बुधबार, २० फाल्गुन, २०८२

गजेन्द्र महत ‘कार्मा’ : असफल योजनाको अपजस मात्रै!

पछिल्लो समय उनलाई पार्टीले पुन: जिम्मेवारी दिने कुरा चलेको थियो। कुटीरो डट कमसँगको कुराकानीमा उनले भने, “जिम्मेवारी दिने कुरा चलिरहेको छ। अहिलेसम्म पार्टीको कुनै गतिविधिमा सामेल छैन।”

जुम्लामा विकासका सपनाहरू बुनिन्छन्, तर तिनलाई साकार पार्न कठिनाइको पहाड उभिन्छ। यहीँबाट प्रतिनिधिसभा निर्वाचन २०७४ मा विजयी भएर काठमाडौं पुगेका थिए गजेन्द्र बहादुर महत, जसलाई माओवादी युद्धको भूमिगत कालमा ‘कार्मा’ नामले चिनियो। जो आज पर्यन्त कायम छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसदको रूपमा उनले जुम्लाको विकासका लागि अथक प्रयास गरे, तर आज उनको नाम असफल योजनाहरूको अपजससँग मात्रै जोडिन्छ। तिला हाइड्रोपावर र गुठीचौर बहुउद्देश्यीय परियोजना लगायतका योजनाहरू अलपत्र परेपछि उनलाई अचानो बनाइएको छ।

यद्यपि, उनको प्रयास, जोश र जुम्लाप्रतिको समर्पणलाई नजरअन्दाज गर्न सकिँदैन। यो लेख उनको पछिल्लो राजनीतिक यात्रा, जुम्लाको विकासमा उनको योगदान, असफलताका कारणहरू र उनको भविष्यको योजनालाई कोट्याउने प्रयास हो।

महतको राजनीतिक यात्रा सधै सजिलो थिएन। युद्धमा उनी कुलश संगठन निर्माता थिए। शान्ति प्रक्रिया पछि माओवादी जुम्लाका सशक्त नेता बने। २०६९ मा पराजित उनी २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। त्यसपछि उनले आफ्नो कार्यकालमा जिल्लाको विकासका लागि थुप्रै पटक थुप्रै ठाउँमा आवाज उठाए।

उनको बोलीमा कर्णालीको पीडा र विकासको चाहना प्रष्ट झल्किन्थ्यो। तर, उनको भावुकपना र संसदमा प्रस्तुत हुने शैलीले कतिपयले उनलाई ‘रोएको सांसद’ भनी होच्याए। तथापि, उनले जुम्लाको बिजुली, सडक र अन्य पूर्वाधारका लागि निरन्तर लडाइँ लडे। आफ्नै पार्टीको सरकारको समेत सशक्त प्रतिपक्ष हुन डगमगाएनन्।

उनको यो प्रयासले उनलाई स्थानीय जनताको मनमा विशेष स्थान बनायो। तर असफल योजनाहरूको अपजसले उनको छविलाई धमिलो बनायो।

जुम्लामा बिजुलीको चरम अभाव थियो। गाउँको कुरै छोडौं सदरमुकाम समेत अन्धकारमा डुबेको थियोे। मोबाइल चार्ज गर्न समस्या थियोे, बालबालिकाको पढाइदेखि स्थानीय उद्योगसम्म प्रभावित थिए।

यस्तो अवस्थामा उनले डिजेल प्लान्टबाट भए पनि बिजुली पुर्‍याउने पहल गरे। उनले संसदमा यो मुद्दालाई जोडतोडले उठाए। उनको भनाइ छ, “जुम्लामा बिजुलीको साह्रै अभाव थियोे। डिजेल प्लान्टबाट भए पनि बिजुली पुर्‍याउनुपर्छ भनेर लागेका हौं।”

उनको जुम्लाप्रतिको प्रतिबद्धताको त्यो एक उदाहरण थियोे।

उनले तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई संसदमा ‘श्री तीन’ भनी तीखो वाँण हाने। त्यहाँ उनको आक्रोश र जुम्लाको बिजुली समस्याप्रति उनको गम्भीरता झल्किन्थ्यो। उनले भनेका थिए, “सरकारले कुलमान मात्रै देख्छ। कुलमान बूढो भएपछि सरकारले के गर्छ?”

उनको आक्रोश व्यक्तिगत थिएन जुम्ली जनताको पीडासँग जोडिएको थियो। उनले जुम्लामा बिजुली पुर्‍याउनका लागि काठमाडौंसम्म आन्दोलनको घोषणा गरे।

जुम्लाबाट बाजा लिएर काठमाडौं पुगेका उनले कुलमान घिसिङसँग १३२ केभी प्रसारण लाइन र एक मेगावाटको सोलार प्लान्ट एक वर्षभित्र बनाउने वचन लिए। यो वचनले जुम्लाबासीमा आशा जगायो, ढिलो गरि ती योजनाहरु बन्दैछन्। तर आज ती योजनाहरूको जस लिने होडबाजी छ। उनी कतै हराएका छन्।

उनको सबैभन्दा ठूलो परियोजना मध्ये एक थियो गुठीचौर बहुउद्देश्यीय परियोजना। यो परियोजनाको परिकल्पना उनले जुम्लाका सबै राजनीतिक दलहरूसँग मिलेर गरेका थिए। सडक, बिजुली, सिँचाइ पर्यटन र सामुदायिक विकासलाई एकीकृत गर्ने यो महत्वाकांक्षी योजनाले जुम्लाको कायापलट गर्ने सपना बोकेको थियो।

उनले भनेका थिए, “गुठीचौर बहुउद्देश्यीय परियोजना जुम्लाको विकासको आधारस्तम्भ हो। यसले हाम्रो गाउँलाई समृद्ध बनाउनेछ।”

तर, समय बित्दै जाँदा यो परियोजना अलपत्र पर्‍यो। प्राविधिक कठिनाइ, बजेट अभाव र समन्वयको कमीले यो योजना अधुरो रह्यो। गुठीचौरमा हाल एउटा माध्यमिक विद्यालयबाहेक अन्य परिकल्पनाहरू खेर गए।

उनले नयाँ समिति बनाएर यो योजनालाई पुनर्जन्म दिने प्रयास गरे, तर त्यसले पनि गति लिन सकेन। आज यो परियोजनाको असफलताको दोष उनको काँधमा थोपरिएको छ। उनलाई ‘एकल सिपाही’ भनियो, जसले ठूलो सपना देख्यो तर पूरा गर्न सकेन।

तिला हाइड्रोपावर परियोजना अर्को यस्तै विडम्बना हो। एक मेगावाटको यो परियोजनामा उनले आफ्नो सांसद विकास कोषको सम्पूर्ण रकम लगानी गरे। उनले यो योजनालाई जुम्लाको बिजुली समस्याको समाधानको रूपमा हेरेका थिए।

उनको भनाइ थियो, “तिला हाइड्रोले जुम्लालाई उज्यालो बनाउनेछ। यो मेरो सपना हो।”

जिल्ला समन्वय समिति र तिला गाउँपालिकाले उनको कार्यकालपछि योजना आफै सम्पन्न गर्ने वचन दिएका थिए। तर, प्राविधिक त्रुटि र बजेट अभावले यो परियोजना पनि अलपत्र पर्‍यो। मेसिन र सामग्रीहरू जडान हुन सकेनन् र उनलाई फेरि असफलताको अपजस लाग्यो!

उनले यो असफलताको जिम्मेवारी लिनुपरेको छ, तर उनको भनाइ छ, “मैले आफ्नो तर्फबाट सबै प्रयास गरें। प्राविधिक र आर्थिक समस्याले योजनाहरू रोकिए, तर मलाई मात्र दोष दिइन्छ।”

उनको कार्यकालमा सडक निर्माणको पहल पनि उल्लेखनीय छ। दैलेख सदरमुकाम, महाबु हुँदै जुम्ला जोड्ने छोटो दूरीको सडक निर्माणको लागि उनले जोडबल गरे। यो सडकले जुम्लालाई कर्णाली राजमार्गसँग जोडेर आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा थियो। तर, यो परियोजनाको प्रगति पनि ढिलो छ।

उनले भने, “जुम्लालाई सडकले जोड्न सकियो भने यहाँको गरिबी हट्नेछ।”

यद्यपि, यो योजनाको गति सुस्त भए पनि उनको पहललाई बिर्सन सकिँदैन। उनको योगदानलाई विकासका साझेदारको रूपमा लिनुपर्ने हो, तर असफलताको अपजसले उनको योगदानलाई छायामा पारेको छ।

गजेन्द्रको राजनीतिक यात्रा पनि उतारचढावले भरिएको छ। २०७४ को निर्वाचनमा विजयी उनले २०७९ मा पुन: सांसद बन्ने इच्छा त्यागे। उनले भनेका थिए, “यो एक कार्यकाल नै मेरो सांसद पद पहिलो र अन्तिम हो। भो पुग्यो, फेरि सांसद बन्दिनँ।”

उनले जुम्लाबाट काठमाडौं आउजाउ गर्दा हुने खर्च र जनताको काम गर्न नसकेको पीडालाई पनि व्यक्त गरे। उनको भनाइ थियो, “जुम्लाबाट काठमाडौं आउने-जाने गर्दैमा ३२ हजार खर्च हुन्छ। सांसद भएर जनताको काम गर्न सकिँदैन।”

यो उनको सरल र स्पष्ट स्वभावको परिचय हो। उनले सांसदको रूपमा आफ्नो सीमितता स्वीकार गरे र जुम्ला फर्किए। तर, पछिल्लो समय उनलाई पार्टीले पुन: जिम्मेवारी दिने कुरा चलेको थियो। कुटीरो डट कमसँगको कुराकानीमा उनले भने, “जिम्मेवारी दिने कुरा चलिरहेको छ। अहिले पार्टीको कुनै गतिविधिमा सामेल छैन।”

यो सामग्री तयार हुने बेलासम्म उनलाई पार्टीले उत्पादन विभागको जिम्मेवारी दिएको थियोे। उनले ठाडै अस्वीकार गरिदिएका छन्। उनी भन्छन्, “उमेर गएको छैन। गर्न नसकिने पनि होइन। तर केही समय घरपरिवारलाई दिन्छु भनेर बसेको हुँ।”

उनको निष्क्रिय राजनीतिक जीवनलाई नियालेर हेर्दा उनलाई असफलताको अपजस मात्रै लागेको छैन, उनको योगदानलाई पनि बिर्सिएको देखिन्छ।

तिला हाइड्रो र गुठीचौर परियोजनाहरू असफल भए, तर यी परियोजनाहरूमा उनको सपना र समर्पण लुकेको छ। उनले जुम्लाको विकासका लागि आफ्नो स्रोत, समय र ऊर्जा खर्च गरे।

यी अधुरा योजनाहरूको कठिनाई बुझ्ने फुर्सद कसैलाई छैन। उनलाई एकल अपजसको भागिदार बनाउनु अन्यायपूर्ण छ। उनी भन्छन्, “मैले जुम्लाको लागि जे सक्थें, त्यो गरें। मलाई केही नगरेजस्तो चित्रण गरिए पनि मेरो गुनासो छैन। अझ भनौं, मैले गरेको कामको जस लिन म लागिनँ।”

एउटा सांसदले जति नै जोश र सपना बोके पनि, स्रोतको अभाव, नीतिगत जटिलता र स्थानीय समन्वयको कमीले योजनाहरू असफल हुने उनको तितो अनुभव छ। उनले जुम्लाको बिजुली, सडक र बहुउद्देश्यीय परियोजनाहरूको सपना देखे, तर ती सपनाहरू साकार हुन सकेनन्।

उनी आफ्नो प्रयासलाई पूर्ण रूपमा असफल मान्न तयार छैनन्। उनले जुम्लाको विकासको आधार तयार गरे। उनी जुम्लामा राष्ट्रिय प्रसारण लाइनको लागि संघर्ष गरिरहे। लाइन पुगेपछि जस लिने होडबाजी चल्यो। उनी पुन: ओझेल परे।

आज उनी परिवारसँगै छन्। राजनीतिक गतिविधिमा सामेल छैनन्। उनको राजनीतिक भविष्य अनिश्चित छ, तर उनको जुम्लाप्रतिको माया र समर्पणमा निश्चितता छ। उनले भने, “जुम्लामा पार्टी निर्माण र विकास दुबै सम्भव छ।”

यो उनको अन्तिम भनाइ होइन, बरु उनको निरन्तरताको संकेत हो। उनी असफलताको अपजसको बोझ बोकेर पनि जुम्ला विकासको सपना देखिरहेका छन्। उनलाई असफलताले मात्र होइन, एउटा सच्चा, समर्पित र संघर्षशील सिपाहीको रुपमा बुझ्दा राजनीतिमा उनको योगदानको कदर भइरहनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल