बुधबार, २१ आश्विन, २०८३

अक्षर वार्ता – सुन्दर वाक्य कविता हुँदैन, कविता केवल शब्दको सजावट होइन- हिक्मत थापा

जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्।

गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचनाभित्र लुकेका अनुभूति, विचार, संघर्ष, सपना र सिर्जनायात्रासँग पनि संवाद गर्नेछौँ। महिनाको १५ र ३० गते प्रकाशित गर्ने भनिएको अक्षर वार्ता यहाँहरूको सल्लाह, सुझाव र प्रेमले प्रत्येक मंगलबार प्रकाशित गर्ने निर्णय गरेका छौँ। यो प्रेमका लागि हाम्रा पाठक स्रोताहरूमा धेरै प्रेम अनि आभार।

वि.सं. २०२५ मा अछाममा जन्मिनुभएका कवि तथा साहित्यकार हिक्मत थापा पिता गगनसिंह थापा र माता नूतन थापाका सुपुत्र हुनुहुन्छ। कैलालीको कटासेमा हुर्किनु भएका थापाको साहित्यिक चेतनाको पहिलो प्रेरणा आफ्नै पिता गगनसिंह थापा रहनुभएको छ। साहित्यिक यात्राको क्रममा उहाँको कविता सङ्ग्रह ‘चिबोकका केटीहरु ’ सन् २०१५ मा प्रकाशित भएको छ। चार दशकभन्दा लामो साहित्यिक यात्रामा उहाँले सयभन्दा बढी फुटकर कविता, निबन्ध, यात्रासंस्मरण तथा विभिन्न लेख रचनामार्फत नेपाली साहित्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ।


साहित्यिक पत्रकारिता र सम्पादनमा समेत सक्रिय थापाले ‘लक्ष्मी सडकका कविताहरू’ ( धरान, २०४४ – ०४६) को सम्पादन गर्नुभएको छ भने ‘ संप्रेषण साहित्यिक त्रैमासिक’, चितवनमा वि. सं. २०५२ देखि २०५९ सम्म कार्यकारी सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसैगरी ‘यात्रा –नियात्रा’, ‘ओयासिस’ लगायत थुप्रै साहित्यिक पत्रिका तथा संग्रहहरूको सम्पादनमा उहाँको सक्रिय सहभागिता रहँदै आएको छ। हाल नाइजेरियाको लेगोसमा बसोबास गरिरहनुभएका थापा प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र सिर्जनाको यात्रालाई निरन्तरता दिइरहनुभएको छ। उहाँ नेपाल अफ्रिका साहित्य समाज, गगन फाउन्डेसन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ लगायतका साहित्यिक संस्थासँग आबद्ध हुनुहुन्छ।


अछामको माटोबाट सुरु भएको उहाँको साहित्यिक यात्रा आज अफ्रिकाको भूगोल सम्म फैलिएको छ। भूगोल फेरिए पनि शब्दसँगको सम्बन्ध र सिर्जना प्रतिको निष्ठा उस्तै छ। चार दशकभन्दा लामो समयदेखि नेपाली साहित्यको खेतीमा निरन्तर लागिरहनुभएका आदरणीय सर्जक हिक्मत थापासँग ‘अक्षर वार्ता With Madan’ मा आज कविता, सिर्जना, प्रवास र साहित्यिक यात्राका अनेक पाटाहरूमा कविता गन्थन गर्नेछौँ।
आदरणीय हिक्मत थापाज्यू, ‘अक्षर वार्ता With Madan ’ मा हार्दिक स्वागत छ। सुरुवातमै तपाईंलाई मन परेको तपाईंको कविता

  • नमस्कार एवं धन्यवाद।

” म परदेशी “

ति  ढुङ्गा, माटो, पहाड

जङ्गल र निर्जन–भूमिहरु

अझ भनौं

कति समुद्र होलान्

मेरो पैतलाका चापसँग छोडिएका

म त हिँडे परदेश ।

युगौँदेखि

आफ्नै पुर्खाको नियति भोग्दै

पुगेँ उता सुरिनाम र यता पपुआ

अनाम भैँ बिर्सिएँ आफ्नै घरदेश

म परदेशी ।

कहाँ राख्यौं तिम्रो आकाश ?

कहाँ छोड्यौ तिम्रो हिमाल ?

