जब चुनाव सकियो, मेरो हातमा आयो सरकारको उपहार, एउटा खाली भाषण र एउटा प्रमाणपत्र, जहाँ “धन्यवाद” मात्र लेखिएको थियो। मेरो पेट अझै खाली छ, तर तिम्रो कुर्सी गद्देदार छ।
मैले आफ्नो सबै शक्ति रित्याएँ, भोटको डब्बामा आफ्नो सपना हालें, सडकमा नाराहरू घन्काएँ, धुलो, घाम र भोकसँग सम्झौता गरें। किनकि मैले विश्वास गरेको थिएँ, तिमीले जित्दा हामी सबै जित्नेछौँ भनेर।
तर जब चुनाव सकियो, मेरो हातमा आयो सरकारको उपहार, एउटा खाली भाषण र एउटा प्रमाणपत्र, जहाँ “धन्यवाद” मात्र लेखिएको थियो। मेरो पेट अझै खाली छ, तर तिम्रो कुर्सी गद्देदार छ। मेरो छाला घामले पोलिएको छ, तर तिम्रो कोट चम्किलो छ।
यो उपहार, सपना र भरोसाको साटोमा आएको सबैभन्दा सस्तो सम्झना हो। जसको मूल्य मेरो आँसु, मेरो श्रम र मेरो मौन पीडा हो। अनि म सोच्दछु, अर्को चुनावमा फेरि म आफैँलाई रित्याउने किन?
किनकि यसपटक म आफ्ना सपनालाई नै उपहार दिनेछु, सरकारलाई होइन। म र मेरो गाउँलाई। हाम्रो जन्मदेखि आजसम्म अवसरको घामभन्दा बढी अन्यायको छायामा हिँडिरहेका छौँ।
सडक आउँछ रे, तर कहिल्यै हाम्रो ढोकासम्म पुग्दैन।
स्कूल खुल्छ रे, तर शिक्षकको नाम मात्र रजिस्टरमा हुन्छ।
अस्पताल छ रे, तर औषधीले कहिल्यै हाम्रो नसा छुँदैन।
हामीका सपना नदीपारको पुलजस्तै छन्, निर्माणको वाचा सुन्छौँ, तर कहिल्यै पुरा देख्दैनौँ। हाम्रा मान्छेहरू हातमा दरन्ती र कोदाली बोकेर देशको भोक मेटाउन खेत खन्छन्, तर आफ्नै भोक परदेश पुगेका छोराछोरीले मात्रै मेटाउँछन्। के यो अन्यायको बाढी सधैँ यस्तै रहन्छ?
कि कुनै दिन यो बाढीलाई रोक्ने बाँध हामी आफैं बन्नेछौँ?
त्यसकारण सरकारलाई जिताएको केही दिनपछि म आफ्नै जाजरकोटमा रहेर त्यहाँको वातावरण अवलोकन गर्ने क्रममा थिएँ।
अनि त्यो दिन,
म र मेरो गाउँ
इतिहासको पानामा होइन,
विजयको गीतमा गाइरहेका थियौँ।
केही समयपछि कार्यकालको शुभकामना दिँदै म र मेरो गाउँका मानिसहरू आ-आफ्नो घर अथवा कामतिर लागिसके। दिन बित्दै गयो। समाजमा विभिन्न घटना घट्न थाले।
जहाँ न्यायको पर्खाल स्थानीय सरकारलाई मानिन्थ्यो। घटनाका परिधि यस्ता हुन्थे कि जसलाई समाधान गर्न सरकार नै चाहिन्थ्यो, कहिले विवाहको सिफारिस बनाउन, कहिले झैझगडाको निवेदन, त कहिले सम्झौता, अनि कहिले मृत्यु दर्ताको प्रमाणपत्र बनाउने कामहरू परिरहन्थे।
होला, सरकारको काम त्यति मात्र नभई धेरै कुरामा अल्झिनुपर्थ्यो। तर आधारभूत आवश्यकताहरू भने यिनै थिए, जसलाई सरकारमा रहेका नेतृत्वहरूले बुझ्न सकेनन्।
अहिले आएर यी कुरा प्रमाणित हुँदैछ कि सरकारको नुन खाएकाहरूले देशको कानुन बुझेनन् भने, सरकारको गरीबको दिन बुझ्दैनन्।
जहाँ स्थानीय सरकार राखिएको छ, त्यहाँ जाँदा जनताको नेतृत्व कहिले भट्टीमा देखिन्छ, त कहिले जुवातासको जमातमा, कहिले विवाहको पार्टीमा।
अचम्म लाग्छ मलाई प्रश्न गर्न मन नभएको होइन, तर हामी जस्ता सोझासाझा जनताको कुरालाई बुझ्ने होइन, खिल्ली उडाउने गर्दछन्, त्यसकारण चुपचाप रहनु उचित जस्तो लाग्छ। सायद थोरै भए पनि पढेलेखेकै कारण होला।
यसरी आफ्नै आँखाअगाडि मेरो समाजले दु:ख पाइरहेको, निश्चित समयको न्याय पाएको छैन। पाउनुपर्ने सेवा–सुविधा पाएको छैन। यी देख्दा मनले मान्दैन।
केही शब्दहरू जाग्छन् मनमा, केही भावना। लेख्न खोज्दा मन भारी हुन्छ, कसरी परिभाषित गरौँ यो सरकारलाई? मनमा धेरै प्रश्न हुँदाहुँदै मौन बस्नुको पीडा भोगिरहेकी छु।
मेरो समाजले सानो आशा राखेर यो सरकारलाई जिताएको, यही दिन देख्नलाई थिएन होला। मेरो समाजको आशा यही होला, निश्चित समयमा आवश्यकता परिपूर्ति होस्, आवश्यक परेको खण्डमा सरकारले थोरै भए पनि अन्यायमा परेकालाई सहजता देओस्।
थाहा छैन, यो देशको कानुन के छ। तर मलाई लाग्छ, देशको कानुन म जस्तै एउटा सामान्य मानिसले नै बनाएको हो।
त्यसकारण म यहीँ कानुनको नीतिमा रहेर भन्छु कि यो समाजले चाहेजस्तै फेरि नयाँ कानुन बनोस्, जहाँ धेरै पीडितहरूले छटपटिमा बाँच्न नपरोस्, गरीब, असहाय, अपांग सबैले समानपूर्वक बाँच्न पाउने अधिकार होस्, महिला पुरुष सबैले स्वतन्त्रपूर्वक बाँच्न पाउने धारणा अभिव्यक्त गर्दछु।














