कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय तेस्रो वर्षका विद्यार्थीहरूले स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धी ४५ दिने प्रयोगात्मक क्रियाकलाप सञ्चालन गरेका छन्।
सोही कार्यक्रमअन्तर्गत आज सुर्खेतको लेकबेसी नगरपालिकामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
जनस्वास्थ्य महाविद्यालयद्वारा संचालित स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सिकाइ कार्यक्रमअन्तर्गत गरिएको अभिमुखीकरण कार्यक्रम संयोजक दिलीप कुमार रावतको अध्यक्षतामा सम्पन्न भएको विद्यार्थी रोशन ताम्राकारले बताए।

कार्यक्रममा लेकबेसी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेल, उपप्रमुख विमला खड्कु, प्रशासन अधिकृत महेन्द्र कुमार शर्मा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यापक भरत काफ्ले लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विकास महतोले ४५ दिने तालिमको रोडम्याप, उद्देश्य, कार्यविधि तथा अपेक्षित परिणामबारे विस्तृत प्रस्तुति दिएका थिए।
उनले स्वास्थ्य प्रणालीका ६ आधारहरु सेवा प्रवाह, स्वास्थ्य जनशक्ति, स्वास्थ्य सूचना प्रणाली, आवश्यक औषधि तथा सामग्री, वित्तीय व्यवस्थापन र सुशासन बारे विस्तृत रूपमा प्रकाश पारे।
स्थानीय स्वास्थ्य सेवा प्रणाली व्यवस्थापन अभिमुखीकरणका क्रममा सेवा प्रवाहको पहुँच, जनशक्तिको क्षमता तथा प्रेरणा, सूचना व्यवस्थापनको विश्वसनीयता, स्वास्थ्य वित्त व्यवस्थापन तथा प्रणालीगत सुधारहरूबारे विद्यार्थीहरूले अध्ययन अवलोकन गर्ने उपप्राध्यापक भारत काफ्ले बताए।
कार्यक्रम ४५ दिनसम्म सञ्चालन हुने विद्यार्थी ताम्राकारको भनाइ छ।
















