कर्णाली किनारको शिव मन्दिर केवल ढुंगाको टाकुरोमाथि बनेको एउटा पूजास्थल मात्र होइन। यो आस्थाको प्रतीक हो। मानिसहरूलाई आन्तरिक शान्ति, धार्मिक अनुभूति र प्रकृतिसँगको निकटता दिने पवित्र धरोहर हो।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ मा रहेको कर्णाली किनारको शिव मन्दिर आस्था, प्रकृति र संस्कृतिको अद्भुत संगम हो।
अछाम र दैलेखको सिमानामा बग्ने पवित्र कर्णाली नदीको किनारमै ढुंगाको अग्लो टाकुरोमाथि निर्मित यो मन्दिर धार्मिक श्रद्धा मात्र नभई पर्यटकीय सम्भावनाको केन्द्रसमेत बन्दै गएको छ।
स्थानीय बासिन्दाहरू भन्छन्, “यो मन्दिर केवल पूजा गर्ने ठाउँ होइन, मन शान्त पार्ने आध्यात्मिक धाम हो।” उनीहरूको विश्वास छ, यहाँ पूजा गर्दा पापबाट मुक्ति पाइन्छ र मनोकामना पूरा हुन्छ।
त्यसैले महाशिवरात्रि, श्रावण महिनाका सोमबार र अन्य चाडपर्वमा यहाँको दृश्य विलक्षण हुन्छ। कर्णालीको तीरमा स्नान गर्ने र शिवलिङ्गमा जल चढाउने भक्तजनको भीडले सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जा र भक्ति रसले भरिन्छ।
कर्णाली नदी आफैंमा पवित्र मानिन्छ। यसको शीतल बहाव, किनारको हरियाली र शान्त वातावरणले यहाँ आउने जो कोहीलाई आकर्षित गर्छ।
श्रद्धालुहरू नदीमा स्नान गरी पवित्र भइ मन्दिरमा पूजा गर्ने परम्परा आजसम्म पनि उत्तिकै जीवित छ। धार्मिक महत्त्वसँगै यो स्थलले पर्यटक र साधक दुवैलाई आन्तरिक शान्ति दिलाउने अनुभव दिएको पाइन्छ।
ढुंगाको माथिल्लो भागमा स्थापित शिवलिङ्ग प्राकृतिक सौन्दर्यले घेरिएको छ। हरियाली बोटबिरुवा, पंक्षीहरूको चिरबिराहट र कर्णालीको गहिरो स्वरले यो मन्दिरलाई साधारण धार्मिक स्थलभन्दा बढी अध्यात्मिक ऊर्जा दिने थलो बनाएको छ।
यहाँ बस्दा प्रकृति र आध्यात्मिकताको गहिरो संवाद सुन्न सकिन्छ, जसले मानिसलाई भित्रैदेखि स्पर्श गर्छ। धार्मिक महत्त्वका कारण यो मन्दिरमा वर्षेनी सयौँको संख्यामा श्रद्धालुहरू पुग्छन्।
स्थानीय युवाहरू भन्छन्, “यदि उचित प्रचार र पूर्वाधार विकास भयो भने यो मन्दिर धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्न सक्छ।” साँच्चिकै, आध्यात्मिक विश्वास र प्राकृतिक सौन्दर्यको समिश्रण भएकाले यस स्थललाई संरक्षण र प्रवर्द्धन गर्नु जरुरी देखिन्छ।
कर्णाली किनारको शिव मन्दिर केवल ढुंगाको टाकुरोमाथि बनेको एउटा पूजास्थल मात्र होइन। यो आस्थाको प्रतीक हो। मानिसहरूलाई आन्तरिक शान्ति, धार्मिक अनुभूति र प्रकृतिसँगको निकटता दिने पवित्र धरोहर हो। यही कारणले, यो मन्दिर अछाम र दैलेख मात्र नभई सम्पूर्ण कर्णालीको सांस्कृतिक सम्पदा बनेको छ।
