र नम्बर १ मा सयौं इनार, ढुंगेधारा, तालपोखरी भेटिन्छन्। तर, एउटै ढुंगेधारामा पानी आउँदैन। ढुंगेधाराको जग्गा मिचेर घर बनाएको पाइन्छ। यस्तै, इनारहरू खुल्लै राखिएका छन्। यसले कोही व्यक्तिले तनाव वा आक्रोशमा आएर इनारमा हाम फाल्न सक्ने वा अरुलाई खसाल्न सक्ने जोखिम देखिन्छ। यसमा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा व्यापारीहरूको लुटतन्त्र छ। स्वदेशीसँगै विदेशीलाई चर्को मूल्यमा सामान बेचिन्छ। एक सयको सामानलाई पाँच सय रुपैयाँमा यहाँका व्यापारी बेच्ने गर्छन्। रोचक कुरा—यति चर्को मूल्यमा सामान बेच्नेहरूको व्यवसाय नै दर्ता छैन।
नेपालमा वि.सं. १९९०, २०४५, २०७२, २०८० कात्तिक १७ गते भूकम्प गयो। यो भूकम्पमा आफ्नै घरमा कुचिएर धेरैले ज्यान गुमाए। अब फेरि कहिले भूकम्प आउँछ ठेगान छैन। तर, अब आउने भूकम्पमा भक्तपुर क्षेत्र नम्बर १ का बासिन्दा बाँच्ने सम्भावना कमै देखिन्छ।
किनकि भूकम्प आउँदा यहाँ भाग्ने खुला ठाउँ नै छैन। एकसँग अर्को, अर्कोसँग अर्को, अर्कोसँग अर्को घर जोडिएर बनाइएको छ। यसले भूकम्पले एउटा घर मात्र ढलेमा त्यसले दर्जनौं घरमा क्षति पुर्याउने देखिन्छ।
०८१ मंसिर २८ गतेको क्याबिनेट बैठकले घर बनाउन नक्सा पाससम्बन्धी ०६४ को मापदण्ड खारेज गरेर ०८१ पास गरेको थियो। पहिलेको मापदण्डअनुसार १३ फुटे बाटोमा घर बनाउन दिइन्थ्यो। तर नयाँ मापदण्डअनुसार अब २० फुटे बाटो छोड्नुपर्छ। त्यस्तै, पहिले २० फुटे बाटो भएकोमा अहिले २७ फुटे बनाइएको छ। ०६४ को मापदण्डअनुसार तीनपट्टी जोडेर र कम्पाउण्ड नछोडी घर बनाउन पाइँदैन। अब भने तीनपट्टी जोडेर घर बनाउन पाइने छैन। सँगै घर बन्ने जमिनको ४० प्रतिशत कम्पाउन्ड छोड्नुपर्छ।
विद्युतीय ट्रान्सफर्मरको ९ मिटर दूरीमा घरलगायत संरचना बनाउन पाइने पहिलेको मापदण्ड रहेकोमा अहिले १५ मिटर बनाइएको छ। ०६५ मंसिर २९ गतेको मन्त्रिपरिषद् बैठकले खोला, नदी आसपास घरलगायत संरचना बनाउँदा अनिवार्य २० मिटर छोड्नुपर्ने निर्णय गरेको थियो। जसलाई ०८० पुस ३ गतेको सर्वोच्च अदालतले २० मिटर थप गर्दै ४० मिटर कायम गरेको छ। अब खोला, नदी आसपास घर बनाउँदा अनिवार्य ४० मिटरको दूरीमा बनाउनुपर्छ।
त्यस्तै, विश्व सम्पदामा सूचीकृत मठमन्दिर वरपर एकतलेभन्दा ठूलो घर बनाउन नपाउने व्यवस्था छ। तर, हामी कहाँ कानुनको धज्जी उडाउँदै त्यस्ता सम्पदा अगाडि त्योभन्दा ठूलो घर बनाएको पाइन्छ। जसको ज्वलन्त उदाहरण भक्तपुर नै हो। पाँचतले, सुनको ढोका, पञ्चपन्न झ्याले, दत्तात्रेय मन्दिर वरपर सो सम्पदाभन्दा अग्ला र ठूला घर देखिन्छन्। जसले ती सम्पदाको अस्तित्वलाई नै संकटमा पारेको छ।
तर, घर बनाउन नक्सा पाससम्बन्धी नयाँ मापदण्ड अब त्यस्ता घरहरूमा पनि लागू हुनेछ। यसले भूकम्प आएर केही गरी त्यस्ता घर ढलेमा अब बन्ने सम्भावना कमै छ। किनकि अहिले त्यहाँ १३ फुट बाटो छोडेर घर बनाइएको छ। नयाँ मापदण्डअनुसार २० फुट बाटो छोडेर घर बनाउन त्यहाँ जग्गा नै पुग्दैन।
०८१ असोज १०, ११ र १२ गते तथा ०८२ असोज १७, १८ र १९ गते उपत्यकासहित मुलुकभर लगातार वर्षा भयो। त्यसक्रममा भक्तपुरको राधेराधे पूरै डुबानमा परेको थियो। कुलो बनाइएको खोला कोशीमा परिणत हुँदा एकाएक त्यहाँ वितण्डा मच्चियो। मानिसहरूको घर नै डुबानमा पर्यो। घर पानीले छोपेपछि विद्यालयमा शरण लिन उनीहरू बाध्य भए।
यो त एउटा प्रतिनिधिमूलक घटनामात्रै हो। देशभर नै खोलालाई कुलो बनाइएको छ। अझ खोलामाथि नै घरलगायत संरचना बनाइएको पाइन्छ। मानिसहरूले आफ्नो स्वार्थका निम्ति खोलालाई ख्यालठट्टामा लिई खोलाको अस्तित्व मेटाउन खोज्दा उनीहरूको करोडौंको सम्पत्ति समेत ज्यानैसमेत गइरहेको छ।
२०२१ सालमा तत्कालीन राजा महेन्द्रले भूमि ऐन ल्याए। त्यसपछि ०२१, ०२८ र ०३२ सालमा देशभर जग्गा नापजाँच गरियो। जनताको जग्गा जनतालाई नै दिइयो। भक्तपुरमा ०२१ सालमा जग्गा नापजाँच भएको थियो। भक्तपुर नगरपालिका वडा नम्बर १, सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, हनुमन्ते खोला (वारिपारि) अर्थात् सिर्जनानगर र राधेराधे वा राधेराधेको भाटभटेनी, निर्माणाधीन १५ तले भवन, ड्राइभिङ सेन्टरहरू, राजेश हार्डवेयर रहेको जग्गा सरकारी, गुठी, ऐलानी भनी लेखिएको स्थानीय बताउँछन्।
२०२९ सालसम्म यो ठाउँमा एउटै घर बनेका थिएनन्, घारी मात्र थियो। ०३२ सालमा एक जनाले छाप्रो हाले। तिनै व्यक्तिले ०३५ सालमा ढुंगा र माटोको घर बनाए। ती व्यक्ति मजदुर किसान पार्टीका कार्यकर्ता थिए। त्यतिखेर मुलुकमा पञ्चायती व्यवस्था थियो। मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, प्रेम सुवाल, मेयर सुनिल प्रजापति लगायत भूमिगत थिए।
उनीहरूले आफ्ना कार्यकर्तालाई यो ठाउँको सबै सरकारी जग्गा कब्जा गर्न लगाए। ०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो। त्योसँगै मजदुरले आफ्ना कार्यकर्तालाई पहिल्यै कब्जा गर्न लगाएको सरकारी जग्गा उनीहरुकै नाममा पास गरिदियो।
अहिले यहाँ ७६ जिल्लाका जनताले जग्गा किनेर घर बनाएका छन्। यहाँको लाखौं रोपनी सरकारी जग्गा मजदुरका कार्यकर्ताले सिध्याए। अहिले यहाँ जग्गाको मूल्य आनाकै २५ लाखदेखि करोडौं छ। सल्लाघारी चौर अगाडि एउटा ठूलो घर देखिन्छ। त्यो घर विकुलाल खिउँजुको हो। उनको घरमा किराना पसलदेखि फलफूल, ब्यूटी पार्लरसम्म सञ्चालन भएको छ।
खिउँजुले तीनवटा ढुंगेधारा पुरेर घर बनाएको आरोप छ। तर मजदुर किसान पार्टीका कार्यकर्ता भएकै कारण उनले घर सम्पन्नता प्रमाणपत्र पाए। र, उनलाई कसैले छुनसमेत सक्दैन। यहाँका वडाध्यक्ष श्याम खत्री, मेयर सुनिल प्रजापति मजदुर किसान पार्टीकै हुन्।
यो ठाउँमा ३४ वर्षदेखि मजदुर किसान पार्टीले चुनाव जित्दै आएको छ। २०२४ सालमा राजा महेन्द्रले सल्लाघारी तीनकुनेमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा स्थानीयसँग प्रतिरोपनी एक हजार रुपैयाँमा किनेका थिए। ०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेवाल ट्रस्टको नाममा गएको छ। तर यो जग्गा अहिले बढीमा ६०–६५ रोपनी मात्र बाँकी छ। अन्य जग्गामा मजदुर किसान पार्टीका कार्यकर्ताले घर ठड्याएका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा ३४ वर्षदेखि मजदुर किसान पार्टीको रजगज छ। मेयर सुनिल प्रजापति, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, सांसद सुनिल प्रजापतिले बत्ती, पानी, फोहोरको पैसा छुट दिएर वा व्यवसायीसँग राजस्व नलिएर, सरकारी जग्गा आफ्ना कार्यकर्तालाई हड्पन लगाएर, ठेक्कापट्टा र जागिर दिलाएर यो क्षेत्रमा लगातार चुनाव जितिरहेका छन्।
यिनीहरूले भक्तपुरमा विकास गरेर होइन, यहाँका जनतालाई भ्रमित बनाएर चुनाव जितिरहेका छन्, जुन कुरा अहिले बाहिरिँदै छ। यहाँ कतिसम्म छ भने मजदुर किसान पार्टीलाई भोट नदिए नागरिकताको सिफारिस समेत पाइँदैन।
भक्तपुरमा नेवार समुदायको बढी बसोबास छ। उनीहरूले नेपाली बुझ्दैनन्। अर्कोकुरा मजदुर किसान पार्टीले यहाँका जनतालाई यहाँभन्दा बाहिर जान दिएको छैन। उनीहरूले बाहिरको विकास देखेका छैनन्। त्यसकारण पनि उनीहरू भ्रममा छन्।
त्यसकारण आउँदो चुनावमा भक्तपुरबासीले प्रेम सुवाललाई भोट दिनुहुन्न। अब नयाँ प्रतिनिधि छान्नुपर्छ।
रुषा थापा
भक्तपुर














