बिहीबार, २१ फाल्गुन, २०८२

जाँडरक्सी र जुवातासको चाड बन्दै दशैं, सरकार मुक्दर्शक!

दशैं भनेको रक्सी खाने र जुवातास खेल्ने चाड बनेको छ। शहरका खेतीयोग्य जमिन र सार्वजनिक सम्पदा मासिँदा त्यसको असर जनजीवनमा परेको हो। मानिसहरूले आफ्नो समय खर्च गर्ने ठाउँ नपाउँदा उनीहरू विकृति, गैरकानूनी काममा संलग्न भइरहेका छन्।

तीन दशकअघिसम्म गाउँदेखि शहरसम्म दशैं आउनेबित्तिकै डोरी, लिङ्गे तथा रोटे पिङ हालिन्थ्यो। कतिपय ठाउँमा चार वटा बास गाडेर डोरी पिङ हालिन्थ्यो भने कतिपय ठाउँमा पिपलको रुखमा पिङ हालिन्थ्यो। त्यतिबेला ढुंगा र माटोको घर तथा मतान हुन्थ्यो।

झिंगटी, खर, पराल, जस्ता, ढाल्नी, छलि, टायल, ढुंगाले छाएको हुन्थ्यो। दशैं आउनासाथ घर, मतानमा लिपपोत गरिन्थ्यो। सेतो कमेरो, रातो माटो र पहेँलो चुनले लिपपोत गरेर दुलो परेको ठाउँ गोबरले टालिन्थ्यो।

घर वरपरको झारपात उखालेर बाटो पनि सफा गरिन्थ्यो। गाउँलेहरू मिलेर आफ्नो गाउँमा भएका पाटीपौवा, मठमन्दिर, विद्यालयहरू सफा गर्थे। दशैंमा माछामासु धेरै खाइन्छ। मासु नखानेले पनि पनीर खान्छन्। त्योसँगै फलफूल, मिठाई पनि खाइन्छ।

पहिले दशैं मनाउँदा सामूहिक एकता हुन्थ्यो। छरछिमेकको घरमा मासु पाकेको छ कि छैन? भनेर हेरिन्थ्यो। र, पाकेको रहेनछ भने आफ्नो घरमा पाकेको मासु दिइन्थ्यो। दशैं मान्न नसक्ने गरिबलाई गाउँलेहरू नै मिलेर सहयोग गर्थे।

उदाहरणका लागि दशैंमा कसैको घरमा धान छैन भने छरछिमेकले उसलाई धान दिन्थ्यो। र, दशैंपछि आफ्नो खेतबारीमा काम गर्न लगाउँथ्यो। कतिपयले सापटी पैसा पनि दिन्थे। यसरी पहिलापहिला दशैं सबैले मनाउनुपर्छ भन्ने मान्यता थियो।

दशैंमा गाउँलेहरू सँगै बसेर रमाइलो गर्थे। उनीहरू गैरकानूनी काम गर्दैनथे। तर, अहिले यसको ठ्याक्कै उल्टो छ। पछिल्लो समय दशैं एकताको चाड नभई विकृतिको चाड बन्दै गएको छ। कानूनअनुसार जुवातास, लंगुरगुच्चा खेल्न पाइँदैन।

यद्यपि, गाउँदेखि शहरसम्म दशैंमा जुवातास, लंगुरगुच्चा खेलेको वा खेलाएको पाइन्छ। यसले धेरैको घरपरिवार तहसनहस बनाएको छ। यस्तो खेल्दा आफूसँग भएको सबै सम्पत्ति गुमाएपछि कतिपयले आफ्ना परिवारसङ्गै आफूलाई नै सिध्याएका छन्।

बजारमा दशैंको चहलपहल छ। योसँगै बाटोमा जुवातास, लंगुरगुच्चा खेलिरहेको पनि छ्यापछ्याप्ती देखिन्छ। प्रहरी भने यो देख्दैन। यता, भट्टी पसलहरू बिहान ३ बजेदेखि राति ११ बजेसम्म खुल्छन्। भट्टी पसलमा देशी मल, भैंसी र राँगाको हड्डी, पुराना कपडा तथा जुत्ता, सख्खरलगायतबाट रक्सी बनाएर बेचबिखन गरिरहेको अवस्था छ।

यस्तो रक्सी सेवा गर्दा मानिसको कलेजो, फोक्सो, मिर्गौला काम नलाग्ने अवस्थामा पुग्छ। अर्कोतिर, रक्सी सित्तैमा दिइँदैन। पैसा तिर्नुपर्छ। अनि यस्तो रक्सी पैसा तिरीतिरी सेवन गर्दा मानिसहरूले पैसासँगै ज्यानै गुमाउँछन्।

अहिले रोटे, डोरीजस्ता पिङहरू विस्थापित भइसकेका छन्। शहरमा त कतै पिङ नै देखिँदैन। सँगै सार्वजनिक काम गर्न पनि मानिसहरूले छोडिसके। अहिले मानिसहरू आफ्नै घर सफा गर्दैनन्। बाटो, मठमन्दिर, तालपोखरी, ढुंगेधारा सरसफा गर्नु त परको कुरा हो।

सार्वजनिक काम गर्नुपरेमा मानिसहरूको दाँतबाट पसिना आउँछ। तर, जुवातास, लंगुरगुच्चा खेल्न भने उनीहरू रमाउँछन्। सरकारले केही वर्षअघि प्रधानमन्त्री रोजगारी कार्यक्रम ल्यायो। राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई जागिर लगाउन यो कार्यक्रम ल्याएका थिए।

कार्यक्रमअन्तर्गत बाटो मर्मत तथा सरसफाईको काम लगाउने गरिएको छ। यसबापत कामदारलाई दैनिक साढे सात सय पारिश्रमिक दिइन्छ। फेरि उनीहरूले काम चाँहि केही गर्दैनन्। बिहान १२ बजे कार्यस्थलमा पुग्छन् भने थोरै झारपात उखेलेर दिउँसो ३ बजे नै घर टाप कस्छन्।

साथै, कार्यक्रममा आवश्यक सामग्री (कुचो, डोको, ज्याकेट, डस्टबिन, जुत्ता, साबेल, पन्जा, टोपीलगायत) किन्दा पनि भ्रष्टचार गर्ने। एक सय नपर्ने सामानको एक हजारको बिल बनाउने। रोजगारीको नाममा प्रधानमन्त्री रोजगारी कार्यक्रममा वर्षेनी खर्बौं रकम भ्रष्टाचार हुँदै आएको छ।

यो कार्यक्रमकै कारण पनि जनताले सार्वजनिक काम गर्न छोडे। पैसा आउने भएपछि सित्तैमा कसले किन सार्वजनिक काम गर्नु। गाउँमा घर, मतान खाली छ। ढोकामा ताल्चा झुण्डाएर र खेतबारी बाँझो छोडेर कोही शहर पसेका छन् त कोही विदेश पलायन।

शहरमा बस्ती नै बस्ती छ। कतै खाली ठाउँ देखिँदैन। जसका कारण दशैंमा पिङ हाल्ने चलन हरायो भने सार्वजनिक काममा मानिसहरूको रुची मर्यो। शहरमा त सार्वजनिक सम्पत्ति सबै व्यक्तिका नाममा गएका छन्।

पाटीपौवा, मठमन्दिर, ढुंगेधारा, तालपोखरीलगायत सम्पदा मासेर घर तथा भवन बनाइएको छ। सम्पदा नै नभएपछि सरसफाई कसरी गर्नु? अनि दशैंमा फुसर्द हुँदा घरधनी होस् या डेराबाहाल दुवै जुवातास, लंगुरगुच्चा, भट्टी पसल पुग्ने।

दशैं भनेकै उनीहरूको लागि रक्सी खाने र जुवातास खेल्ने चाड बनेको छ। शहरका खेतीयोग्य जमिन र सार्वजनिक सम्पदा मासिँदा त्यसको असर जनजीवनमा परेको हो। मानिसहरूले आफ्नो समय खर्च गर्ने ठाउँ नपाउँदा उनीहरू विकृति, गैरकानूनी काममा संलग्न भइरहेका छन्।

दशैं नेपालीको यत्तिकै महत्त्वपूर्ण चाड बनेको होइन। दशैं एकताको चाड हो। एकअर्कालाई बुझ्ने चाड हो। आफन्त, साथीभाइ, गाउँलेसँग बसेर रमाइलोसँगै दुख साट्ने चाड हो। तर, अहिले त पैसा हुनेका लागि सधैं दशैं। पैसा नहुनेलाई वर्षमा एक दिन आउने दशैं पनि बोझ बनेको छ। यसले अब दशैंको महत्त्वसमेत हराउँदै गएको छ।

त्यसकारण अब सरकारले दशैंको नाममा हुने विकृति अन्त्य गर्नुपर्छ। जनता पनि सचेत हुनुपर्छ। दशैं रक्सी, जुवातास खेल्ने चाड होइन, एकता, सहयोगको चाड हो भनेर जनताले बुझ्नुपर्छ। हुनेले नहुनेलाई सहयोग गरौं। सबै मिलेर दशैं मनाऔं।

अर्को कुरा, परिवार पनि मिलौं। दशैंभरि बाउ भट्टी पसलमा, श्रीमती, छोराछोरी घरमा भोकभोक हुने परिस्थिति नबनाऔं। जुवातास खेलेर सम्पत्ति नगुमाऔं। जनता सचेत भएमा दशैंका नाममा मौलाएका विकृति आफैं अन्त्य हुने छ।

दशैंका लागि काठमाडौं उपत्यकामा मात्रै हजारौं सुरक्षाकर्मी खटाइएको सरकार बताउँछ। अहिले जनता गृहमन्त्री ओमप्रकाश अर्याललाई सोध्छन्, ‘त्यतिधेरै सुरक्षाकर्मी खटाएको भए बाटोमा जुवातास, लंगुरगुच्चा खेल्नेहरूलाई किन कारबाही नगरेको?’

सँगै दशैंको मौका छोपेर राँगो भनेर भैंसी, खसीको भनेर बोका, च्याङ्ग्राको भनेर खसी र मरेको कुखुरा बेचिरहेकामाथि किन कारबाही नभएको? नक्कली मदिरा बेचिरहेकामाथि पनि कारबाही भएको देखिँदैन। यता, कतिपयले होटल, रेष्टुरेन्टमा यौन धन्दा चलाइरहेका छन्।

त्यसप्रति पनि सम्बन्धित निकायको ध्यान गएको देखिँदैन। बजारमा के भइरहेको छ? गृहमन्त्री अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई थाहै छैन। अर्याल वरिष्ठ अधिवक्ता हुन् भने कार्की पूर्वप्रधानन्यायाधीश हुन्।

अनि पहिल्यैकै सरकारले बनाएको कानून त कार्यान्वयन गराउन नसक्ने प्रधानमन्त्री र गृहमन्त्रीले आउँदो फागुन २१ गते तोकिएको चुनाव गराउनेमा आशंका उत्पन्न भएको छ। उनीहरूकै असक्षमताका कारण दशैंमा विकृति त बढ्यो नै सँगै चोरी, अपराध, लुटपाट मौलाउने पनि देखिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार