मंगलवार, १३ माघ, २०८२

हातमा सुनको कचौरा लिएर भिख मागिरहेको देश

नेपालमा स्रोतको कमी छैन। यदि जलविद्युत मात्रै उत्पादन गरेको भए पनि आफूलाई पुगेर पनि दक्षिण एसियालाई बिजुली बेच्न सक्ने क्षमता छ। तर, यसो गर्न नसक्दा अझै गाउँ–गाउँमा विद्यार्थीहरूले अन्धकारमै पढ्नुपर्छ।

नेपाल भन्नासाथ संसारले हिमाल सम्झन्छ, बुद्ध सम्झन्छ र जताततै फैलिएको हरियाली देख्छ। तर, कस्तो विडम्बना भने यति धेरै स्रोत साधन भएको हाम्रो देश अझै पनि गरिबी, पछौटेपन र निराशा को कालो बादलभित्र मडारिएको छ। कहिलेकाहीँ लाग्छ, यो देशले हातमा सुनको थाल बोकेको छ, तर त्यही थाल लिएर भिख माग्नुपर्ने अवस्था छ।

नेपाल भारत र चीनजस्ता दुई विशाल देशबीचमा बसेको छ। एकातिर चीन संसारकै ठूलो अर्थतन्त्र बन्नतिर लाग्दैछ भने अर्कातिर भारत विज्ञान र प्रविधिको दुनियाँमा अगाडि बढ्दैछ। यस्ता दुई देशबीच बसेको हाम्रो देशको यथार्थ फरक छ। यहाँ के छैन ? हिमाल, पहाड, तराई सबै छ। नदी–खोला छ। हराभरा खेतबारी छ। तर त्यसको उपयोग गर्न नसक्दा हामी पछि परेका छौँ।

हामी पछि पर्नुको मुख्य दोष राजनीति अस्थिरता हो। नेपालमा दशकौँ देखि सरकार फेरिँदै आएका छन्। नेताहरूले आफ्नो स्वार्थ मात्र हेरे। भोलि देशलाई कहाँ पुर्‍याउने भनेर सोच्न सकेनन्। त्यसै माथि हाम्रो समाज अझै पुरानो चलन–परम्परामा अड्किएको छ। प्रविधिको युगमा पनि वर्षा झार्न भ्यागुताको बिहे गर्ने चलन यतै कतै देखिन्छ।

दैलेखको चामुण्डा–बिन्द्रासैनी नगरपालिकालाई लिनुस्। यो ठाउँ लेकदेखि वेसीसम्म फैलिएको रमाइलो ठाउँ हो। लयाँटी गाउँ, खार, डौसुर, पुनडाँडा, चाल्ने चौतारा, बासठाना, देउराली जस्ता गाउँहरू यसै नगरपालिकाभित्र अवस्थित छन्। लयाँटी गाउँ त झन् अर्कै रमाइलो छ। जब बर्खा याम लाग्छ तब यहाँका खेतबारी हराभरा हुन्छन्। त्यतिबेला लाग्छ , यो गाउँ इलाम र दार्जिलिङको चिया वगान भन्दा कम छैन। तर चैत वैशाखमा भने एकदम सुख्खा र उजाड देखिन्छ।

गाउँको फेदमै अविरल वगिरहने रामगाड खोला छ। जो नेपालकै लामो नदी भनेर चिनिने कर्णाली नदीमा मिसिएर बग्छ। तर त्यसको उपयोग हुन सकेको छैन। प्रविधिको प्रयोग गरेर यही पानीलाई माथि डाँडामा पुर्याउन सकिएको भए, चैत्र–वैशाखमा पनि गाउँ हरियाली हुन्थ्यो। गाउँ आत्मनिर्भर मात्र होइन, जिल्लाकै लागि अन्न उत्पादन गर्ने ठाउँ बन्न सक्थ्यो। तर, त्यस्तो सोच वा योजना अझै आएको छैन।