यता तिम्रो इतिहासले

कानेखुसी गरिराखेको होला

बिहान मिर्मिरेमा चल्ने हावाको झोकासँगै

भन्दै होलान्

तिम्रो माटोको हराएको सुवाससँगै

सबै यता सपना भइसकेका छन्,

तिम्रा जिजीविषाहरु

मानौ,

तिमी साटिरहेका छौं अनाम वस्तुहरु

सपनासँग

परदेशी भएर

अझै साहारा मरभूमि भन्दा पर–पर

अमेजनका जङ्गलसँग नजिकिँदै ।

यता

म अझै बात मारिरहेको छु

मनका सपनाहरुसँग,

म परदेशी ।

  • हिक्मत थापा

१. कविता के हो र के होइन ? कविता लेख्ने निर्णय गरेर कविता लेखिन्छ कि कुनै अनुभूति, दृश्य, पीडा, प्रेम वा विद्रोहले कविलाई लेख्न बाध्य बनाउँछ? तपाईंको कविता तपाईंले लेख्नुहुन्छ, कि कुनै अदृश्य समयले तपाईंको हात समाएर लेखाउँछ?

  • मेरो विचारमा कविता कुनै परिभाषा भित्र बाँधिदैन । कविता मानिसले देखेको, भोगेको, अनुभूति गरेको र कहिलेकाहीँ भन्न नसकेको कुराको एउटा विशेष अभिव्यक्ति हो। कविता लेख्छु भनेर कलम लिएर बस्दा पनि कविता आउन सक्छ, तर मेरा धेरैजसो कविता त्यसरी लेखिएका हैनन् ।

कुनै दृश्य, कुनै मान्छे, कुनै स्मृति, पीडा, प्रेम, विस्मय वा समाजको कुनै घटनाले मनभित्र जब हलचल गरिरहन्छ। त्यसले एउटा वाक्य खोज्छ, एउटा शब्द खोज्छ अनि कविता बन्छ । अनि कहिलेकाहीँ लाग्छ मैले कविता लेखेको होइन, कविताले मलाई लेख्न बाध्य बनायो। त्यस अर्थमा कविता मेरो योजनाभन्दा बढी मेरो अनुभूतिको परिणाम हो। अदृश्य समयले हात समाएर लेखाएको अनुभूति पनि मलाई धेरैपटक भएको छ।

२. कवितालाई कसैले भावनाको भाषा भन्छ, कसैले सौन्दर्यको, कसैले विद्रोहको। तर आज सामाजिक सञ्जालमा दुईचार सुन्दर वाक्यलाई पनि कविता भनेर प्रस्तुत गरिन्छ। तपाईंको दृष्टिमा कविता र कविताजस्तो देखिने लेखाइ बीचको सीमा कहाँबाट सुरु हुन्छ? शब्द सुन्दर हुँदैमा कविता हुन्छ कि शब्दभित्र एउटा नयाँ संसार जन्मिनुपर्छ?

  • सुन्दर वाक्य कविता हुन सक्छ, तर प्रत्येक सुन्दर वाक्य कविता हुँदैन। कविता केवल शब्दको सजावट होइन। शब्दले पाठकको मनभित्र एउटा अनुभूति, प्रश्न, दृश्य वा संसार निर्माण गर्न सक्नुपर्छ। म कविता पढ्दा शब्द भन्दा पनि शब्दले दिने आयाम खोज्छु। एउटा राम्रो कविताले पढिसकेपछि पनि पाठकको मनमा केही बेर प्रश्न गरिरहन्छ काव्यमा कथा भनिरहन्छ।

त्यसैले कविता र कविताजस्तो देखिने लेखाइ बीचको सीमा शब्दको सुन्दरता भन्दा अनुभूतिको गहिराइ, बिम्बको मौलिकता र अभिव्यक्तिको इमानदारीले निर्धारण गर्छ भन्ने लाग्छ।

३. कहिलेकाहीँ एउटा शब्दले पूरा कविताको दिशा बदलिदिन्छ। तपाईं कविता लेख्दा शब्दलाई आफ्नो इच्छाअनुसार चलाउनुहुन्छ कि शब्दले नै तपाईंलाई आफ्नो बाटोमा हिँडाउँछ?

  • कविता लेख्न बस्दा सुरुमा शब्दलाई म चलाउन खोज्छु। तर कविता अगाडि बढ्दै जाँदा शब्दले नै आफ्नो बाटो देखाउन थाल्छ।  कहिलेकाहीँ एउटा सामान्य शब्दले कविताको पूरा अर्थ बदलिदिन्छ। त्यसैले कविता लेख्नु भनेको आफूले भन्न चाहेको कुरा शब्दमा हाल्नु मात्र होइन; शब्दले के भन्न खोजिरहेको छ, त्यसलाई पनि सुन्नु हो।

४. नेपाली कवितामा प्रेम अत्यन्त प्रिय विषय हो। तर प्रेमसँगै भोक पनि छ, श्रम पनि छ, किसान पनि छ, मजदुर पनि छ, परदेश पनि छ, सत्ता पनि छ, मृत्यु पनि छ। कविता प्रेमको आँखाबाट बाहिर निस्केर समाजको आँखामा हेर्न तयार छ? कि कविले पनि संसारको दुःखभन्दा आफ्नो दुःखलाई नै ठूलो ठानिरहेको छ?

  • प्रेम कविता हो, तर जीवन प्रेम मात्रै होइन। भोक, श्रम , खुशी , पीडा , गाउँघर ,  परदेश, असमानता, सत्ता, मृत्यु र संघर्ष पनि जीवनकै हिस्सा हुन्। मलाई लाग्छ कविले आफू वरिपरिको समाजबाट आँखा चिम्लनु हुँदैन। एउटा मजदुरको पसिना, किसानको खेत, परदेशीको एक्लोपन वा आमाको प्रतीक्षा पनि कविताको विषय हो।

तर सामाजिक कविता लेख्नकै लागि नारा लेख्नु आवश्यक छैन। कहिलेकाहीँ एउटा आमाको आँखाबाट संसारको ठूलो सामाजिक यथार्थ देखिन सक्छ। कविता समाजको भाषण होइन; समाजलाई अनुभूत गराउने माध्यम हो।

५. हामी सुन्दर कविता पढ्न चाहन्छौँ। तर कहिलेकाहीँ समाजलाई सबै भन्दा आवश्यक कविता त्यही हुन्छ, जसले हाम्रो आराम खोसिदिन्छ। तपाईंका लागि कविताको पहिलो धर्म सौन्दर्य हो कि सत्य? र यदि सत्य कुरूप छ भने कविले त्यसलाई पनि सुन्दर बनाएर लेख्नुपर्छ?

  • मेरो लागि सत्य र सौन्दर्य एकअर्काका विरोधी होइनन्। कविता सुन्दर हुनुपर्छ, तर सुन्दरताका नाममा सत्यलाई लुकाउनु हुँदैन।  सत्य कुरूप छ भने त्यसलाई कृत्रिम रूपमा सुन्दर बनाएर प्रस्तुत गर्नु आवश्यक छैन। बरु त्यही कुरूप सत्यलाई यस्तो कलात्मक भाषामा राख्न सक्नुपर्छ, जसले पाठकलाई त्यसबाट भाग्न होइन, त्यसतर्फ हेर्न बाध्य बनाओस्। कविताको सौन्दर्य सत्यलाई ढाक्ने पर्दा होइन, सत्यलाई अझ गहिरोसँग देखाउने  आँखीझ्याल हुनुपर्छ।

६. कवि प्रायः प्रश्न गर्ने मान्छे मानिन्छ। तर हरेक कविता विद्रोही हुनुपर्छ भन्ने छैन। कविता सत्तासँग प्रश्न नगरी केवल फूल, चन्द्रमा र प्रेम लेखेर पनि आफ्नो समयप्रति इमानदार हुन सक्छ? कि चुपचाप सुन्दर कविता लेख्नु पनि कहिलेकाहीँ एउटा राजनीतिक मौनता हो?

  • हरेक कविता विद्रोही हुनुपर्छ भन्ने म मान्दिनँ। फूल लेख्नु पनि आवश्यक छ, प्रेम लेख्नु पनि आवश्यक छ। मानिस केवल राजनीतिक प्राणी होइन, ऊ प्रेम गर्ने, सपना देख्ने र सुन्दरता खोज्ने प्राणी पनि हो।

तर कविले आफ्नो समयका पीडाहरूप्रति पूर्ण रूपमा आँखा बन्द गरेको छ भने त्यो मौनताको अर्थ पनि पाठकले खोज्न सक्छ। त्यसैले कविता सत्ताको विरोधमै हुनुपर्छ भन्ने होइन, तर कविको संवेदना आफ्नो समयबाट अलग हुन सक्दैन।

७. सामाजिक सञ्जालले कविलाई प्रकाशकको ढोका नढकढक्याई हजारौँ पाठकसम्म पुग्ने अवसर दिएको छ। तर यही माध्यमले कवितालाई ‘छिटो पढिने सामग्री’ पनि बनाइरहेको छ। भ्यु, लाइक र सेयरको संख्याले कविताको मूल्य निर्धारण गर्न थालेको त छैन? आज कविले पाठक खोजिरहेको छ कि एल्गोरिदम?

  • सामाजिक सञ्जालले कविलाई ठूलो अवसर दिएको छ। पहिले प्रकाशक, पत्रिका वा साहित्यिक कार्यक्रम , साहित्यिक  संस्थाको माध्यम चाहिन्थ्यो, अहिले एउटा कविताले हजारौँ मानिससम्म एकैछिनमा पुग्न सक्छ।

तर यसको अर्को पक्ष पनि छ। लाइक, कमेन्ट र सेयरको संख्या साहित्यिक गुणस्तरको मापन होइन। भाइरल हुनु र राम्रो कविता हुनु एउटै कुरा होइन।

मलाई लाग्छ कविले एल्गोरिदमलाई होइन, पाठकको मनलाई सम्बोधन गर्नुपर्छ। लोकप्रियता आउन सक्छ, जान सक्छ, तर राम्रो कविता पाठकको स्मृतिमा बसिरहन्छ ।

८. एउटा असहज प्रश्न: तपाईंले देश छोड्नुभएको हो, कि देशले तपाईंलाई छोड्न बाध्य बनाएको हो? तपाईको कविता सङ्ग्रह प्रकाशित छ? छ भने कुन कुन सङ्ग्रह बजारमा उपलब्ध छन? सङ्ग्रह प्रकाशित गर्दाका कथा सुनाउनु हुन्छ ? छैन भने तपाईको कविता सङ्ग्रह प्रकाशन कहिले सम्म हुन्छ ?  र केही कविता  ।।

  • देश छोड्नु मेरो लागि देशसँग सम्बन्ध टुटाउनु होइन। शरीरले देश छोडे पनि स्मृति, भाषा, सम्बन्ध र जिम्मेवारीले देश छोडेको छैन । परदेशमा बसेपछि त झन् आफ्नो देशभित्रका साना-साना कुरा पनि बढी देखिन थाल्छन्। नाइजेरियामा बसेको लामो समयले मलाई अर्को भूगोल, अर्को समाज र अर्को संस्कृतिसँग नजिकबाट परिचित गराएको छ। यसले मेरो नेपालीपनलाई कमजोर बनाएको भन्दा पनि त्यसलाई अर्को कोणबाट हेर्ने अवसर दिएको छ र अझ नेपालसंग नजिक बनाएको छ ।

मेरो  पहिलो कविता संग्रह ” चिबोकका केटीहरु ” सांग्रीला बुक्सले २०१५ मा प्रकाशन गरेको छ । भने दोश्रो कविता संग्रह प्रकाशनको तयारीमा छ । मेरो केही कविताहरू पाठकले सामाजिक सञ्जाल तथा विभिन्न साहित्यिक  पत्र पत्रीका र संकलनहरु मार्फत बर्षौ देखि  पढीरहनुभएको छ।  

त्यसो त मेरो कविताकर्म वि. सं. २०४४ देखि धरानमा ” लक्ष्मी सडकका कविताहरु ” को सम्पादक भएर प्रारम्भ भएको हो । २०४६ चैतको मधुपर्कमा मेरो छोटो कविता “धरान” छपिएको थियो । त्यति नै बेला देखि कविता लेख्ने , वाचन गर्ने र पत्र पत्रीकामा प्रकाशित हुन थालेका हुन । पछि चितवनमा  “संप्रेषण” साहित्यिक त्रैमासिकको कार्यकारी सम्पादक भएर  साहित्यिक सम्पादनमा  निरन्तर रहे ।

९. एक मिनेटको भिडियोमा सुनिने कविता भाइरल हुन्छ, तर एउटा राम्रो कविता पढ्न पाठकलाई केही समयसम्म गाह्रो भइरहेको छ। हामीले कविता छोटो बनाएका हौँ कि पाठकको धैर्य छोट्याएका हौँ ? र भोलि सामाजिक सञ्जाल हरायो भने आजका कति कविता बाँकी रहन्छन्?

  • दुवै भएको हुन सक्छ। सामाजिक सञ्जालले हाम्रो पढ्ने बानी परिवर्तन गरेको छ। छोटो सामग्री छिटो ग्रहण गर्न सजिलो भएको छ। तर गम्भीर कविता सधैँ एक मिनेटमा सकिँदैन। कतिपय कविता पढ्न समय लाग्छ, र त्यसैमा त्यसको सौन्दर्य हुन्छ।

सामाजिक सञ्जाल भोलि नरहे पनि राम्रो कविता हराउँदैन। माध्यम बदलिन्छ, तर राम्रो सिर्जनाको जीवन माध्यमभन्दा लामो हुन्छ।

१०. कविताले स्वतन्त्रता, समानता र प्रेमको कुरा गर्छ। तर कहिलेकाहीँ त्यही कविताभित्र स्त्रीलाई केवल सौन्दर्यको वस्तु बनाइएको हुन्छ, श्रमलाई अदृश्य बनाइएको हुन्छ, वृद्धावस्थालाई कमजोर बनाइएको हुन्छ, अपाङ्गतालाई प्रतीक बनाएर अपमान गरिएको हुन्छ। कवि समाजको रूढी तोड्ने मान्छे हो भने कविताभित्रका रूढीहरू कसले तोड्ने? कविले आफूभित्रको पूर्वाग्रहसँग पनि कविता लेख्नुअघि लड्नुपर्छ?

  • सबैभन्दा पहिले कविले आफैँले। कवि समाजको आलोचक हुनुअघि आफैँ पनि त्यही समाजको सदस्य हो। त्यसैले आफूभित्र भएका पूर्वाग्रह, रूढी र सीमित दृष्टिलाई प्रश्न गर्न नसक्ने कविले बाहिरको समाजलाई मात्र प्रश्न गरेर पुग्दैन। 

समयसँगै कविताको पनि आत्म समीक्षा  हुनुपर्छ। स्त्रीलाई केवल सौन्दर्यको वस्तु बनाउने, श्रमलाई अदृश्य बनाउने वा कुनै समुदाय वा अवस्थालाई कमजोर प्रतीकका रूपमा प्रयोग गर्ने प्रवृत्तिमाथि कविले आफैँ पनि सचेत हुनुपर्छ।

११. कविले अरूलाई लुकाउन सक्छ, आफूलाई लुकाउन सक्दैन भनिन्छ। तपाईंका कविताहरू पढेर पाठकले तपाईंलाई कति पढ्न सक्छ? तपाईंले कहिल्यै यस्तो कविता लेख्नुभएको छ, जुन प्रकाशित भएपछि आफैँसँग डर लाग्यो?

  • कविता कविको आत्मकथा होइन, तर कविको केही अंश त्यसमा अनिवार्य रूपमा हुन्छ। मेरो कविता पढ्दा पाठकले मेरो अनुभव, स्मृति, प्रेम, पीडा र समाजप्रतिको मेरो दृष्टिको केही अंश भेट्न सक्नुहुन्छ। तर कविता प्रकाशित भएपछि त्यसको अर्थ केवल कविको निजी सम्पत्ति रहँदैन। पाठकले आफ्नै जीवन र अनुभवबाट त्यसलाई नयाँ अर्थ दिन्छ।

यस्तो कविता पनि लेखेको छु , जसमा आफूले लुकाउन खोजेको कुनै सत्य अनायासै बाहिर आएको  पनि छ । त्यस्ता क्षणमा  आफ्नै शब्दसँग डर पनि लागेको छ । तर त्यसलाई मैले परिवर्तन गरिन । तर राम्रो के भयो भने पाठकले त्यसलाई साहित्य र सिर्जनाकै अर्थमा मात्र पढी दिए ।

१२. कविता भावले मात्र बाँच्दैन; भाषा, लय, बिम्ब र मौनताले पनि त्यसलाई जीवन दिन्छ। एउटा कविता अर्को भाषामा अनुवाद गर्दा त्यसको कति आत्मा बाँकी रहन्छ? र तपाईंको मातृभाषा वा स्थानीय भाषाले तपाईंको कवितालाई नेपालीभन्दा फरक के दिएको छ?

  • कविताको अर्थ अनुवाद गर्न सकिन्छ, तर त्यसको सम्पूर्ण भाव अनुवाद गर्न कठिन नै  हुन्छ। विशेष गरी नेपाली भाषाका  लय, लोकबिम्ब र सांस्कृतिक संकेतहरू अर्को भाषामा पुर्‍याउँदा केही कुरा छुट्न सक्छन्।

मेरो लेखनमा नेपाली भाषा मात्र होइन म बसेको देशको मेरो भूगोल, स्थानीय शब्द , जनजीवन , नाम  , स्थान र लोकस्मृतिको पनि प्रभाव छ। ती शब्दहरूले कवितालाई म बसेको  माटोसँग जोड्छन्।  तर राम्रा शिल्पी अनुवादक रहे जस्ताको तस्तै भाव आउने गरि अनुवाद हुन सक्छन । मेरा केही कविता अंग्रेजीमा अनुवाद छन । जसमा मेरा कविता पुरैं आत्मा सहित आएको महशुश गरेको छु ।

१३. हरेक कविको कवितामा भूगोल लुकेको हुन्छ ? कतिपय कविता पढ्दा पुरानो मान्छे सम्झिन्छौँ, कुनै गन्ध आउँछ, कुनै बाटो देखिन्छ, कुनै छुटेको घर आँखाअगाडि उभिन्छ। तपाईंका लागि कविता स्मृतिको घर हो कि विस्मृतिविरुद्धको प्रतिरोध? कुन स्मृति छ, जसलाई तपाईंले अझै कवितामा लेख्न सक्नुभएको छैन?

  • मेरो लागि कविता दुवै हो। मानिस टाढा गएपछि स्मृतिको मूल्य अझ बढी हुन्छ। बाल्यकालका बाटा, गाउँका मान्छे, घरको आँगन, कुनै गन्ध, कुनै नदी वा कुनै पुरानो आवाज—यी सबै समयसँगै हराउँदै जान्छन्। कविता ती हराउँदै गएका क्षणलाई बचाउने एउटा प्रयास हो।

सायद मेरो सबैभन्दा धेरै नलेखिएको कविता पनि त्यही बाल्यकाल र आफ्नै भूगोलभित्रका केही स्मृतिहरू हुन्। केही सम्झनाहरू यति जबरजस्त हुन्छन् कि तिनलाई स्मृतिमा राख्नुभन्दा कवितामा राख्नु सजिलो लाग्छ।

१४.  कविताका पुस्तक प्रकाशित हुन्छन्, विमोचन हुन्छन्, कार्यक्रम हुन्छन्। तर कविले कविताबाट बाँच्न सक्ने अवस्था कति छ? हामी साहित्यलाई सम्मान गर्छौँ कि साहित्यकारको श्रमलाई निःशुल्क उपभोग गर्छौँ? नेपाली कविताको आर्थिक भविष्य तपाईंलाई सम्भावनायुक्त देखिन्छ कि चिन्ताजनक?

  • साहित्यप्रति हाम्रो सम्मान छ, तर साहित्यकारको श्रमलाई आर्थिक रूपमा सम्मान गर्ने संस्कार अझ बलियो बन्न आवश्यक छ।

कविले लेख्न समय, श्रम र जीवन लगानी गर्छ। पुस्तक प्रकाशित भएपछि त्यसको बिक्री, पारिश्रमिक, रोयल्टी र लेखकको अधिकारका विषयमा पनि हामीले गम्भीर रूपमा सोच्नुपर्छ।

नेपाली साहित्यको बजार ठूलो हुँदैछ, डिजिटल माध्यमले नयाँ सम्भावना पनि दिएको छ। तर त्यसलाई दिगो साहित्यिक अर्थतन्त्रमा रूपान्तरण गर्न प्रकाशक, लेखक, पाठक, पुस्तकालय र राज्य  सबै पक्षको भूमिका आवश्यक छ।

१५.असहज प्रश्न: यदि तपाईंलाई अक्षर वार्ताका लागि सर्जक सिफारिस गर्ने अधिकार दिइयो, र त्यो सिफारिस चर्चा, पहुँच, मित्रता, गुट वा सामाजिक सञ्जालको लोकप्रियताका आधारमा होइन, केवल सिर्जनाको गुणस्तरका आधारमा गर्नुपर्ने भयो भने तपाईं कसको नाम सिफारिस गर्नु हुन्छ?

  • म एउटै नामलाई निर्णायक रूपमा अघि सार्नुभन्दा नेपाली कवितामा फरक पुस्ता, फरक भूगोल र फरक शैलीका धेरै सर्जकहरूलाई पढिनुपर्ने ठान्छु।

विशेष गरी चर्चाभन्दा बाहिर रहेर राम्रो लेखिरहेका कविहरूलाई अगाडि ल्याउनु महत्त्वपूर्ण छ। साहित्यमा पहुँच र लोकप्रियताभन्दा सिर्जनाको गुणस्तरलाई प्राथमिकता दिनुपर्छ।

  मैरा मनपर्ने धेरै नेपाली कवि सर्जक हुनुहुन्छ , मैले कसैलाई तोक्नु भन्दा पनि मौलिक रुपमा माटो र जनजीवनको सग्लो र सहज भाव कवितामा अटाउने कविहरुलाई शिफारिश गर्न चाहन्छु ।

१६. अन्तिम प्रश्न; यसपटक मेरो होइन। आजसम्म अरूले तपाईंलाई प्रश्न सोधे। अब तपाईंले आफैँलाई एउटा असहज प्रश्न सोध्नुपर्‍यो भने के सोध्नुहुन्छ? र त्यो प्रश्नको उत्तर दिन तपाईं आफैँ तयार हुनुहुन्छ?

  • म आफैँलाई सोध्ने प्रश्न हुन्छ —

तिमीले जीवनमा जे देख्यौ, जे भोग्यौ र जे सही ठान्यौ, त्यसको कति अंश साँच्चै इमानदारीपूर्वक लेख्यौ? र अहिलेसम्म जे लेख्यौ त्यसले नेपाली साहित्यलाई वास्तवमै के नयाँ दियो ?  

यसको उत्तर दिन सजिलो छैन। किनकि लेख्न बाँकी धेरै कुरा छन्।  अझै भन्नू पर्दा मैले अहिलेसम्म केही  खासैं  लेखेकै छैन र नेपाली साहित्यलाई अझैसम्म खासमै केही दिन सकेको छैन ।

१७. कविताका कुरा गर्दै गर्दा हामीले कविता मात्रै होइन, देश, परदेश, समाज, राजनीति, बजार र आफूलाई समेत प्रश्न गर्‍यौँ।अन्तिममा अक्षर वार्तालाई सुझाव  र तपाईका चर्चित कविताहरु.?

  • अक्षर वार्ताले कविसँग केवल “तपाईंले कविता किन लेख्नुहुन्छ?” भनेर सोधेर रोकिनुभन्दा कविको समय, समाज, , भाषा र जीवनसँगको सम्बन्धलाई पनि प्रश्न गरिरहेको छ। यस्तो असहज तर आवश्यक संवादलाई निरन्तरता दिनुहोस् भन्ने मेरो सुझाव छ।

साहित्यिक अन्तर्वार्ता केवल प्रचारको माध्यम नभएर पाठक र सर्जकबीच विचारको पुल बन्न सके त्यसको महत्त्व अझ बढ्छ। नयाँ पुस्ताका कवि, गाउँ–दुर्गम भूगोलमा लेखिरहेका सर्जक र चर्चामा नआएका राम्रा लेखकलाई पनि यस्ता वार्तामा ल्याउनुपर्छ।

 मेरा चर्चित भन्दा पनि आफैलाई संतुष्टी दिएका कविताहरु – 

म परदेशी

चिबोकका केटीहरु  

अफ़्रिकन कालो  कफी 

नेफरटिटी

ईबादानी फूल

 लखनौं आदि हुन ।

हिक्मत थापा
  • तस्बिर एआईद्वारा सिर्जना गरिएका हुन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार