मंगलवार, १३ माघ, २०८२

तलिचौरको देवकोटाबाडा : एकै सन्तानका २९ जना सरकारी सेवामा

यो तथ्य उजागर गर्नलाई पुग्नुपर्छ, प्राज्ञ एवं अन्वेषक स्वर्गीय रत्नाकर देवकोटासम्म। जसको नाम वृहत् जुम्लाको इतिहाससँग जोडिन्छ, कर्णालीको अथ इति र देखि इतिहासमूलक पत्रिका बेन्नुसम्म।

जुम्लाको चन्दननाथ नगरपालिका–१ मा पर्ने एक गाउँ हो, तलिचौर। पछिल्लो समय धान खेति साथै जुम्लामै अरु ठाउँको तुलनामा बढी तरकारी उत्पादन हुने क्षेत्रको रुपमा परिचित छ।

फाँटीलो खेतीयोग्य जमिनको किनारमा बाहुन, क्षेत्री दलित समुदायका मानिसको विविधता युक्त बसोबास छ। यो गाउँ पनि जुम्लाका अरु गाउँ जस्तै बाडा र थाडाहरु मिलेर बनेको छ। जसले खस सामाज्यकालिन बस्ती विकासको झल्को दिन्छ।

विभिन्न बाडाहरू मध्ये पुरानो बस्तीको रुपमा चिनिएको बाडो यो गाउँमा, देउकोटाबाडा पनि छ। यी धेरै कुरा धेरैलाई थाहा भएका नै छन्।

यो यही देवकोटाबाडाको धेरैलाई थाहा नभएको एउटा तथ्य आज हामी तपाईंहरुमाझ प्रस्तुत गर्दैछौं। देवकोटाबाडाको एउटा सन्तान जसले आफ्नो कथा र कर्मद्वारा इतिहास रचिरहेको छ।

यहाँको एउटै परिवारका २९ जना सदस्यले देशको सरकारी सेवामा हातेमालो गर्दै योगदान पुर्‍याइरहेका छन्।

यो तथ्य उजागर गर्नलाई पुग्नुपर्छ, प्राज्ञ एवं अन्वेषक स्वर्गीय रत्नाकर देवकोटासम्म। जसको नाम वृहत् जुम्लाको इतिहाससँग जोडिन्छ, कर्णालीको अथ इति र देखि इतिहासमूलक पत्रिका बेन्नुसम्म।

प्राज्ञ एवं अन्वेषक स्वर्गीय देवकोटाका अक्षरहरू र उनका अनुसन्धान सबै जुम्ला मात्र होइन, सम्पूर्ण कर्णालीको गौरव बनेका छन्।

उनले २०२८ सालमा राष्ट्रिय समाचार समिति (रासस) बाट पत्रकारिताको यात्रा सुरु गर्दै इतिहास, संस्कृति र समाजलाई शब्दमा उतारे। दशकमै उनले कर्णालीलाई मात्र होइन, सम्पूर्ण देशलाई विश्वसामु उजागर गर्ने काम गरे।

उनका सहकर्मीहरूले सम्झने गर्छन्, “रत्नाकर केवल पत्रकार थिएनन्, उनी अनुसन्धानकर्ता, शिक्षक, इतिहासका संवाहक पनि थिए।” एघारौँ तहको पत्रकार भएर अवकाश पाइसक्दा पनि उनका रचना र विचार आजसम्म दीपस्तम्भ जस्तै चम्किरहेका छन्।

तर कुरा यत्तिमै रोकिँदैन। रत्नाकरको बाटो उनका सन्तानले मात्र होइन, दाजुभाइ पट्टिका छोराछोरीले समेत समाते। त्यसैले त आज तलिचौरको देवकोटाबाडा एउटा ‘मोडल परिवार’ बनेर मुलुकभरि फैलिएको छ।

रत्नाकरका जेठा छोरा नरेन्द्र देवकोटाले २०५३ सालमा खरिदार पदबाट न्याय सेवामा प्रवेश गरे। त्यहीबाट सुरु भएको उनको यात्राले उनलाई सरकारी वकिल समूहसम्म पुर्‍यायो।

उनले भने, “न्याय सेवा मेरो पेशा मात्र होइन, यो हाम्रो परिवारकै सामूहिक साधनाको निरन्तरता हो।”

उनका भाइ देवेन्द्र देवकोटा बाँके जिल्ला अदालतमा नायब सुब्बा छन्। दुई दाजुभाइले कानुनको कठोर अनुशासनलाई रोज्दा गाउँको पुख्र्यौली परम्परामा अझै अनुशासन र ईमानदारी मिसिएको अनुभूति हुन्छ।

उनकै वंशमा बसन्ती देवकोटा, नरेन्द्रकी छोरी, चार्टर्ड एकाउन्टेन्ट बनेर कृषि विकास बैंकमा वरिष्ठ लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दैछिन्। यसरी कानुनदेखि लेखासम्म देवकोटाको हस्ताक्षर देखिन्छ।

रत्नाकरकी छोरी रीता देवकोटा स्वास्थ्यको सेवामा छिन्। कोहलपुर शिक्षण अस्पतालमा नर्स बनेर उनले बिरामीहरूको सेवा गरिरहेकी छिन्।

उनको अनुहारमा हरेक दिन देखिने थकाइले पनि एउटा गर्व बोकेको छ, “म बिरामीको सेवा गर्दैछु” भन्ने गर्व।

उनकै नातिनी सङ्गिता देवकोटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा नर्सिङ अधिकृत छिन्। गाउँकी छोरी भएर राजधानीसम्म उक्लिएको उनको सेवा अब फेरि गाउँकै स्वास्थ्य संस्थामा फर्किएको छ।

त्यस्तै, उमेश देवकोटा रुकुमको आठबिसकोट नगरपालिकामा पब्लिक हेल्थ अधिकृत बनेर गाउँ–गाउँमा स्वास्थ्य सचेतना फैलाइरहेका छन्।

स्वास्थ्य क्षेत्रमा क्षेत्रबहादुर केशी खत्री छैटौँ स्वास्थ्य अधिकृतको रूपमा खटिँदै दुर्गम गाउँमा उपचार पुर्‍याइरहेका छन्। उनी भन्छन्, “सुदूर गाउँका बासिन्दाले औषधि देख्दा पाएको सन्तोष नै हाम्रो ठूलो तलब हो।”

देवकोटा वंशका धेरै हातहरूले कृषिलाई जीवनको केन्द्र बनाएका छन्।

रत्नाकरका दाजु रजनीकर उपाध्यायका छोरा बालकराम देवकोटा कृषि विकास अधिकृत भएर किसानसँगै खेत–खेतमा पसिना बगाए। अहिले अवकाशमा भए पनि उनका पाइला अझै छोरी, छोरा र बुहारीमार्फत प्रतिध्वनित छन्।

उनकै वंशका अश्विनीकुमार देवकोटा हुम्ला सिँचाइ कार्यालयमा लेखा अधिकृत छन्। मदन देवकोटा धादिङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यरत छन् भने विनिशा श्रेष्ठ (देवकोटा) रामेछापमा कृषि अधिकृत छिन्।

यस्तै, टेकबहादुर खत्री कृषि विकास कार्यालय मुगुमा प्राविधिक सहायक बनेर किसानलाई प्रविधि र सीप दिइरहेका छन्।

रामदत्त देवकोटाकी बुहारी कल्पना देवकोटा कृषि विभागमा प्राविधिक सहायक छिन्। उनका छोरा धिरेन्द्र देवकोटा कृषि अधिकृत बनेर नयाँ प्रविधि गाउँ–गाउँमा पुर्‍याइरहेका छन्।

कृषि र किसानसँगै जीवनलाई बाँध्ने यी पाइला केवल जीविकोपार्जनका लागि होइन, राष्ट्रकै मेरुदण्डलाई मजबुत बनाउने आधार बनेका छन्।

देवकोटा वंशले लेखा र राजस्व क्षेत्रमा पनि विशेष योगदान दिएको छ।

धर्मदत्त देवकोटा खत्रीका छोरा रामदत्त देवकोटा प्रदेश लेखा इकाइ कालिकोटमा प्रमुख लेखा अधिकृत बनेर वित्तीय अनुशासनको जिम्मेवारी बोकेका छन्।

कृष्णबहादुर खत्री लामो समय लेखापाल भएर सेवा गरे र अहिले अवकाश जीवनमा छन्।

हिरानन्द देवकोटा दाङ राजस्व कार्यालयमा राजश्व अधिकृत बनेका छन्। राजस्व संकलनलाई पारदर्शी बनाउन उनको भूमिका प्रशंसनीय छ।

यस वंशका केही सन्तानहरूले शिक्षालाई पेशा बनाए।

सुरिता उपाध्याय देवकोटा कालिका प्रा.वि. लिताकोट, तातोपानीमा शिक्षक बनेर बालबालिकाको भविष्य निर्माण गरिरहेकी छिन्। उनी भन्छिन्, “हामी पढाउँछौँ, तिनै बालबालिका भोलि देशका मेरुदण्ड बन्छन्।”

शिक्षा नै भविष्यको आधार भन्ने उनको विश्वास देवकोटा परिवारकै साझा अनुशासनसँग मेल खान्छ।

देशको सुरक्षा क्षेत्रमा पनि यो वंशका सन्तानको उपस्थिति उल्लेखनीय छ।

मदन देवकोटा नेपाली सेनामा हवल्दार छन्। काठमाडौं चन्दननाथ गणमा कार्यरत उनले मुलुकको सीमाना र सार्वभौमिकताको रक्षा गरिरहेका छन्।

पदम देवकोटा सशस्त्र प्रहरी हवल्दार बनेर मुलुकको सुरक्षामा खटिएका छन्। उनी भन्छन्, “देश सुरक्षित भए मात्र हामी सबैको भविष्य सुरक्षित हुन्छ।”

भूमि र न्यायसँग पनि देवकोटा वंशका सन्तान गहिरो रूपमा जोडिएका छन्।

नन्दप्रसाद देवकोटा जुम्ला उच्च अदालतमा नायब सुब्बा छन्। उनका हातबाट निस्कने आदेशहरू गाउँलेका लागि न्यायको आशा बनेका छन्।

त्यस्तै, नयन खत्री भक्तपुरको चाँगुनारायण नगरपालिकामा अमिन बनेर जग्गा–जमिनको मापन र व्यवस्थापनमा खटिएका छन्।

लोकप्रसाद देवकोटा सुर्खेतमा प्राविधिक नियन्त्रक बनेर प्रशासनिक भूमिकामा देखिन्छन्।

डिल्लीरमण देवकोटा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नायब सुब्बा बनेर हवाई यातायातको संवेदनशील क्षेत्रमा योगदान दिइरहेका छन्।

राजु देवकोटा सिटिभिटी प्रशिक्षण केन्द्र, कोहलपुरमा निर्माण सहायक बनेर प्रविधि र सीपको हस्तान्तरण गर्दैछन्। भविष्यका प्राविधिक जनशक्ति तयार पार्न उनको योगदान महत्त्वपूर्ण छ।

पुरुसोत्तम देवकोटा प्रकाशकीय अधिकृतको भूमिकामा छन्। सबैले कुनै न कुनै तवरबाट देशको सेवा गरिरहेका छन्।

यसरी हेर्दा तलिचौरको देवकोटाबाडाबाट सुरुवात भएको यात्रा अहिले २९ हातमार्फत मुलुकभरि फैलिएको छ।

न्यायदेखि स्वास्थ्य, कृषि, लेखा, शिक्षा, सुरक्षा, प्रशासन र प्रकृतिसम्म, सबै क्षेत्रमा देवकोटाका सन्तान सक्रिय छन्।

बालकराम देवकोटा स्मरण गर्छन्, “हामीलाई सरकारी सेवा भनेको केवल जागिर होइन, राष्ट्रप्रतिको उत्तरदायित्व लाग्छ। प्राज्ञ रत्नाकरले देखाउनुभएको बाटो नै अहिले पनि हाम्रो प्रेरणा हो।”

तलिचौर देवकोटाबाडा आज एउटा मोडल परिवार बनेको छ। जसरी बगरमा रोपिएको बिरुवा पानी र मेहनत पाएपछि डाँडामाथि पुगेर हरियाली पसार्छ, त्यसरी नै देवकोटा परिवारका २९ सन्तानहरूले शिक्षा, श्रम र अनुशासनको बलमा मुलुकभरि राष्ट्रसेवाको हरियाली फैलाएका छन्।

(यो सामग्री प्राज्ञ रत्नाकर देवकोटाको छोरा नरेन्द्र देवकोटा र सेवा निवृत्त बरिस्ठ कृषि विकास अधिकृत बालकराम देवकोटाको सहयोगमा तयार पारिएको हो।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार