पातारासी गाउँपालिकामा करारमा नियुक्त शिक्षकले तालाबन्दी गरेका छन्। अनुदान शिक्षकहरूदले पालिकाको करार कर्मचारी निकाल्ने निर्णय बिरुद्ध तालाबन्दी गरेका हुन्।
गाउँपालिकाभित्रका १५ वटा सामुदायिक विद्यालयमा कार्यरत ५२ जना अनुदान शिक्षकलाई अर्को व्यवस्था वा आदेश नआएसम्मका लागि विद्यालयमा हाजिर हुन नपाउने सूचना जारी गरेपछि पालिकामा तालाबन्दी गरिएको हो।
पालिकाको निर्णयले अन्यौलता र असुरक्षाको वातावरण सिर्जना गरेको भन्दै पातारासी गाउँपालिका शिक्षण अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष जयसिंह सार्कीको नेतृत्वमा शिक्षकहरूले विरोधस्वरूप गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन्।
तालाबन्दीको क्रममा घटनास्थलमा सुरक्षा व्यवस्था कायम गर्न जिल्ला प्रहरी कार्यालय डिल्लीचौरबाट प्रहरी टोली परिचालन गरिएको थियो।
संघर्ष समितिका अध्यक्ष सार्कीले भने, “गाउँपालिकाको एकपक्षीय निर्णयले शिक्षकमाथि अन्याय भएको छ। विद्यालयहरू शिक्षण क्रियाकलापको मूल आधार हुन् तर यहाँ शिक्षकको नै अधिकार खोस्ने प्रयास भएको छ।”
अनुदान शिक्षकहरूले स्थायीत्व, पारदर्शी प्रक्रिया र न्यायपूर्ण व्यवस्थापनको माग राख्दै आन्दोलनको चेतावनीसमेत दिएका छन्। उनीहरूले पालिकाको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
















