एक हप्ता लामो यो यात्रामा हामीले प्रतिस्पर्धा मात्र होइन, जीवनका बहुआयामिक अनुभवहरू बटुल्यौं। आयोजकको तर्फबाट आवास, यातायात र समन्वयको उत्कृष्ट व्यवस्था गरिएको थियो जसले हामीलाई सहज वातावरणमा खेलमा ध्यान केन्द्रित गर्न सहयोग गर्यो।
खेलकुद जीवनको अत्यन्तै महत्वपूर्ण भाग हो। यसले व्यक्तिलाई अनुशासित रहन मद्दत गर्छ। शिक्षण–सिकाइ क्रियाकलापको अभिन्न अंग हुनुका साथै पाठ्यक्रमको निर्दिष्ट उद्देश्यलाई पूरा गराउन खेलकुदको उत्तिकै महत्व रहेको पनि छ। खेल जीवनलाई संयमित र आत्मअनुशासनको मार्गमा डोर्याउने, नियमित गर्नुपर्ने दैनिकी पनि हो।
यो वाक्यको गहनतालाई बुझेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा भएको एक हप्ते अन्तर–कलेज बृहत् खेलकुद प्रतियोगितामा हामीले भाग लिने अवसर प्राप्त गर्यौं। हामी लगायत उक्त खेलकुद प्रतियोगितामा भाग लिने सबै टिमलाई सुदूर कर्णालीको यात्रा, अझ जुम्ला जस्तो खस भाषाको उद्गमस्थल, सिजाँ सभ्यताको जननी, कर्णालीको मुटुमा हुँदै गरेको प्रतिस्पर्धाले रोमान्चक बनायो।
अझ म त झन् कर्णालीको व्यक्ति। खस भाषी र अझ भनौं कर्णाली मेरो र म कर्णालीको, मेरो हर्ष र गर्वको कुनै सीमा थिएन। म हर्षित यस मान्यतामा थिएँ कि मेरा साथीहरूलाई कर्णालीको महिमा उनीहरूलाई सत्कारको साथै सादृश्य रूपमा देखाउँदै थिए।
उनीहरूको लागि मात्रै नभई समग्र देशको लागि कर्णाली एउटा देशको कथा जस्तै लाग्छ। जे होस्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुराएको यो अवसरले मेरो लागि शैक्षिक मात्र नभई व्यक्तित्व विकासको एउटा अमिट अवसर पैदान गर्यो।
हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आयोजित अन्तर–मेडिकल खेलकुद प्रतियोगितामा सहभागी हुन कलेजबाट डा. लोकेन्द्र यादव सरको नेतृत्वमा जम्मा २५ जनाको टोली बनाएर जुम्ला गएका थियौं। हाम्रो यात्रा कलेज व्यवस्था गरिदिएको बसले सहज पार्यो।
कोहलपुरसम्म उक्त बसमै यात्रा गरेका हामीलाई कोहलपुरदेखि जुम्लासम्मको लामो यात्रा कर्णाली स्वास्थ्य विज्ञानले उपलब्ध गराएको माइक्रोबसमार्फत जानुपर्यो। कलेजले कार्यक्रममा सहभागिता र तयारीका लागि आर्थिक सहयोग गरेको थियो साथै सम्पूर्ण संकायका गुरुवर्गहरूले आ–आफ्नोतर्फबाट केही आर्थिक सहयोग गरी हामीलाई हौसला प्रदान गर्नु भएको थियो।
हामीले कलेजबाट यात्रा सुरु गर्यौं, गाडिमा चढ्नु अघि नै मनमा अनेकौँ जिज्ञासा र उत्साह भरिएका थिए। भित्री मधेशका हरिया खेत, टाढासम्म फैलिएका बस्तीहरू र सडकछेउका लहरै बजारहरू छोड्दै हामी उत्तरतिर अघि बढ्दै जाँदा क्रमशः डाँडाकाँडा, खोल्सा–खोल्सी र पाखा–पखेराले स्वागत गर्न थाले। बसको गति सँगै पछाडि तिर दौडिरहेका रुखहरूले यात्रामा छुट्टै आनन्द थपिरहेका थिए।
बसभित्र भने अर्कै संसार थियो—कोही साथीहरू रमाइरहेका थिए। यात्राको थकान मेटाउने अनेक जुक्तिमा साथीहरू लागेका थिए। साथीहरूले माइक समातेर गाइने दोहोरी गीतमा मुग्ध भई मन डुबाइरहेका थिए। दोहोरीमा “माया” र “ठट्टा” मिसिएका शब्दहरू सुनिँदा सबै जना हाँसिरहेका थिए।
लोकेन्द्र सर भने हामीलाई हेरिरहनुहुन्थ्यो—दोहोरी सुन्दै हल्का मुस्कान छरेर हामीलाई अझै प्रोत्साहन दिइरहनु भएको त्यो दृश्य साँच्चै अविस्मरणीय थियो। बसको भित्री वातावरणले हामी सबैलाई एउटै परिवार बनाएको थियो, जहाँ थकाइ र लामो यात्राको कठिनाइ पनि संगीत र साथीहरूको साथले हराइरहेको थियो।
कोहलपुरमा छोटो बसाइपछि हामी अर्को दिन बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठाएको अर्को गाडी चढेर पुनः यात्रामा निस्कियौं। बस सुर्खेततिर लम्किँदै गर्दा भित्र फेरि आशिषको मधुर दोहोरीले सबैको ध्यान खिच्यो। गीतसँगै रमाइरहेका केटाहरूलाई गीतको मिठासले बाँधेर राखेजस्तो लाग्थ्यो।
सुर्खेत पार गरेर दैलेखतर्फ जाँदा भने अलिक–अलिक हिमालतिरको चिसो हावा र खोलाको सु–गन्धुर आवाजले यात्रालाई अझ रमाइलो बनाइरहेको अनुभव भयो। झ्यालबाट बाहिर हेर्दा देखिने हरिया डाँडाका लहर अनि कहिलेकाहीँ टाढाबाट देखिने बर्फिला शृङ्खलाहरूले हाम्रो मनलाई छुन पुगेका थिए। त्यो क्षणमा बसभित्र र बाहिर दुवैतिर जीवनको लय एकैसाथ बगिरहेको जस्तो लागिरहेको थियो।
एक हप्ता लामो यो यात्रामा हामीले प्रतिस्पर्धा मात्र होइन, जीवनका बहुआयामिक अनुभवहरू बटुल्यौं। आयोजकको तर्फबाट आवास, यातायात र समन्वयको उत्कृष्ट व्यवस्था गरिएको थियो जसले हामीलाई सहज वातावरणमा खेलमा ध्यान केन्द्रित गर्न सहयोग गर्यो।
खेलकुदतर्फ हाम्रो टोलीले फुटबल र टेबल–टेनिसमा प्रथम स्थान, भलिबलमा दोस्रो र क्रिकेटमा तेस्रो स्थान हासिल गर्दै समग्रमा दोस्रो स्थान प्राप्त गर्यो। यी उपलब्धिहरूले हामी सबैमा गर्वको भावना भरिएको थियो।
खेलपछि बेलुका हामीले अन्य कलेजका विद्यार्थीहरूसँग दोहोरी गीतमार्फत आत्मीय सम्बन्ध बनायौं। हासो, ठट्टा र संगीतको माध्यमबाट हामी सबैबीच गहिरो मित्रता विकास भयो।
जुम्लामा रहँदा हामीले त्यहाँको स्थानीय उत्पादन जस्तै स्याउ र मार्सी चामलको स्वाद लियौं जसले जुम्लाको कृषि र जीवनशैलीप्रतिको सम्मान अझ बढायो। त्यहाँको भाषा, पोशाक र सांस्कृतिक व्यवहारसँग नजिक हुन पाउँदा हामीमा विविधताको सौन्दर्यप्रति गहिरो समझ विकसित भयो।
प्रतियोगिता सम्पन्न भएपछि हामीले रारा तालको भ्रमण पनि गर्यौं। समुद्री सतहदेखि करिब २,९०० मिटरको उचाइमा रहेको रारा तालको शान्त, नीलो पानीमा हरियाली र हिमशृङ्खलाले भरिएको छायाँको दृश्यले हाम्रो आत्मालाई नै छोएको जस्तो भयो।
तालको किनारमा बसेर हामीले गीत गयौं, फोटो खिच्यौं, रमाइलो गर्यौं र प्रकृतिसँगको गहिरो सम्बन्धलाई अनुभव गर्यौं। यो यात्रा केवल प्रतिस्पर्धा वा घुमघाम मात्र थिएन, यो जीवनको पाठशाला थियो, जहाँ खेलकुद, संस्कृति, मित्रता, आत्मअनुशासन र सहकार्यको महत्वपूर्ण पाठ हामीले ग्रहण गर्यौं।
यस अविस्मरणीय यात्राको सफलतामा हातेमालो गर्ने कलेज प्रशासन, आयोजक समिति र सहभागी सबैप्रति म र हामी हृदयदेखि आभारी छौं।
(लेखक मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याणकारी समितिका सचिव हुनुहुन्छ।)














