लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जुम्लामा पनि सुरु भएको छ।
राष्ट्रिय मानवाधिकार आयोग जुम्लाको आयोजना तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुको समन्वय सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज पहिलो दिन जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रम गरेर सुरु गरिएको हो।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा लैङ्गिकतामा आधारमा हुने हिंसा विरुद्ध १६ दिने अभियान मनाइदै आइएको छ।
सन् १९९१ मा महिलाहरूको विश्वव्यापी नेतृत्वले सुरु गरेको यस अभियानमा हाल विश्वका १८७ देशहरूले यो अभियान मनाउँदै आइरहेका छन्।
राष्ट्रिय मानवाधिकार कार्यालय जुम्लाकी प्रमुख कल्पमा नेपाल (आचार्य)ले महिला विरुद्ध हुने हिंसा विरुद्धको यो अभियान सबै सरिक हुन आग्रह गरेकी छन्।
त्यस्तै उनले ‘लैङ्गिक हिंसा विरुद्धको यो १६ दिने अभियानले पनि महिला हुने हिंसा विरुद्ध केही टेवा पुग्ने बताइन्।
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले समाजमा विभिन्न कारणले लैङ्गिक हिंसा हुन्छ, महिनावारी, बोक्सी आरोप,शारीरिक कारणले समेत लैङ्गिक हिंसा हुने गरेको बताए।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेले भने ‘लैङ्गिक हिंसा पुरुष र महिलामा हुने भए पनि हाम्रो समाजमा महिला बढी लैङ्गिक हिंसाको सिकारमा परेको र लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न सबै एक हुनुपर्छ’
‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ मूल नारासहित यो वर्ष नेपालमा लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरिएको छ।