बरु, खडेरी पर्दा गाउँलेहरू अझै बोग्राइ पूजा गर्छन्। भ्यागुताको बिहे गरेर वर्षा झार्ने परम्परा अझै बाँकी छ। संस्कार बचाउनु नराम्रो होइन, तर जब त्यसले खेतीपाती र विकास छेक्छ, त्यो दु : खद हुन्छ। छिमेकी राष्ट्रहरू प्रविधि र उद्योगमा संसारमै अगाडि बढिरहेका बेला हामी अझै अन्धविश्वासमै अड्किएका छौँ। यही हो , हातमा सुनको थाल लिएर भिख माग्ने अवस्था।

नेपालमा स्रोतको कमी छैन। यदि जलविद्युत मात्रै उत्पादन गरेको भए पनि आफूलाई पुगेर पनि दक्षिण एसियालाई बिजुली बेच्न सक्ने क्षमता छ। तर, यसो गर्न नसक्दा अझै गाउँ–गाउँमा विद्यार्थीहरूले अन्धकारमै पढ्नुपर्छ। सुख्खा जमिनमा वर्षमा तीन पटकसम्म अन्न फलाउन सकिन्छ, तर हामी अझै भारतबाट तरकारी ल्याउँछौँ। वनजंगल छ, तर इन्धनका लागि विदेशी सहयोग खोज्छौँ। युवाशक्ति छ, तर काम नपाएर अरब, मलेसिया, कोरिया र जापान जानुपर्छ। यसरी हाम्रो श्रम र पसिना खेर गइरहेको छ।

हाम्रो समस्या स्रोत नहुनु होइन, स्रोतलाई प्रयोग गर्न नजान्नु हो। सुनको थाल लिएर भिख माग्ने मान्छे जस्तै, नेपाल आफ्नै सम्पत्तिको मूल्य बुझ्न सकेको छैन। हातमा थाल छ, तर पेट भोकाएको छ।

हाम्रो यस्तो खराब अवस्था लाई बदल्न सकिन्छ। यसको लागि शिक्षा र विज्ञानलाई पहिलो प्राथमिकता दिनुपर्छ। जबसम्म हामीअन्धविश्वासमै फस्छौँ, तबसम्म प्रगति सम्भव छैन। राजनीति स्थिर हुनुपर्छ। नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि सोच्नुपर्छ। स्थानीय स्रोतलाई प्रविधिसँग जोडेर प्रयोग गर्नुपर्छ। दैलेखको रामगाड खोला जस्तै स–साना खोलालाई सदुपयोग गरेर खेतीपाती बढाउन सकिन्छ। युवालाई देशमै रोजगारी दिनुपर्छ। युवाले आफ्नै गाउँमा पसिना बगाउन पाए भने मात्रै विकास सम्भव हुन्छ।

नेपाल केवल हिमाल, पहाड र रमाइलो दृश्य मात्र होइन। नेपाल सम्भावनाले भरिएको देश हो। त्यो सम्भावना पूरा गर्न हातमा भएको सुनको थाललाई भिख माग्न होइन, भोजन गर्न प्रयोग गर्नुपर्छ। सुनको थाल लिएर भिख माग्नु हाम्रो सामूहिक असफलताको प्रमाण हो। अब समय आएको छ, यस अवस्थालाई बदल्ने।

हामीले आफैंलाई सोध्नुपर्छ, कति समयसम्म अन्धविश्वासमा रमाउने? कति वर्षसम्म आफ्ना स्रोतलाई नचिन्ने? कति पुस्तासम्म सुनको थाल लिएर भिख मागिरहने? जवाफ स्पष्ट छ– सोच बदलियो भने यो अवस्था बदलिन्छ। नत्र, भोलिका पुस्ता पनि आजकै जस्तो निराश हुनेछन्।

नेपालको पहिचान केवल विगतको गौरव होइन, भविष्यको सम्भावना हो। हाम्रो हिमाल, नदी, जमिन र युवाशक्ति नै हाम्रो सुनको थाल हुन्। अब कुरा के हो भने यो थाललाई हामी भिख माग्न प्रयोग गर्ने कि आफ्नै भविष्य बनाउन?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार