सुर्खेतमा ७ ग्राम १५० मिलिग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतको संयुक्त टोलीले आइतबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–३ स्थित गण्डकी लाइन क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको श्रावस्ती जिल्ला घर भई हाल वीरेन्द्रनगर–३ मा कोठा भाडामा बस्दै आएका २३ वर्षीय त्रिपुरारी लाल तथा उत्तर प्रदेशकै बहराइच जिल्ला नानपारा घर भई हाल सोही स्थानमा बस्दै आएका ५६ वर्षीय दिलिप कुमार सिंह रहेका छन्।
प्रहरीले शंकास्पद अवस्थामा फेला परेका दुवै जनाको शरीर तथा डेरा कोठा खानतलासी गर्दा शुद्ध ७ ग्राम १५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कबिन्द्र सिंह बोहरा ले जानकारी दिएका छन्।
प्रहरीले लागूऔषध नियन्त्रण तथा लागूऔषध कारोबारीमाथिको कारबाहीलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।













