शुक्रबार, २२ फाल्गुन, २०८२

जनतालाई भ्रमित बनाएर उदाएको रास्वपा पतनको बाटोमा !

रास्वपालाई जनताको पीडासँग के सरोकार? साँचो भन्नुपर्दा रास्वपा देश र जनताका लागि आएको पार्टी नै होइन। ‘अरुले खाए, अब हाम्रो पालो’ भन्ने सोच लिएर राजनीतिमा प्रवेश गरेकाहरूबाट बढी अपेक्षा गर्नु पनि व्यर्थ नै हो।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू एकपछि अर्को गर्दै विवादमा तानिएका छन्। सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा जेलमा छन्। उनी जेल गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका डोलप्रसाद अर्याल (डिपी) पनि गम्भीर आरोपमा मुछिएका छन्।

उनीमाथि मानव तस्करीको आरोप लागेको छ। रास्वपामा आउनुअघि उनी सर्पले काँचुली फेरेझैँ पार्टी फेर्थे — कहिले कांग्रेस, कहिले माओवादी, त कहिले एमाले। पार्टीका अर्का सांसद स्वर्णिम वाग्ले पनि रास्वपामा आउनुअघि कांग्रेसमा आबद्ध थिए। गत निर्वाचनमा उनी कांग्रेसका महामन्त्री गगन थापा र नेता अर्जुन नरसिंह केसीलाई भोट माग्न विभिन्न जिल्लामा पुगेका थिए। तर, कांग्रेसबाट टिकट नपाएपछि उनी पनि रास्वपातर्फ लागे।

यी त केही उदाहरण मात्र हुन्। पार्टीमा अन्यत्र काम गर्न नसकेका वा अवसर नपाएका व्यक्तिहरू रास्वपामा भित्रिएका छन्। पहिले माओवादी, कांग्रेस, एमाले, नेमकिपा, राप्रपा, मधेशी दलहरूमा लागेका धेरैजना रविले २०७९ असार ७ गते पार्टी दर्ता गरेपछि उनका पार्टीमा प्रवेश गरे।

नयाँ पार्टी भए पनि रास्वपाले २१ सिट जित्न सफल भयो। पार्टी दर्ता भएको केही महिनामै यति धेरै सिटमा विजय प्राप्त गर्नु सामान्य कुरा होइन। “देशको अनुहार फेर्छौं” भन्ने नारासहित हिँडेको पार्टी दुईपटक सरकारमा गयो। दुवैपटक प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको हो। पद त पाए, तर रास्वपाले सिन्कोसमेत भाँचेको देखिएन।

रवि स्वयं गृहमन्त्री भए, तर उनले पार्किङबाहेक केही गरेनन्। सहकारीको मुद्दामा आफूलाई मुछेपछि कांग्रेस, एमालेका भ्रष्टाचार फाइल खोल्ने धम्की दिए। तर, उनको हकमा ‘करायो करायो, त्यत्तिकै हरायो’ भनेझैँ भयो। न त उनले कुनै फाइल खोल्न सके, न त सेवासुविधा नै त्यागे। उनी र उनका सांसदहरू पद र सेवासुविधामै लुप्त भए।

त्यसैले त पहिलोपटक सरकारमा जाँदै गर्दा नै रास्वपा जनताको नजरमा नाङ्गिएको थियो। २०८१ कात्तिक २ गते प्रहरीले रविलाई सहकारी ठगी काण्डमा छानबिनका लागि हिरासतमा लियो। रास्वपाले देशभरका कार्यकर्तालाई उचालेर उनलाई हिरासतबाट निकाल्ने प्रयास गर्‍यो। कतिपय जिल्लामा आन्दोलनसमेत भयो, प्रहरी कार्यालय र अदालत बाहिर नाराबाजी गरियो।

तर, जनताले साथ दिएनन्। पहिलोपटक उनी ८४ दिन हिरासतमा बसेर धरौटीमा छुटे। पोखरापछि काठमाडौं, बुटवल, चितवन र पर्सामा उनीविरुद्ध मुद्दा दर्ता भएका छन्। काठमाडौं र रुपन्देहीबाट धरौटीमा छुटेका उनी आफैँ जान्ने हुँदा कारागार पुगेका हुन्।

उनीमाथि पाँचवटा सहकारीमा अर्बौं रुपैयाँ ठगेको आरोप छ। २०८२ असार ७ गतेदेखि रास्वपाले रविको पक्षमा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। रविमाथि राजनीतिक प्रतिशोध भएको दाबी रास्वपाको छ। तर, सहकारीबाट करोडौँ जनता पीडित भएका छन्। ३५ हजार २३९ वटा सहकारीमा बचतकर्ताको ४३ खर्ब रुपैयाँ फसेको छ।

रास्वपाका अनुसार २७ लाखले रविको पक्षमा हस्ताक्षर गरेका छन्। रोचक प्रसङ्ग के छ भने, धेरैले बुझ्दै नबुझीकन हस्ताक्षर गरेका छन्। सहकारीको कारणले धेरैको घरबार उजाडिएको छ, जीवनभरको कमाइ सहकारीले डुबाएको छ। औषधी किन्ने पैसा छैन, घरजग्गा बेचेर पैसा राखेकाहरू ‘घर न घाट’ भएका छन्।

तर, रास्वपालाई जनताको पीडासँग के सरोकार? साँचो भन्नुपर्दा रास्वपा देश र जनताका लागि आएको पार्टी नै होइन। ‘अरुले खाए, अब हाम्रो पालो’ भन्ने सोच लिएर राजनीतिमा प्रवेश गरेकाहरूबाट बढी अपेक्षा गर्नु पनि व्यर्थ नै हो।

रास्वपाले जनताको पीडालाई बेवास्ता गरेको छ। राजनीतिक प्रतिशोध हो भन्ने दाबी गर्नुभन्दा अगाडि जनताको पैसा कहाँ गयो, कसले खायो भन्ने प्रमाण देखाउनुपर्छ। हस्ताक्षर संकलन गर्दैमा रवि चोखो सावित हुँदैनन्। यसको एकमात्र उद्देश्य आगामी निर्वाचनका लागि भोट बटुल्ने हो।

करोडौँ जनता पीडित हुँदा २७ लाख हस्ताक्षरले केही फरक पार्दैन। रविलाई एउटा सहकारीमा २ वर्ष कैद भएपनि बाँकी चारवटामा १० वर्षसम्म सजाय हुन सक्छ। अदालतले बिगोको आधारमा कैद र जरिवाना तोक्नेछ।

रविको कारण चितवनमा दुईपटक निर्वाचन भइसकेको छ। २०७९ मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भए। त्यसपछि २०७९ पुस ११ गते गृहमन्त्री बने। तर, नेपाली नागरिकता नबनाएको मुद्दा सर्वोच्चमा दर्ता भएपछि गृहमन्त्री बनेको ३२ दिनमै पद गुम्यो।

पार्टी सभापति, सांसद लगायतका पद पनि गुमे। त्यसपछि बल्ल उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएका हुन्। २०८० वैशाख १० गते चितवनमा पुनः निर्वाचन भयो र उनी फेरि निर्वाचित भए।

कांग्रेस सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनको ठाउँमा स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेर जिते। अहिले चितवन क्षेत्र नम्बर २ पुनः जनप्रतिनिधिविहीन भएको छ। चितवनका जनताले बारम्बार रविलाई मौका दिए, तर परिणाम के भयो?

रवि पत्रकार शालिकग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा पहिले पनि हिरासतमा परिसकेका थिए। तर, जनताले आँखामा पट्टी बाँध्दा उनी फेरि विजयी भए।

अब स्थानीय तहको निर्वाचन हुन २१ महिना बाँकी छ। प्रदेश र संघीय निर्वाचन हुन २८ महिना बाँकी छ। २०८४ को निर्वाचनमा माओवादी, रास्वपा, नेमकिपा शून्य हुने सर्वसाधारणको आँकलन छ।

२०४८ देखि २०७९ सम्म भक्तपुर क्षेत्र नम्बर १ मा निरन्तर नेमकिपाले जित्दै आएकोमा अब हुने निर्वाचनमा नयाँ पार्टी देखिने सर्वसाधारणको भनाइ छ। कतिपय त २०८४ मा निर्वाचन नै नहुन सक्छ भन्ने आशंका व्यक्त गर्छन्।

मुलुकका राजनीतिक पार्टीहरू ठग हुन् भन्ने जनताले देखिसकेका छन्। रास्वपाले आफूलाई नयाँ पार्टी भन्दै निर्णायक भूमिका खेल्ने दाबी गरे पनि अब जनताले उनीहरूको काम देखिसकेका छन्।

रास्वपाको हालको अवस्था देख्दा “भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन” भन्ने उखान ठ्याक्कै मेल खान्छ। गफ ठूल्ठूला, काम शून्य।

कार्यवाहक सभापति डिपी अर्याल र माओवादी नेता शक्ति बस्नेतमाथि पनि सहकारीको रकम हिनामिना गरेको आरोप छ। सांसद सोबिता गौतम र डा. तोसिमा कार्की जनताले सुरुमा राम्रा व्यक्ति ठाने पनि उनीहरूको वास्तविकता विस्तारै जनताको नजरमा खुल्दैछ।

२०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले १२० सिट जितेको थियो। अहिले भने ३२ सिटमा सिमित छ। विवेकशील साझा पार्टी त नामोनिशानै हराइसकेको छ।

माओवादी र विवेकशीलको हविगत हेर्दा रास्वपाको पनि उस्तै अवस्था देखिन्छ। रास्वपाले २१ सिट जितेको थियो, अबको चुनावमा त्यो पनि नरहला जस्तो देखिन्छ।

रास्वपा असारको भेलजस्तै भएको छ — अकस्मात उर्लिएर एकैचोटि सुक्ने ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार